arrow

प्रदेश ५ : कार्यसूचीमै नभएको एजेण्डामा कांग्रेसको अवरोध

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ माघ २२ मंगलबार
pradesh-52.jpg

बुटवल । कार्यसूचीमै नभएको एडेण्डालाई लिएर प्रमुख प्रतिपक्ष दल कांग्रेसले गरेको संसद अबरोधका कारण मंगलवार पनि प्रदेश ५ को संसद बैठक चल्न सकेन । सभामुख पूर्ण बहादुर घर्तिले वैठक शुरु भएको घोषणा गरे लगत्तै कांग्रेसका सांसदहरु आसनबाट उठेर आफुहरुको विरोध रहेको जनाउ  दिए ।

सभामुखले विरोधको विषय पोडियमबाट राख्न अनुमति दिएपछि संसदीय दलका नेता बलदेव शर्माले  प्रदेश ५ को नामाकरण र राजधानी टुंगो लगाउन बनेको विशेष समितिले प्रतिवेदन बुझाउनुपर्ने समयमा  प्रतिनिधित्व नभएका जिल्लाहरुबाट सदस्य संख्या थप्ने चलखेल भएको भन्दै आफुहरुले संसद अघि बढ्न नदिने बताए ।

लगत्तै सभामुख घर्तिले प्रतिपक्ष दलले उठाएको विषय बैठकको कार्यसूचीमा नरहेकाले विरोध जनाउन आवश्यक नभएको भन्दै  आ–आफ्नो आसनमा वस्न आग्रह गरे । तर कांग्रेस सांसदहरुले सदन चल्न नदिने अडान लिएपछि सभामूख घर्तिले यो विषयमा सत्तापक्षको धारणा राख्न नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका सचेतक भूमिश्वर ढकाललाई अनुमति दिएर बैठक अगाडी बढाउन खोजे । कांग्रेस सांसदहरुले आफुहरुको विरोधका वावजुद वैठक अगाडी नबढाउन सभामुख घर्तिलाई दवाव दिएपनि सभामुखको अनुमति पाएपछि नेकपाका सचेतक ढकालले  कांग्रेस सांसदहरुको होहल्ला र विरोधका वावजुद आफ्नो धारणा राखे ।  विशेष समितिमा प्रतिनिधित्व नभएका जिल्ला वर्दिया,रुकुम र परासीबाट एक –एक जना सदस्य थप्दा समितिलाई काम गर्न सजिलो हुने धारणा आएकाले सभामुख समक्ष यो प्रस्ताव राखिएको धारणा ढकालको थियो ।

होहल्लाका वीच ढकालले वोलेपछि सभामुख घर्तिले सत्तापक्षले प्रस्ताव राखेपनि उक्त विषय बैठकको कार्यसूचीमा नरहेकाले नियमित वैठक सञ्चालनमा अवरोध नगर्न र उक्त विषयमा वाहिर सहमति गरेर निश्कर्ष निकाल्न आब्हान गर्दै वैठक अगाडी बढाउने प्रयत्न गरे ।

सभामुखले जवर्जस्ती गर्न थालेपछि कांग्रेस सांसदहरु रोष्ट्रम घेराउका लागी रोष्टम अगाडी उभीए । सभामुखले वारम्वार आग्रह गरेपनि कांग्रेस सांसदहरुले मानेनन् । अन्ततः माघ २४ गते सम्मका लागि बैठक स्थगित भयो ।

कांग्रेसको अपरिपक्क निर्णय  
मंगलवारको बैठक अवरुद्ध गर्ने कांग्रेसको निर्णय अपरिपक्क थियो । अघिल्लो वैठकमा पनि प्रदेशको सरोकार वाहिरको मुद्धा उठाएर संसद अवरोध गरेको भन्दै कांग्रेसको आलोचना भएको थियो । मंगलवार पनि विशेष समितिमा प्रतिनिधित्व नभएका जिल्लाबाट सदस्यहरु थप्नुपर्ने विषय नेकपा एक्लैले निर्णय गर्न सक्ने अवस्था थिएन । कांग्रेसले आफ्नो तर्फबाट पठाउनुपर्ने  नाम नदिएको भए  विशेष समितिमा सदस्य संख्या स्वतः थपिने थिएन । यो विषयमा संसद नै अवरुद्ध गर्नुपर्ने जरुरी नरहेको धारणा सत्तापक्षको थियो । अर्कोतिर सदस्य संख्या थप्ने विषय मंगलवारको वैठकको एजेण्डा नै थिएन । एजेण्डामै नभएको विषय वाहिर हल्ला सुनेको भरमा उठाएर वैठक अवरुद्ध नगर्न सभामुखले पटक पटक आग्रह गरेका थिए  तर कांग्रेस सांसदहरुले मानेनन् । एजेण्डामा नभएको विषय र कांग्रेससंग छलफल नगरी अगाडी बढाउन नमिल्ने विषयलाई  अनुमानका भरमा उठाएर संसद वैठकको नियमित कार्यसूचीमा प्रवेश गर्न नदिनुलाई प्रतिपक्ष दलका नेताहरुले कांग्रेसको अपरिपक्क निर्णय भएको प्रतिक्रिया दिएका छन् ।

सभामुख प्रतिपक्ष भनाभन
वैठकको कार्यसूचीमा नभएको एजेण्डामा विवाद नगर्न सभामुखले आग्रह गरेपछि कांग्रेस सांसद र सभामुखवीच पटक पटक भनाभन भयो । संसदीय दलका नेता वलदेव शर्माले एजेण्डामा नभएको विषय भनेर सभामुखले छलकपट गर्न खोजेको आरोप लगाए । लगत्तै सभामुख घर्तिले छलकपट गरेको विषय पुष्टि गर्न चुनौती दिए । उनले यस्तो अपरिपक्क निर्णय नगर्नुस् भनेपछि कांग्रेस सांसद अष्टभुजा पाठकले सभामुखले राजनीति गर्न खोजेको आरोप लगाए । लगत्तै सभामुखले भने– राजनीतिक गरेरै आएको हो,तर अहिले सभामुखको राजनीति गर्दैछु महोदय ।

राजधानीको विषयमा विभाजन
कांंग्रेसको अवरोधकावीच संसद वैठक चलिरहंदा सांसदहरुवीच राजधानीको एजेण्डामा विभाजन प्रष्ट देखिन्थ्यो । मंगलवार कांग्रेसले उठाएको एजेण्डा प्रष्ट छ, प्रदेशको राजधानी बुटवलबाट अन्यत्र सार्न पाइदैन । विशेष समितिमा वर्दिया र रुकुमका सदस्य थप्न नदिनु भनेकै राजधानी सार्ने षडयन्त्र हुन नदिनु हो । यो मुद्धामा कांग्रेसले सदन अवरोध गरिरहंदा लुम्विनी अञ्चल वाहिरका कांग्रेस सांसदहरु सदनमा उपस्थित थिएनन् । लुम्विनी अञ्चलबाट प्रतिनिधित्व गर्ने १० जना कांग्रेस सदस्यहरुमात्र वैठकमा उपस्थित भएर सदन अवरोधमा सहभागिता जनाएका थिए । स्रोतका अनुसार संसदीय दलका नेताले यो विषयमा मंगलवारको सदन अवरोध गर्ने रुलिंङ् गरेपछि लुम्विनी अञ्चल वाहिरका सांसदहरु वैठकमै उपस्थित भएनन् ।

कांग्रेसको अवरोध जारि रहंदा नेकपाका कतिपय सांसदहरु पनि  कांग्रेसको संसद अवरोधबाट खुसी नै देखिन्थे । सभामुखको अनुमति पाएका नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले विशेष समितिमा प्रतिनिधित्व नभएका जिल्लाबाट सदस्यहरु थप्दा राम्रो हुने धारणा राखिरहंदा नेकपाका केही सांसदहरुले समर्थनमा तालि बजाए । त्यसरी तालि बजाउने सांसदहरु साविक राप्ति र भेरीका धेरै थिए । तर साविक लुम्विनी अञ्चलबाट प्रतिनिधित्व गर्ने सांसदहरुले भने तालि वजाएनन् । यसले प्रष्ट पार्छ कि पार्टीको निर्णयमा मौन बसेपनि बुटवल राजधानी सार्न नहुने चाहना राख्ने साविक लुम्विनी अञ्चलवाट प्रतिनिधित्व गर्ने सांसदहरु विशेष समितिमा सदस्य थप्ने निर्णयमा खुसी छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ