arrow

दाङमा डरलाग्दो कुपोषण

logo
नवीन नेपाली,
प्रकाशित २०७५ फागुन १ बुधबार
kuposan-e1450957600686.jpeg

नारायणपुर । मनखुशी सुनारलाई २७ वर्षकै उमेरमा पाँच छोराछोरीको पालनपोषण गर्नुपर्ने जिम्मेवार आइपर्‍यो । दुई सन्तानकी आमा मनखुशीलाई दिदीका तीन बच्चाबच्चीको पनि पालनपोषण गर्नुपरेपछि घर चलाउनै धौ धौ छ ।

अल्लोको धागो काटेर घर चलाउने घोराही उपमहानगरपालिका वडा नं १४ की मनखुशीले मासिक ७०० रुपैयाँ मात्रै कमाउनुहुन्छ । मनखुशीलाई समस्या त यस्तो आइपर्‍यो कि दुई बच्चामा कुपोषण देखापर्‍यो । वडास्तरमा सञ्चालन गरिएको पोषण तथा खाद्य सुरक्षा कार्यक्रमबाट मनखुशीले बालबालिकाको उपचार गराइरहनु भएको छ ।

घोराहीकै वडा नंं २ की सुशीला चौधरीले पनि कुपोषणग्रस्त आफ्नो छोरीको उपचार गराउन थालेको ६ महिना पुग्यो । केही सुधार देखिएको बताउने सुशीलाको वडामा मात्रै ११ जना कुपोषित बालबालिकाको उपचार चलिरहेको छ । सुशिलाले भन्नुभयो – “जन्मिएको दुई वर्ष भयो तर, बच्चा नै सानो छ । जति खुवाए पनि नमोटाएपछि अस्पताल गएँ । कुपोषण भएको छ भन्थे । अहिले विस्तारै राम्रो हुँदैछ ।” खानेकुरा खुवाउन नजान्दा छोरीको शारिरीक वृद्धि नभएको सुशिलाले पत्तो पायो ।

सुशीलाको वडामै रहेको रामपुर स्वास्थ्य चौकीबाट मात्रै २६ जना शीघ्र कुपोषित बालबालिकाको उपचार भैरहेको छ भने, ढिकपुर स्वास्थ्य चौकीमा १६ जना बालबालिका उपचाररत छन् । यसरी घोराही उपमहानगरपालिका क्षेत्रभित्र मात्रै ४२ जना बालबालिकामा कडा खालको कुपोषण देखा परेको स्वास्थ्य शाखाका प्रमुख नारायण धर्तिले बताउनुभयो ।

“घोराहीको रामपुर र ढिकपुरमा कुपोषित बालबालिकाको उपचार गर्ने व्यवस्था मिलाइएको छ, अहिले भर्खरै घोराहीमै पनि पोषण पुनःस्थापना केन्द्र स्थापना भएको छ,” प्रमुख घर्तिले भन्नुभयो – “उपमहानगरपालिका क्षेत्रभित्र सम्पर्कमा आएका ४२ जना बालबालिकामा कडा खालको कुपोषण देखिएको छ ।”

घोराही उपमहानगर क्षेत्रमा तीन स्थानमा उपचार केन्द्र तोकेर शीघ्र कुपोषित बालबालिकाको उपचार गर्ने व्यवस्था मिलाइएको प्रमुख नरुलाल चौधरीले बताउनुभयो । जिल्लाका १३ स्थानमा पोषण पुनःस्थापना केन्द्र स्थापना भएका छन् । घोराही उपमहानगरपालिकामा तीन र तुलसीपुर उपमहानगरपालिकामा दुई वटा पोषण पुनःस्थापना केन्द्र तोकिएका छन् भने लमही नगरपालिकासहित सात वटा गाउँपालिकामा समेत पोषण पुनःस्थापना केन्द्र छन् ।

तेर्‍ह वटा पोषण पुनःस्थापना केन्द्रबाट अहिलेसम्म तीनसय जना शीघ्र कुपोषित बालबालिकाको उपचार गराइसकिएको सुआहारा कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक सुरज शर्माले बताउनुभयो । “दाङमा करीव ४५ हजार बालबालिका छन्, त्यसमध्ये एक हजार २०० बालबालिका शीघ्र कुपोषित भएको तथ्याङ्क छ,” शर्माले भन्नुभयो – “दुई प्रतिशत बालबालिकामा शीघ्र कुपोषण छ भने करीव १० प्रतिशत बालबालिकामा ख्याउटेपना रहेको सरकारकै तथ्याङ्क छ ।”

जोखिममा थारु बालबालिका

घोराही उपमहानगरपालिकाको रामपुर र ढिकपुरमा उपचार गराइरहेका ४२ जना शीघ्र कुपोषित बालबालिकाको तथ्याङ्क हेर्दा थारु समुदायका बालबालिकाहरु बढी जोखिममा पर्ने गरेको पाइएको छ जसमध्ये २१ जना अर्थात ५० प्रतिशत बालबालिका थारु समुदायका छन् ।

घोराहीको मात्र हैन, समग्र जिल्लाको अवस्था हेर्दा पनि थारु समुदाय, दलित तथा जनजाति समुदायका बालबालिकाहरुमा बढी कुपोषण भेटिएको छ । सुआहरा कार्यक्रम संयोजक शर्माले भन्नुभयो – “खानेकुरा नभएर भन्दा पनि कसरी खुवाउने भन्ने कुरा नजान्दा बालबालिकाहरु कुपोषणबाट ग्रसित हुनु परेको छ ।”

घोराही उपमहानगरपालिका वडा नं ८ की यमुना चौधरीको परिवारमा बच्चाको हेरचाह गरिदिने कोही छैन । श्रीमान् विदेश र आफू दैनिक काममा खटिनु पर्दा बच्चाको हेरचाह गर्न समस्या नपुग्ने बताउनुभयो । “खाने कुरा नहुने भन्ने छैन, बच्चालाई कतिबेला के के खुवाउने, कसरी खुवाउने भन्ने नै थाहा थिएन,” यमुनाले भन्नुभयो – “दुई दुई घण्टाको फरकमा दूध चुसाउनु पर्छ भनेर पछि मात्रै पो थाहाभयो ।”

घरभरी धान, मकै, गहुँ लगायतका अन्नको भकारी राख्ने थारु समुदायका बालबालिकाहरु नै जोखिममा पर्नु भनेको पोषणसम्बन्धी अज्ञानता रहेको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले बताउनुभयो । “शीघ्र कुपोषित बालबालिकाको पोषण तथा औषधिउपचार निःशुल्क गर्ने व्यवस्था मिलाइएको छ ,” मेयर चौधरीले भन्नुभयो – “स्वास्थ्य स्वयंसेविकाहरुलाई समेत यसबारेमा तालीमहरु दिएका छौँ ।’

पोषण पुनःस्थापना गृह बन्द
विगत पाँचवर्ष देखि लगातार सञ्चालन हुँदै आएको घोराहीको पोषण पुनःस्थापना गृह बन्द भएको छ । नेपाल युथ फाउन्डेशनद्वारा पाँच वर्ष अगाडि सुविधा सम्पन्न भवन निर्माण गरी राप्ती उपक्षेत्रीय अस्पताललाई हस्तान्तरण गरेको पुनःस्थापना गृह राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हस्तान्तरण भएपछि बन्द अवस्थामा छ ।

प्रतिष्ठानले गृहमा रहेका १० जना उपचाररत बालबालिकालाई हटाएर डाक्टरहरुको आवास गृह बनाएको छ । भवनलाई डाक्टरको आवास गृह बनाउनु दुःखद् भएको व्यवस्थापक लक्ष्मी गैरेले बताउनुभयो । अस्पतालले उपचार नगर्ने भन्दै घर फिर्ता पठाएपछि आफ्नो छोरीको ज्यान बचाउन उपचारका लागि बुटवल पुग्नुपरेको गढवा–५ की कविता चौधरीले बताउनुभयो ।

घोराहीको पोषण पुनःस्थापना गृहमा अहिलेसम्म एक हजार भन्दा बढी शीघ्र कुपोषित बालबालिकाहरुको उपचार भैसकेको व्यवस्थापक गैरेले बताउनुभयो । उहाँका अनुसार यहाँ दाङ जिल्लाका साथै साविक राप्तीका प्यूठान, रोल्पा र सल्यानसम्मका बालबालिकाहरुको उपचार आवासीय रुपमा हुँदैआएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ