- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्पेनिस लिग फुटबल ला लिगा अन्तर्गत शनिबार राति रियाल मड्रिडले एट्लेटिको मड्रिडलाई पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ । एट्लेटिकोको घरेलु मैदानमा रियाल ३–१ ले विजयी भयो ।
खेलको १६ औं मिनेटमा रियालले क्यासेमिरोको गोलमा अग्रता लिएको थियो । सर्जियो रामोसको हेडरलाई क्यासेमिरोले पेनाल्टी क्षेत्र भित्रबाट दर्शनीय ढंगले गोलमा परिणत गरेका थिए ।
त्यसको ९ मिनेटमा नै एट्लेटिको खेलमा फर्कियो । एन्जल कोर्रियाको पासमा एन्टोइन ग्रिज्मनले गोल गर्दै खेल बराबरीमा ल्याए ।
पहिलो हाफको ३ मिनेट समय बाँकी रहँदा रियालले पुनः अग्रता कायम गर्यो । जोसे जिमिनेजले पेनाल्टी क्षेत्रभित्र गल्ती गरेपछि प्राप्त पेनाल्टीलाई रियालका कप्तान सर्जियो रामोसले गोलमा परिणत गरे ।
खेलको ७४ औं मिनेटमा रियालका लागि वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका ग्यारेथ बेलले लुका मोड्रिचको पासलाई सदुपयोग गर्दै रियालको जित सुनिश्चित गरे ।
खेलको १० मिनेट समय बाँकी रहँदा एट्लेटिको १० खेलाडीमा समेटियो । थोमस पार्टे दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएका थिए ।
यस जितसँगै रियलले लिगको अंक तालिकामा दोस्रो स्थान कब्जा गरेको छ । रियालले २३ खेलमा ४५ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको एट्लेटिकोले समान खेलमा ४४ अंक बनाएको छ । शीर्षस्थानमा रहेको बार्सिलोनाको २२ खेलबाट ५० अंक छ ।
शनिबारका अन्य खेलमा गेटाफेले सेल्टाभिगोलाई ३–१ ले, स्पानियोलले राय भाएकानोलाई २–१ ले हरायो भने भल्लाडोलिड र भिल्लारियलले गोलरहित बराबरी खेले ।