arrow

गोरखा सैनिकप्रतिको विभेद अन्त्य गर्न योगेश भट्टराईको माग

logo
प्रकाशित २०७५ माघ २५ शुक्रबार
yogesh-bhattrai.png

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद योगेश भट्टराईले गोरखा सैनिकप्रति भएको विभेदको समाधान खोज्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

प्रतिनिधसभाको विशेष समयमा उनले विश्वमा गोरखा सैनिकले पुर्‍याएको योगदान स्मरणीय रहेको बताए। सांसद भट्टराईले बेलायतले गोरखा सैनिकसँग गरेको सम्झौता कार्यान्वयनमा ढिलाइ गरेको बताउँदै बेलायती सेना र गोरखाली सेनालाई उपलब्ध गराउँदै आएको सुविधामा विभेद भएको बताए ।

सांसद डिला सङ्ग्रौला र भीमसेनदाश प्रधानले नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेनेजुयेलाका सन्र्दभमा व्यक्त गरेको धारणाको सम्बन्धमा संसद्लाई जानकारी दिन सरकारको ध्यानाकर्षण गराए।

त्यसैगरी, हृदयेश त्रिपाठीले ऊखु किसानलाई दिन बाँकी रहेको पुरानो बक्यौता भुक्तानी ,सांसद गणेशकुमार पहाडीले सिन्धुली जिल्लाको फिकलमा जीप दुर्घटना भई मृत्यु हुनेलाई क्षतिपूर्ति र घाइतेको उपचारमा सहयोग र पार्वती विसुन्खेले–जनता आवास कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

मन्त्री अर्याल–जवाफ
यसैगरी आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले तीनै तहको सरकारसँग समन्वयगरी सरकार अघि बढिरहेको जानकारी दिइन् ।

उनले भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासको समस्या समाधान गर्न सरकारले लगत सङ्कलन गरिरहेको बताइन् ।

बैठकमा सांसद गगनकुमार थापा, खगराज अधिकारी, शान्ता चौधरी, महेशराज गहतराज, सञ्जयकुमार गौतम र भरतकुमार शाहले भूमिहीन, सुकुम्वासी समस्या समाधान गर्न सरकारको योजना के छ भनी पुरक प्रश्न गरेका थिए  ।

सांसदहरुले संसद्मा राखेको पुरक प्रश्नको जवाफमा मन्त्री अर्यालले संविधानले निर्दिष्ट गरेको बाटोमा सरकार नअलमलिएको जिकिर गरिन् ।

कर्मचारी समायोजन विधेयक प्रस्तुत

बैठकमा ‘कर्मचारी समायोजन विधेयक, २०७५’ प्रस्तुत भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले ‘कर्मचारी समायोजन विधेयक, २०७५’ प्रस्तुत गरे।

विधेयक प्रस्तुत गर्नुहुँदै मन्त्री अधिकारीले समायोजन हुँदा सङ्घमा बढी कर्मचारी हुने र तल कम हुने विषयमा सरकार गम्भीर रहेको उल्लेख गरे । ‘कर्मचारी समायोजन विधेयक, २०७५’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।  रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ