arrow

एनसेल टावरहरुमा श्रृंखलावद्ध विष्फोट, नख्खु विष्फोटमा एक जनाको मृत्यु 

logo
प्रकाशित २०७५ फागुन ११ शनिबार
ncell-tower.jpg

काठमाडौँ। ललितपुरमा रहेको एनसेलको टावरमा लक्षित गरी गराइएको बम विष्फोटमा परी एक जनाको मृत्यु भएको छ। ललितपुरको नख्खु चोकनजिक रहेको एनसेलको टावरमा शुक्रबार राति अज्ञात समूहले बम विष्फोट गराउँदा तीन जना घाइते भएकामध्ये सिंहप्रसाद गुरुङको मृत्यु भएको हो । 

बम विष्फोटमा घाइते प्रतिक्षा खड्कालाई अल्का अस्पताल जावलाखेल, आयुषा मानन्धरलाई बिएण्डबी अस्पताल र सिंहप्रसाद गुरुङलाई मेडिसिटी अस्पताल नख्खुमा उपचारका लागि लगिएको थियो । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले गम्भीर घाइते गुरुङको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ। शुक्रबार राति नख्खुमा भएको आक्रमणपछि श्रृंखलावद्ध रुपमा विष्फोट भइरहेको छ । 

कञ्चनपुरमा पनि एनसेल टावरमा आगजनी
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा शुक्रबार राति आगजनी भएको छ । टावरमा लगाइएको घेरबारको गेटको ताला तोडेर भित्र प्रवेश गरी टावरमा आगजनी गरिएको पाइएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए । 

“आगजनीबाट टावरका केबुल र बोर्ड जलेको अवस्थामा रहेको छ”, उनले भने, “एनसेल कम्पनीको धनगढीस्थित कार्यालयबाट टावरमा खराबी आएको जानकारी प्राप्त भएपछि तत्काल टावर भएको क्षेत्रमा पुग्दा आगजनी भएको पाइएको छ ।” 

टावर रहेको क्षेत्रमा सर्वोच्च अदालतको आदेश नमानेको, सरकारलाई कर नतिरेको र कम्पनीले नाफा आर्जन गरी नेपालमा लगानी नगरेका कारण कारवाही गर्नुपरेको कुरा उल्लेख गरेको पर्चासमेत प्रहरीले फेला पारेको छ । प्रहरीले टावरमा आगजनी गर्नेको खोजीकार्य भइरहेको जनाएको छ । 

 रुपन्देहीको सूर्यपुरास्थित एनसेलको टावरमा पनि  आगजनी

  रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ३ सूर्यपुरास्थित एनसेलको टावरमा पनि आगजनी भएको रुपन्देहीका एसपी हृदय थापाले  दिएका छन् ।

अपरिचित व्यक्तिले बोरामा आगो सल्काएर टावरमा आगजनी गरेको उनले बताए । आगजनीले टावरका सम्पुर्ण  तार जलेर नष्ट भएका छन् । 

घटनास्थलमा प्रहरी तत्काल पुग्दा मानवीय र अन्य ठूलो क्षति हुन नपाएको थापाले बताए । 

कास्कीको चन्द्रकालिकामा रहेको एनसेलको टावरमा पनि आगजनी 

कास्कीको पोखरा महानगरपालिका–२७ चन्द्रकालिका डाँडाँको नाकस्थित एनसेलको टावरमा आगजनी भएको छ । प्रहरी कार्यालय सिस्वाका अनुसार डाडाँमा रहेकाले दमकल आउँदा आउँदै टावर जलेर नष्ट भएको हो । 

एनसेलको टावर जलेपछि लेखनाथ क्षेत्रमा विद्युत र इन्टरनेटको लाइन काटिएको थियो । 

 त्यस्तै रौतहटको चन्द्रपुर नगरपालिकास्थित गैडाटारमा रहेको एनसेलको टावरमा पनि आगजनी भएको छ । त्यस्तै काभ्रेको कोसीपारीस्थित भुम्लु गाउँपालिका स्थित सल्ले भुम्लु डाँडामा रहेको एनसेलको बिटिएस टावरमा आगजनी भएको छ ।

शुक्रबार राति नै बागलुङका विभिन्न स्थानमा रहेका एनसेलका टावरमा   पनि आगजनी भएको छ । 

बाग्लुङ  नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका–८ काँडेवाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेका  एनसेलका  टावरमा पनि  आक्रमण भएको हो ।

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर ७ अम्रसामा रहेको एनसेलको टावरमा पनि  आगजनी गरिएको छ । शुक्रबार राति ९ बजेतिर एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ । नवलपुर प्रहरीका अनुसार आगजनीबाट एनसेलको टावरमा क्षति पुगेको छ । स्थानीयका अनुसार सुरुमा विस्फोट गराएर आगो लगाइएको थियो  । आगजनीपछि नवलपुर क्षेत्रमा एनसेलको नेटवर्कले काम गर्न छाडेको छ ।  

को हो आक्रमणकारी ? 
अहिलेसम्म आक्रमणको जिम्मा कसैले लिएको छैन। तर यसअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आक्रमण गरेकै शैलीमा दर्जन भन्दा बढी जिल्लामा रहेका एनसेलका टावरमा आगजनी र बम आक्रमण भएकाले प्रहरीको पहिलो आशंका विप्लवतिरै गएको छ। 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ