arrow

भेनेजुएला प्रकरणमा नेकपाको ढाकछोप नीति, आफ्नै देशबारे ट्रम्पले बोल्दा किन पत्तो पाएन नेकपाले ?  

logo
प्रकाशित २०७५ माघ २२ मंगलबार
nekapa1.JPG

काठमाडौँ । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भेनेजुएला प्रकरणमा ढाकछोप नीति लिएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको खरो विज्ञप्तिको ढाकछोप गर्ने क्रममा सचिवालय बैठकले नरम शैलीमा पार्टीको धारणा स्पष्ट पारेको हो । 

सचिवालय बैठकले यसअघि प्रचण्डले जारी गरेको विज्ञप्तिको समीक्षा गर्दै कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने धारणा अगाडि बढाएको हो । 
 
ढाकछोप गर्ने क्रममा प्रचण्डले सीधै अमेरिकालाई हस्तक्षेप नगर्न चुनौती दिएका थिए । तर सचिवालय बैठकले भेनेजुएलाका जनताको सार्वभौम अधिकारको सम्मान हुनुपर्ने धारणा मात्र राखेको छ । 

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो पार्टीले हरेक देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गने र कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने बताएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले पनि हस्तक्षेप नहोस् भन्ने नै रहेको खुलाएका छन् । उनी नेपाल मिडियामाथि खनिएका छन् । कुरै नबुझी भाषा बङ्ग्याएर अगाडि बढेको भनिरहेका छन् । 

उनले भनेका छन् –सार्वभौमसत्ता सम्पन्न जनताको पक्षमा फैसला भएको ठाउँमा बाह्य हस्तक्षेप हुनु हुँदैन भनी भन्दा किन यति सारो गरिएको हो ? 

भट्टराईले आफूहरुले अमेरिकाको विरोध नगरेको भन्दै अगाडि भने, ‘हामीले त हाम्रो संविधान र विदेश नीतिका आधारमा हाम्रो विचार दिएका हौं ।’

उनले अमेरिकासंग विभिन्न च्यानलबाट सम्पर्क भइरहेको भन्दै यो विज्ञप्तिले कुनै असर नपरेको दावी गरेका छन् । 

उनले समस्या अमेरिकाबाट छैन नेपालको एउटा तह र तप्का छ जसले दुई तिहाइको सरकारलाई कुनै विवादमा फसाएर ढाल्न सकिन्छ कि भनेर लागिरहेको आरोप लगाए ।  

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष स्वीटजरल्याण्डबाट नेपाल फर्कने क्रममा रहँदा नेपालबाट अर्का अध्यक्ष प्रचण्डले भेनेजुएलाका वर्तमान राष्ट्रपतिको पक्ष लिँदै अमेरिकालाई सार्वभौमसत्ता राष्ट्रको बारेमा हस्तक्षेप नगर्न चेतावनी दिएका थिए । 

आफ्नै देशबारे ट्रम्पले बोल्दा किन पत्तो पाएन नेकपाले ? 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका विपक्षी दलका नेता हुँवा गुवाइदोले आफूलाई स्वघोषित राष्ट्रपति बनाउँदा स्वीकार गरे । त्यस्तै युरोपियन युनियनका १७ देशले पनि गुवाइदोलाई समर्थन गरेका छन् । 

त्यो समर्थनको विरोध गर्दैै निर्वाचित राष्ट्रपति निकोलस मादुरोको पक्षमा प्रचण्ड बोलेका थिए । भेनेजुएला नेपालभन्दा धेरै टाढाको राष्ट्र । जसले प्रत्यक्ष नेपालको विकास र समृद्धिमा हातेमालो गरेको छैन । 

र पनि प्रचण्डले अमेरिकाप्रति चेतावनीयुक्त शब्दहरु खर्चिए । तर ट्रम्पले नेपाल भारतको एक भाग हो भनी भाषण गर्दा किन नेकपाले बोलेको छैन ? 

आफ्नै देशका बारेमा बोल्दा भने अमेरिका र ट्रम्पको विरोध गर्न यत्रो दुई तिहाइ सरकारलाई कसले रोकेछ ? 

नेकपाले संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशीलका सिद्धान्तप्रति सदा प्रतिबद्ध रहँदै आएको उल्लेख गरेको छ। तर के अमेरिकाले नेपाललाई भारतको भूमि हो भन्दा त्यो चाहीं पञ्चशील र राष्ट्रसंघभन्दा टाढाको कुरा भयो ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ