नेपालमा बर्षेनी १८ लाख किलो बिषादी खपत, अहिलेसम्म २१ प्रकारका बिषादी प्रतिबन्धीत

विषादी प्रयोग मुक्त सप्ताह सुरु

प्रकाशित मिति : २०७५ फाल्गुण ६ सोमबार
तस्बिर : सांकेतिक

काठमाडौं। नेपालमा बर्षेनी आयातित तथा संश्लेषित गरी करीब १८ लाख किलो विभिन्न प्रकारका बिषादी खपत हुने गरेको छ। क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रको गएको बर्षको तथ्यांक अनुसार नेपालमा ६३५ टन खास विष विषादी आयात भएको छ।

त्यसमध्ये कीटनाशक १६९ टन, रोगनाशक ३४७ टन, झारनासक १०५  टन र अन्य १४ टन रहको छ। बिषादीकै लागि बर्षेनी करीब ७५ करोड रुपैया खर्च हुने गरेको केन्द्रले जनाएको छ। १९५२ मा मलेरिया नियन्त्रणका लागि भित्राइएका विषादी कृषि उत्पादनका लागि  प्रयोग  हुन थाले पछि यसको मात्रा प्रति वर्ष बढदै गएको छ। अन्य देशको तुलनामा  प्रति हेक्टर विषादीको प्रयोग निकै कम ३९६ ग्राम खास विष रहे पनि करिव ८५ प्रतिशत भन्दा वढि विषादी तरकारी वालीमा आधारित सघन  खेती प्रणाली भएका स्थानमा प्रयोगहुने गरेको पाइएको छ। तरकारी बालीमा मात्रै १६ किलो खास विष प्रति हेक्टर विषादीका प्रयोग  भइरहको देखिन्छ। संसारमा हरेक वर्ष ४ करोड मानिसमा विषादीले कतै  न कतै र कुनै न कुनै रुपमा असर गरेको अनुमान गरिएको छ।

विश्वमा विषादीकै कारणले वार्षिक ३ लाख ५५ हजार मानिसका मृत्य हुने जनाइएको छ। हालसालैको एक अध्ययन अनुसार प्रतिदिन ७ सय जना  व्यक्तिको मृत्य कुनै न कुनै रुपमा विषादी संग सम्वन्धित रहको पाइएको छ भने आत्म हत्याका घटना ३१ प्रतिशत विषादीसंग सम्वन्धित रहका छन। 

सरकारले धेरै पहिलेदेखि प्रयोग भइरहेको खतराजन्य मानिएका किट तथा ढुसीनाशक पाँच प्रकारका विषादी पन्जीकरण खारेज गर्ने निर्णय गरेपनि अझै करीब १८ लाख किलो विभिन्न प्रकारका बिषादी खपत हुने गरेको छ।

सरकारले नेपालमा २०६९ र २०७२ सालमा गरी १६ प्रकारका बिषादीलाई प्रतिबन्ध गरिसकेको छ भने अहिले थप ५ प्रकारका बिषादीलाई प्रतिबन्ध लगाएको केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीले बताए। यो संगै अहिलेसम्म २१ प्रकारका बिषादीलाई प्रतिबन्ध लगाएको छ।  

बिषादीको प्रयोगमा के ख्याल राख्ने ? 
नेपालमा सबैभन्दा बढी बिषादी प्रयोगमा देखिएको समस्या भनेको यसको प्रयोगपछि पर्खनुपर्ने अबस्था नपर्खदा बिषादीका अबशेष बाकी रहने खतरा हो। 

यो संगै बिषादी छनौटमा सजगता नअपनाउने, वाली कटानी समयमा विषादीको प्रयागगर्ने, विक्रि भन्दा अगाडी विषादीमा डुवाउने, विषादीको मात्रा वढाएर र्छर्ने, रोग कीराको पहिचान विना विषादी छर्ने, विषादीलाइ खेती वाहेक अन्य जीवजन्तु तथा स्थानमा प्रयोग गर्ने, कृषि कार्यवाहेक अन्य उद्देश्यमा प्रयोग गर्ने, दर्ता नगरिएका विषादीको लुकीछिपि विक्री वितरण तथा प्रयोग, खाद्य सामग्रीको पसलमा विषादी पनि विक्री वितरण, प्रतिवन्धित विषादीको लुकिछिपी प्रयोग, विषादीको प्याकेट खोली प्याकेजिङ र विक्री, विना लेवलका विषादीका प्रयोग, म्याद नाघेका विषादी प्रयोग, विषादी प्रयोग गर्दा सुरक्षित पहिरनको प्रयोग नगर्ने आदि रहेका छन्।

विषादीहरु रसायनिक पदार्थहरु हुन जसलाई रोग, कीरा, शुक्ष्म जिवाणु, झारपात, मुसा आदि मार्न कृषि तथा अन्य स्थानमा प्रयोग गर्ने गरिन्छ। विषादी मानव शरीरमा श्वास प्रश्वास प्रकृया, छालाको सम्पर्क तथा खानाको माध्यमवाट पस्ने गर्दछ।

विषादीले विषादीको कारोवारमा संलग्न व्यक्ति, कृषकहरु तथा कृषि उपज उपभोग गर्ने उपभोक्ताहरु सवैलाई नराम्रो प्रभाव पारिरहेको छ। महिला र केटाकेटीहरुमा यसको प्रभाव वढि छ। विषादीका कारणले तत्काल असरको रुपमा मानवमा मुर्छा पर्ने, झाडा पखाला, कम्पन, दृष्टी कमजोर तथा मृत्यु सम्म हुने गरेको छ भने दीर्घकालीन असरमा अन्धोपना, क्यान्सर, ट्युमर, नपुसंकता, वाँझोपन, विकृत बच्चाको जन्म, शरीरका विभिन्न अंगहरुमा असर, नशा सम्वन्धि समस्या जस्तै  पक्षघात जस्ता समस्या ल्याउने गर्दछ।

एक सय सताइस भन्दा बढि बिषादिहरुले अन्तश्राव प्रणालीलाइ नाश गर्ने  अनुमान गरिएको छ। प्रायः गरि बिषादीहरु शरीरमा ग्रहण गर्न तथा संचय गर्ने सम्भावना बालबालीकाहरुमा बढि हुन्छ। खतरनाक विषादीहरु मानव  स्वास्थ्य र वातावरणका लागि चुनौती रहेको छ। संयुक्त राष्ट्र संघका अनुसार विकासोन्मुख देशहरुमा खतरनाक विषादी लगायतका रसायनहरुको उत्पादन र प्रयोग मानव स्वास्थ्य र वातावरणको ख्याल  नगरी वढिरहको छ।

प्रयोग भएका ९५ प्रतिशत भन्दा वढि विषादीहरु लक्षित समस्या समाधान गर्न भन्दा मानव, वन्यजन्त, पानीको श्रोत, माटो तथा हावामा समाविष्ट  भई रहको छ। जसले मानव स्वास्थ्य र वातावरणमा विभिन्न समस्याहरु जन्माएको छ। मौरीको संख्यामा कमी ल्याउन खेत वारीमा प्रयोग गरिएका विषादीहरु प्रमुख कारक रहेको प्रमाणित भइसकको छ।

जसका कारण वाली विरुवामा हने परागसेचन प्रकृयामा कमी आएर कृषि उत्पादनमा कमी हुन्छ। विषादीको व्यापक प्रयोगले विषादीका अवशेष माटो तथा पानीमा वढेर गएको छ। ओजन तहको विनासमा विषादीको भार ६  प्रतिशत रहको तथ्याङ्कहरुले दखाएको छ।

एशिया महादेशका वहुसंख्यक कृषकहरु विषादीको प्रकार, विषको स्तर, सुरक्षित प्रयोग तथा मानव स्वास्थ्य र वातावरणमा विषादीको नकारात्मक असरवारे अनभिज्ञ रहेको कारण यिनीहरु नै विषादी सँग वढि सर्म्पर्कमा आउने र सुरक्षित रुपमा प्रयोग गर्न अपनाउनु पर्ने साधनको प्रयोग गर्न नसक्नुका कारणले विषादीको असर उनीहरुमा वढि परेको छ। 

ऐन नियम, नीति, निर्दे्शिका तयार गर्ने देखि लिएर मापदण्ड निर्धारण गर्ने तथा सम्वन्धित पक्षलाई सो को दायरा भित्र ल्याउनु, सुपरिवेक्षण गर्ने कार्य पनि उत्तिकै महत्वपूर्ण रहेका छन्। साथै अत्यन्त खतरनाक विषादीहरु वेचविखन तथा प्रयोगमा प्रतिवन्ध गर्ने कार्य पनि महत्वपूर्ण रहको छ।

ऐन नियमावलीहरु परिमार्जन र कडाइका साथ लागु गर्न, आइपीएम कार्यक्रमलाई वढावा दिने, विषादीको विकल्पहरुलाई प्राथमिकता दिने, सञ्चार माध्यमहरुवाट विषादीको असरहरुवारे जानकारी दिने, विषादीको सुरक्षित प्रयोग विधि लगायतका विभिन्न कायक्रमहरु पनि सचालनमा आईरहेका छन्।

विषादी प्रयोग मुक्त सप्ताह सुरु 
बिगतमा विषादीको अवशेष तरकारी र फलफूलमा तोकिएभन्दा बढी देखिएता पनि हाल आएर सोही स्थितिमा न्यूनिकरण भई नगन्य जस्तै भएको छ। यसै सन्दर्भमा फागुन ६ गते देखि १२ गते सम्म सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम सहित विषादी प्रयोग मुक्त सप्ताह २०७५ मनाइदैछ। सरकारले काभे्रको बनेपाबाट आज देखि विषादी प्रयोगमुक्त सप्ताह मनाउन सुरु गरेको छ। ‘पोषण सुरक्षा र खाद्य स्वच्छता, घातक विषादीमुक्त कृषिको आवश्यकता’ भन्ने नारा सहित प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रले काभे्रको बनेपाबाट औपचारिक रुपमा सप्ताह सुरु गरिएको हो।

सन् १९८४ का भारतको भोपालमा विषादी चुहावटका कारणवाट भएको  असरले २० हजार मानवीय क्षति तथा ५ लाख भन्दा वढि घाइते भएका  घटनालाई स्मरण गर्दै सन् १९९८ Pesticide Action Network International विषादी  प्रयोग  मुक्त  दिनको रुपमा  विश्वव्यापी मनाउन गर्दै आएको हो।

विषादीवाट हुने असरलाई अभियानका रुपमा अगाडि ल्याउन सन् २०१० देखि सप्ताहव्यापी रुपमा सचालन गर्न थालनी भए पछि नेपाल पनि  यस कायक्रममा सन् २०१३ अर्थात पाँच वर्षदेखि सहभागी हुदै आएको छ।

नयाँ