arrow

मिर्गौला रोग सम्बन्धि जनचेतना

विश्व मिर्गौला दिवस २०१६

logo
प्रकाशित २०७२ फागुन २७ बिहिबार
nkfnepal_public-awareness-1.jpg.jpeg
काठमाडौँ। नेशनल किड्नी फाउन्डेसन नेपालले बाँचौं र बचाऔंसँगको सहकार्यमा “मिर्गौला रोग सम्बन्धि जनचेतना” कार्यक्रमको आयोजना गरेको छ। यो कार्यक्रम मिर्गौला स्वास्थ्य र अङ्गदान सचेतनाका लागि विश्व मिर्गौला दिवस २०१६ को उपलक्ष्यमा ‘मिर्गौला रोग र बालबालिका – रोकथामका लागि समयमै तत्पर होऔं’ भन्ने नाराका साथ मनाइएको थियो।  कार्यक्रम २७ फाल्गुन, २०७२ (बिहिबार) का दिन काठमाडौका विभिन्न स्थानहरु गौशाला, भृकुटीमण्डप, पुरानो बसपार्क र गोगंबु नयाँ बसपार्क लगायत बुटवलमा गरिएको थियो।
 
यो कार्यक्रममा मिर्गौला रोग र यस सम्बन्धि विभिन्न जनचेतनामुलक नाराहरु लेखिएको ब्यानर सहित मिर्गौलाकै आकारका विभिन्न रङका पम्प्लेटहरु सर्वसाधारणलाई वितरण गरिएको थियो । साथै देशभरिनै जनचेतना फैलियोस् भन्ने उद्देश्यका साथ छोटो र लामो दुरीका सार्वजनिक सवारी साधनहरुमा मिर्गौला स्वास्थ्य सम्बन्धि नाराहरु भएका स्टिकरहरु समेत टाँसिएको थियो ।
 
यसै सन्दर्भमा नेसनल किड्नी फाउन्डेसन नेपालले विश्व मिर्गौला दिवसको अवसरमा लियो क्लब अफ बुटवल, सिद्धबाबासंग मिलेर बुटवलको एम्स कलेज र सिद्धार्थ इङलिस बोडिङ्ग स्कूलमा पनि जनचेतनामूलक कार्यक्रमहरुको आयोजना गरेको थियो । यस कार्यक्रममा सिमा शर्मा र अनुपमा घिमिरेले कलेज तथा स्कुलका विद्यार्थिहरुलाई मिर्गौला स्वास्थ्य सम्बन्धि तयार पारिएको पावरपोइन्ट प्रिजेन्टेसन प्रस्तुत गरेका थिए ।
 
यस कार्यक्रमका संयोजक हरिनारायण शर्मा रहेका छन्, जो आफैँ पनि सन् २००७ मा मिर्गौला प्रत्यारोपण गरेका व्यक्ति हुन् । उनलाई विश्व मिर्गौला दिवसले “वल्र्ड किड्नी डे च्याम्पियन” को मान्यता पनि दिएको छ । यसका साथै उनी नेशनल किड्नी फाउन्डेसन नेपालका संस्थापक तथा अध्यक्ष पनि हुनुहुन्छ ।
 
नेसनल किड्नी फाउन्डेसन नेपालले मिर्गौला स्वास्थ्य र अङ्गदान सचेतनाका लागि सन् २०१० देखि नियमित रुपमा विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरु आयोजना गर्दै आएको छ । यसको उद्देश्य मिर्गौला स्वस्थ राख्न सके जीवन अनि सम्पूर्ण समाज पनि स्वस्थ राख्न सकिन्छ भन्ने सन्देश दिनु रहेको छ।
 
नेपालमा ३ लाखभन्दा वढि मानिसहरुमा मिर्गौलाको कुनै न कुनै समस्या भएको तथ्य आइरहेको छ र वर्षेनी ३००० भन्दा बढि व्यक्तिहरुको मिर्गौला फेल हुने गर्दछ । यी मध्ये धेरैजसो बिरामीहरु मिर्गौला सम्बन्धि रोगको बारेमा अनभिज्ञ हुने गरेको र मिर्गौला फेल भएपछि मात्र रोगको बारेमा थाहा पाउने गरेको यथार्थ छ । त्यसैले यस्तै विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्न सके धेरैको ज्यान जोगाउन सकिन्छ । 
 
यस वर्ष विश्व मिर्गौला दिवसको मूख्य नारा “ मिर्गौला रोग र बालबालिका – रोकथामका लागि समयमै तत्पर होऔं” रहेको छ । साथै विश्वव्यापी रुपमा सबै जनालाई विश्व मिर्गौला दिवसको लागि आफ्नो पाइला चालौं भनेर अपिल गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ