arrow

‘स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा’ हजारौं विद्यार्थी टुडिखेलमा 

logo
प्रकाशित २०७५ फागुन ९ बिहिबार
education-exam.jpg

काठमाडौं ।  काठमाडौँको टुडिखेलमा फागुन १० गते शुक्रबार हजारौं विद्यार्थी एकै ठाउँ भेला हुँदै छन् । हिन्दू स्वयंसेवक संघ नेपालले आयोजना गर्ने स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा सहभागी हुन उनीहरु त्यहाँ जम्मा हुने भएका हुन् । 

नेपालको धर्म, संस्कृति, भाषा, भुगोल, राष्ट्रिय विभूति लगायत नेपालको वैदिक इतिहास सम्बन्धी ज्ञान अभिवृद्धि गराउने उद्देश्यले हिन्दू स्वयंसेवक संघ नेपालले विगत चार वर्षदेखि नेपालका विद्यार्थीलाई लक्षित गरी देशभरमै स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा लिँदै आएको छ ।

गत वर्ष काठमाडौंमा करिब ८ हजार विद्यार्थी सहभागी भएको यस परीक्षामा सो भन्दाबढी विद्यार्थी सहभागी हुन लागेको कार्यकम्रका उपत्यका संयोजक आदित्य खनालले जानकारी दिए ।

 शुक्रबार हुने परीक्षामा काठमाडौं, भक्तपुर र ललितपुरका सरकारी, निजी र सामुदायिक गरी २ सयभन्दा बढी स्कुलका विद्यार्थीले सहभागीता जनाउन रजिस्टार गरेको आयोजकले जानकारी दिएको छ । 

‘पछिल्लो समय सबैलाई विश्वको बारेमा ज्ञान छ तर हाम्रो आफ्नै विभूती, राष्ट्र समाज, परम्परा धर्मग्रन्थको बारेमा ज्ञान छैन’, संयोजक खनालले भने, ‘विद्यार्थी भनेका भविष्यका कर्णधार हुन्, राष्ट्र निर्माणकर्ता नै हुन् ।’ 

त्यसैले राष्ट्रको बारेमा ज्ञान दिइनुपर्छ भन्ने उदेश्यले यो परीक्षा संचालन गरिएको हो । उनका अनुसार यो परीक्षा मा विद्यार्थीको आकर्षण बढ्दो छ । धर्म नैतिकता, सास्कृतिक शिक्षाको ज्ञान बढाउन र सभ्य समाज निर्माणमा युवा पुस्तालाई समेट्न यो परीक्षा फलदायी हुने खनालको छ । 

सहभागी हुने विद्यार्थीको लागि संघले एक पुस्तक उपलब्ध गराउँछ जसमा नेपालको आफ्नो धर्म, संस्कार, परम्परा राष्ट्रिय विभूती, भुगोल आदिबारे विद्यार्थीलाई परिचित गराउने जानकारी समावेश गरिएको छ । ती पुस्तक पढेका आधारमा विद्यार्थीले ५० वटा बस्तुगत प्रश्नमा सहि उत्तर छान्नु पर्ने हुन्छ । 

यस परीक्षामा प्रथम हुने विद्यार्थीलाई प्रथम हुनेलाई ५१ हजार, दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुनेलाई १५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ भने प्रोत्साहन पुरस्कार स्वरुप बीस जनालाई प्रतिव्यक्ति १ हजार रुपैयाँ उपलब्ध गराइने छ । 

यस परीक्षा गराएर उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गर्नु मात्र नभई पुस्तक मार्फत भने विद्यार्थीमा देश सम्पुर्ण अवस्थाको बारेमा जानकारी होस् भन्ने उदेश्य रहेको संघले जनाएको छ । विगत चार वर्षदेखि आयोजना हुँदै आएको यस परीक्षामा देशभरका डेढ लाखभन्दा बढी विद्यार्थीलाई सहभागी गराउने उदेश्य राखेको संघले जानकारी दिएको छ । 

कार्यक्रममा प्रमुख अतिथि काठमाडौं महानगरपालिकाको उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, विशिष्ट अतिथिमा हाँस्य कलाकार दिपकराज गिरी र गायिका आनी छोइङ डोल्माको उपस्थितिमा साँस्कृतिक कार्यक्रम समेत आयोजना हुनेछ ।  

सो अवसरमा कार्यक्रमका केन्द्रिय संयोजक सर्वोच्च अदालतका पूर्व रजिष्टार डा रामकृष्ण तिमल्सेना तथा केन्द्रिय सह संयोजक पूर्व शिक्षा सचिव श्री महाश्रम शर्मासमेत उपस्थित हुनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ