arrow

विद्यार्थी काँप्ने, मुर्छा पर्न थालेपछि विद्यालय बन्द

logo
प्रकाशित २०७५ माघ २४ बिहिबार
rolpa-district1.png

रोल्पा । रोल्पाको एक विद्यालयका विद्यार्थी लगातार बिरामी पर्न थालेपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ ।  सदरमुकाम लिवाङको पिताराज आधारभूत विद्यालयका विद्यार्थी विद्यालय समयमा काँप्ने, मुर्छा पर्ने, चिच्याउने तथा रुने, कराउने गर्न थालेपछि विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ ।

एक महीना अघिदेखि शुरु भएको यस्तो समस्या शुरुमा कक्षा ६ र ७ मा अध्ययनरत छात्रामा देखिएको बताइएको छ । दैनिक चार–पाँच जनामा यस्तो समस्या देखिएपछि जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका स्वास्थ्यकर्मीहरुबाट तनाव व्यवस्थापनसम्बन्धी कक्षा सञ्चालन गरिएको थियो । “उक्त कक्षा सञ्चालनपश्चात् पनि विद्यार्थीमा सो समस्या हल हुनुको साटो वृद्धि भई दैनिक १५–२० जना बिरामी पर्न थालेसँगै विद्यालय बन्द गर्न बाध्य भएका हौँ,” प्रधानाध्यापक लीला आचार्यले भने ।

बिरामीका अभिभावक तथा अन्य अभिभावकले समेत केही दिनका लागि विद्यालय बन्द गर्न आग्रह गरेकाले माघ २२ देखि २५ गतेसम्म विद्यालय बन्द गरिएको प्रधानाध्यपक आचार्यको भनाइ छ । “केही अभिभावकले धामी–झाँक्री कहाँ देखाउने भन्नुभएको छ भने केहीले स्वास्थ्य संस्थामा लैजाने भन्नुभएको छ”, आचार्यले भने। विद्यालय खुलेलगत्तै मनोसामाजिक विमर्शसम्बन्धी तालीम दिने सोच बनाएको प्रधानाध्यापक आचार्यले जानकारी दिए।

“विद्यालय वा घरमा हुने तनावका कारण यस्तो समस्या देखिने गर्छ”, जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सिनियर अहेब कुलबहादुर डाँगीले भने । तनाव व्यवस्थापनका जानकारसमेत रहेका डाँगीका अनुसार एक जनामा यस्तो समस्या देखिए त्यस्तो बिरामीलाई छुट्टै बसाल्ने व्यवस्था गरे अरूमा सर्दैन । “एक जनाको समस्या देखेपछि अरू पनि त्यसबाट प्रभावित हुने गरेको पाइएको छ”, डाँगीले भने । धेरैजना जमघट हुने स्थानमा यो समस्या धेरैलाई सर्ने गर्दछ । डाँगीले भने, “धेरै विद्यार्थीमा एकै पटक यस्तो समस्या देखिने भएकाले यसलाई ‘मास हिस्टेरिया’ भनिन्छ ।”

यसअघि पनि जिल्लाका विभिन्न विद्यालयमा यस्तो समस्या देखिने गरेको बताइएको छ । सदरमुकामको बालकल्याण नमूना मावि, तारा मावि वामरुक, नेपाल राष्ट्रिय मावि खुमेल, खुङ्ग्री, ओतलगायत विद्यालयमा यस्तो समस्या देखिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ