arrow

कञ्चनपुरमा एनसेल टावरमा आगजनी

logo
रासस,
प्रकाशित २०७५ फागुन ११ शनिबार
ncell-tower.jpg

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा गए राति आगजनी भएको छ। टावरमा लगाइएको घेरबारको गेटको ताला तोडेर भित्र प्रवेश गरी टावरमा आगजनी गरिएको पाइएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए।

“आगजनीबाट टावरका केबुल र बोर्ड जलेको अवस्थामा रहेको छ”, उनले भने, “एनसेल कम्पनीको धनगढीस्थित कार्यालयबाट टावरमा खराबी आएको जानकारी प्राप्त भएपछि तत्काल टावर भएको क्षेत्रमा पुग्दा आगजनी भएको पाइएको छ।” टावर रहेको क्षेत्रमा सर्वोच्च अदालतको आदेश नमानेको, सरकारलाई कर नतिरेको र कम्पनीले नाफा आर्जन गरी नेपालमा लगानी नगरेका कारण कारवाही गर्नुपरेको कुरा उल्लेख गरेको पर्चासमेत प्रहरीले फेला पारेको छ । प्रहरीले टावरमा आगजनी गर्नेको खोजीकार्य भइरहेको जनाएको छ।

कार्यालय भवन बन्ने

एशियाली विकास बैंक (एडिबी)को सहुलियतपूर्ण ऋण सहयोगमा शहरी विकास आयोजना कार्यान्वयन एकाइ धनगढीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा चार तले आधुनिक शैलीको कार्यालय भवन निर्माण गर्ने भएको छ। भवन निर्माणका लागि कार्यालयले डिजाइन र लागत इष्टमेट तयार गरेर एडिबीमा बजेट स्वीकृतीका लागि पठाएको छ। पहिलो चरणमा रु १४ करोडको लागतमा दुई तले भवन निर्माण गरिने आयोजना कार्यान्वयन एकाइ धनगढीका उपव्यवस्थापक श्यामलाल बुढाथोकीले बताए। उनका अनुसार नगरपालिका सञ्चालनका लागि आवश्यक पर्ने सबै संरचना भवनमा निर्माण गरिनेछ। भवन अत्याधुनिक शैलीको हुनेछ।

“शुक्लाफाँटासँगै कैलालीको गोदावरी नगरपालिकाको समेत सोहीअनुसारको भवन निर्माण हुने छ”, उनले भने। दुवै नगरपालिकमा व्यवस्थित कालोपत्रे सडक निर्माणको कार्यसमेत छिट्टै शुरु हुने उनको भनाइ छ। सुदूरपश्चिम प्रदेशका धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा शहरी विकास आयोजना सञ्चालनमा छ।

गोदावरी र शुक्लाफाँटा नगरपालिकामा आयोजना कार्यान्वयनका लागि आवश्यक डिजाइन र लागत इष्टमेटलगायतका काम भएको उपव्यवस्थापक बुढाथोकीले बताए। “शुक्लाफाँटा र गोदावरी नगरपालिकामा काम गर्न सहज छ”, उनले भने, “फोहर व्यवस्थापनका लागि आवश्यक जग्गा प्राप्ति भएको छ।”,

धनगढी उपमहानगरपालिका र भीमदत्त नगरपालिकामा यो आयोजना कार्यान्वयन गर्न समस्या भइरहेको उनले बताए। “फोहर व्यवस्थापनका लागि जग्गा प्राप्त हुन सकेको छैन । एडिबीले फोहर व्यवस्थापनलाई प्राथमिकता दिएको छ”, उनले भने।

बागलुङमा एनसेलका टावरमा आगजनी

त्यसैगरी बागलुङका विभिन्न ठाउँमा रहेका दूरसञ्चार कम्पनी एनसेलका टावरमा बिहीबार राति अज्ञात समूहले आगजनी गरेको छ। बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका–८ काँडेवाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा आक्रमण गरिएको हो। आगजनीबाट टावरमा भएको क्षतिको विषयमा पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

टावरमा कसले के प्रयोजनका लागि आगजनीी गरेको भन्ने विषयमा समेत कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाले बतए। टावरमा आगलागी भएको देखेपछि स्थानीयको खबरका आधारमा घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान थालेको छ। आगजनी भएका टावरमा एनसेलले पनि कर्मचारी खटाएर मर्मतको काम थालिसकेको प्रहरीले जनाएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ