arrow

प्रधानमन्त्री विरुद्ध अनसन बस्ने राजेन्द्र लिङ्देनको चेतावनी 

'प्रधानमन्त्रीले कार्यकर्ताको सिफारिसमा पैसाको खोलो बगाए'

logo
प्रकाशित २०७५ माघ २५ शुक्रबार
linden.JPG

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनने प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अनसन बस्ने चेतावनी दिएका छन् । उनले प्रधानमन्त्री केपी ओलीले आफ्नो निर्वाचन क्षेत्रमा नमागेको बजेट समेत दिएको र आफ्नो क्षेत्रमा केही पनि खर्च नगरेको भन्दै अनसन बस्ने चेतावनी दिएका छन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसद लिङ्देनले कार्यकर्ताको सिफारिसको आधारमा योजना छनोट गरेको र १० लाख मागेको ठाउँमा मन्त्रालयले १ करोड १० लाख पठाएको भन्दै उनले विरोध व्यक्त गरे । 

झापाको निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित लिङ्देनले आफू राप्रपाको एक्लो सांसद भएरै आफ्नो क्षेत्रलाई उपेक्षा गरिएको भन्दै गुनासो पनि गरे । उनले आफू एक्लो प्रतिनिधि भएका कारण आफ्नो क्षेत्रका जनतालाई उपेक्षा गर्ने, दुःख दिने काम नगर्न सरकारलाई चेतावनी समेत दिए । साथै उनले आफ्नो क्षेत्रमा रहेको कचनकवल गाउँपालिकाका बहुवर्षीय आयोजनाहरु पनि वर्तमान सरकारले बन्द गराएको बताए ।

उनले बहुवर्षीय ठेक्काहरु समेत बन्द गरेको आरोप समेत लगाएका छन् । गाउँपालिकाले माग गरेको भन्दा १ करोड बढी रकम मन्त्रालयले पठाएको भन्दै उनले आपत्ति जनाएका हुन् । सांसद लिङदेनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिलिङ पठाएर कार्यक्रम मागेको सुनाउँदै गाउँपरिषद्ले योजनाहरु छनोट गरेर पठायो । 'तर, प्राथमिकताको अन्तिम सूचीमा रहेको कार्यक्रम, जहाँ १० लाख माग गरिएको थियो । मन्त्रालयबाट १ करोड १० लाख पठाइयो ।” उनले भने, ‘मैले त यो संसदमा संघीयतामा विमती राख्ने म मात्र छु होला, संघीयतालाई व्यवहारमै खतम गर्ने मन्त्री नै हुनुहुँदोरहेछ । अब संगत गर्नुपर्ला ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ