arrow

नामिवियासंगको क्रिकेट नेपालमै हुन्छ : भावना, ‘ठोकुवा गरेरै नेपालमा हुन्छ भन्ने आधार छैन’ : प्याकुर्‍याल

logo
प्रकाशित २०७२ फागुन २७ बिहिबार
Bhawana-Ghimire.jpeg.jpeg
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको कार्यसमिति विवादले वैशाख २ र ४ गते कीर्तिपुर मैदानमा नामिवियासंग हुने भनिएको विश्व क्रिकेट लिग च्याम्पियनसिवको खेल नेपालमै हुने जिकिर गर्दै क्यान कार्यकारी अधिकृत भावना घिमिरेले विज्ञप्ती प्रकाशन गरेकी छन् । 
नेपाल र नामिवियाबीचको खेल भारतको नोयडामा हुने भनि आएका समाचारबारे आफुहरुको ध्यानाकर्षण भएको भन्दै कार्यकारी भावनाले मैदान र खेलाडीको सुरक्षा दिन सक्ने ग्यारेन्टी भए नेपालमै खेल हुने प्रस्ट्याएकी छन् । 
 
उनले विज्ञप्तीमा भनेकी छन्, ‘हामीले चाँडै मैदान तयार गर्नुपर्नेछ । खेलाडीको सुरक्षाको कुरा गर्नुपर्नेछ । हाम्रा सामु अनेकन चुनौति हुँदाहुँदै पनि च्याम्पियनसिपको तेस्रो राउन्ड अन्तर्गत नामिबियासँगको खेल नेपालमै खेलाउन हामी हरसम्भव प्रयास गरिरहेका छौं ।’यस्तै, उनले सरकार, खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद तथा अन्य सरोकार निकायहरुले यो तयारीका लागि क्यानलाई सहयोग गर्नु पर्ने आवश्यकता औंल्याएकी छन् । 
 
‘आइसीसीले गर्ने मैदान निरीक्षणमा हामी पास हुनुपर्ने छ र सुरक्षाको ग्यारेन्टी दिनुपर्नेछ । अहिलेसम्म हामीले घरेलु मैदानमा खेल्ने मौका गुमाइसकेका छैनौं । आइसीसीले तोकेका सर्तहरु हामीले पुरा गर्नुपर्ने चुनौति हाम्रा सामु छ । यस चुनौतिपूर्ण घडीमा नेपाल क्रिकेट संघ, नेपाल सरकार, खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद देखि हाम्रा अन्य सरोकारवाला निकायहरुलाई जिम्मेवार भएर प्रस्तुत भइदिनुहुन म हार्दिक अपील गर्दछु’– भावनाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 
 
ठोकुवा गरेरै नेपालमै हुन्छ भन्ने आधार बनेको छैन  : प्याकुर्‍याल
गएको पुस १ गते भएको निर्वाचनबाट चयन क्यान कार्यसमिति महासचिव अशोकनाथ प्याकुर्यालले आइसीसीसंग कुराकानी भइरहेको भए पनि समाचारै बन्ने खालको कुनै प्रगति नभएको बताए । क्यानले कसरी विज्ञप्ती निकाल्यो त्योबारे जानकारी नभएको बताउँदै उनले भने, ‘आइसीसीले कुनै जानकारी दिएको जस्तो मलाई लाग्दैन, तपाईलाई यति भन्न सक्छु पहल भइरहेको छ, हामीपनि पहलमा लागेका छौं, नेपालमै खेल होस् भन्ने चाहन्छौं ।’
 
यद्यपि, प्याकुर्यालले ठोकुवाका साथ नेपालमै हुन्छ भन्ने कुनै आधार नरहेको बताए । विकल्प छ भने संस्थाले र सरकारले तत्काल खोज्नु पर्दछ, उनले भने, ‘विकल्पहरुबारे छलफल भइरहेको जस्तो लाग्दैन, खाली आइसीसीसंगको सम्पर्कमा छौं भनेर हुने कुरै भएन ।’ यसअघि, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले आफुलाई आइसीसीलाई खेलाडी छनोट र पूर्वाधार एवं व्यवस्थापकिय सुरक्षाका कारण खेल नरोकिने जानकारी गराएको बताएका थिए । र्कीतिपुर खेलमैदानको स्तरोन्नतिको काम १०–१५ दिनमै सकिने सदस्य सचिव विष्टको भनाई छ । अन्य कुनै कारण रोकिदैन , विष्टले भने, ‘सर्वोच्चमा विचाराधिन मुद्दाले समस्यामा पारेको छ ।’
 
सर्वोच्चमा विचाराधिन मुद्दामा १२ पटक पेशी चढिसकेको छ । अबको पेशी आइतबारलाई छ । राखेपले साधारण सभा रोक्न आग्रह गरेकैबीच पुस १ गते चतुवहादुर चन्दको नेतृत्वमा क्यानको निर्वाचित कमिटी गठन भएको थियो । यस्तै, राखेपले चन्द नेतृत्वको कमिटी अवैधानिक भन्दै पुस १८ गने रमेश सिलवालको अध्यक्षतामा तदर्थ समिति गठन गरेपछी चन्द समूह सर्वोच्च गएको हो । सिलवालले तत्कालिन खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले गठन गरेको तदर्थ समितिविरुद्धको मुद्दा समेत खेपिरहेका छन् । 
 
क्यानकै व्यवस्थापनकै कमजोरीका कारण कीर्तिपुर मैदानको स्तरोन्नति गर्न नसकेको र सुरक्षाको व्यवस्था गर्न नसकेको भन्दै गएको नोभेम्बरमा पपुवा न्युगिनीविरुद्धको खेल यूएईमा भएको थियो । आइसीसीले सन् २०१५ देखि २०१७ सम्म सन्चालन हुने च्याम्पियनसिपका ७ खेल मध्ये  नेपालले तीन राष्ट्रविरुद्धका ६ खेल घरेलु मैदानमै खेल्न पाउने व्यवस्था गरेकामा त्यसो हुन सकेको छैन । क्यान विवादकै कारण आइसीसीले नेपाललाई दिने ९ लाख डलर सन् २०१४ देखि नै रोक्का गरेर राखेको छ ।  
विज्ञप्तीको पूर्ण पाठ 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ