स्वास्थ्य बिमा सम्बन्धि सार्वजनिक महत्वको प्रस्ताव बारे डा. डिला संगौलाको प्रतिक्रिया
प्रकाशित २०७५ फागुन १४ मंगलबार
432
Shares
१. स्वास्थ्य बिमा ऐन २०७४ गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकार संरक्षण गर्न, नागरिकको आर्थिक जोखिम कम गर्न र स्वास्थ्य सेवामा नागरिकको सहज पहुँचको लागि आएको देखिन्छ र ३९ जिल्लामा लागु भएको पाइन्छ ।
२. सिमान्तकृतको लागि ५०५, गरिवको ७५५ प्रतिशत प्रिमियममा छुट दिने व्यवस्था र अति गरिवको शतप्रतिशत प्रिमियम छुटको व्यवस्था स्वागत योग्य भएपनि यस ऐन भएका प्रावधानहरु स्वास्थ्य संस्थाबाट कार्यान्वयन हुने कुरा छ र त्यसका लागि तोकिएका हरेक स्वास्थ्य संस्थामा चिकित्सक र बिशेषज्ञ चिकित्सक हुनु अनिवार्य छ तर सरकारले त्यस प्रकारको व्यवस्था अझै गर्न सकेको छैन । सबै स्थानीय तहमा प्राथमिक स्वास्थ्य केन्द्र छैनन् र भएका प्राथमिक स्वास्थ्य केन्द्रमा पनि चिकित्सकको पद रिक्त नै भएको अवस्था विद्यमान छ ।
३. कतिपय स्थानीय तहमा धनि व्यक्तिहरु पनि गरिवीको लिस्टमा आएको स्थानीय तहबाटै गुनासो आएको छ, त्यसकारण गरिवी पहिचान एकिन गर्न सत्य तथ्यमा आधारित बैज्ञानिक तथ्यांक सबै स्थानीय तहमा हुनु अति आवश्यक छ ।
४. एकतिर दरबन्दी अनुसार चिकित्सकको अभाव छ, सबै पद पूर्ति हुन् सकिरहेको अवस्था छैन, सरकारी सेवामा त्यसै पनि चिकित्सकको आकर्षण कम छ भने अर्कोतिर कर्मचारी समायोजन ऐन २०७५ मा अन्य सरकारी सेवा र स्वास्थ्य सेवामा भएको विभेदकारी व्यवस्थापनले चिकित्सक र उच्च तहका स्वास्थ्यकर्मीहरुको माग पुरा नहुदा सामुहिक राजीनामाको मनस्थितिसम्म पुगेको र यसले गर्दा यस ऐनको उद्देश्य पूर्ति हुने कार्यमा प्रतिकुलता देखिन्छ।
५. राज्यले एकातिर आम नागरिकलाई अत्यावश्यक औषधिहरु निस्शुल्क उपलब्ध गराउने कार्यक्रम ल्याएको छ भने अर्को तिर प्रिमियम तिरेर स्वास्थ्य बिमा लागु गर्न खोजेको छ, जुन एक अर्कामा विरोधाभाषपूर्ण छन्, प्रिमियम तिर्ने भने पछी कसरि निशुल्क हुन् सक्छ ।
६. राज्यले आम नागरिकलाई अत्यावश्यक निस्शुल्क औषधिहरु पर्याप्त मात्रामा उपलब्ध गराउन नसकेको अवस्थामा हाल बिमा लागु भएका जिल्लाहरुमा बिमित भै सकेका व्यक्तिहरुले समेत औषधि र गुणस्तरीय स्वास्थ्य सेवा नपाइ रहेको जनगुनासो आइरहेको छ, भने बाकि सबै जिल्लाहरुमा स्वास्थ्य बिमा बिस्तार गर्दा कार्यक्रम कसरि अगाडी बढ्ला र गुणस्तरीय सेवा दिन सक्ला यसमा सरकारले संवेदनशील भएर अगाडी बढ्नु पर्ने देख्दछु ।
७. यस ऐनको उद्देश्य पूर्ति गर्नका लागि जहाँ जहाँ सेवा बिन्दु तोकिएको छ त्यहाँ बिमितको आवश्यकता अनुसार निजलाई सेवा दिन आवश्यक पर्ने उपकरणहरु र ति उपकरण संचालन गर्ने जनशक्तिको सरकारले आपूर्ति गर्न सकेको छैन, अभाव रहेको छ ।
८. स्वास्थ्य बिमा कार्यक्रम लागु भएको जिल्लामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले २४ घण्टा स्वास्थ्य संस्थामा काम गर्नु पर्ने तर कुनै थप सुबिधा नभएको कारण निजहरु आफ्नो निजि प्राकटिसमा जाने कारणले स्वास्थ्य संस्थामा चिकित्सक र स्वास्थ्यकर्मी नभेटिने कारण सेवा प्रति प्रतिबद्ध बनाउन निजहरुलाई थप सुबिधा दिनु पर्ने देखिन्छ
९. एक पटक बिमित भएका परिवार गुणस्तरीय सेवा, औषधि र उपकरणको अभाव र सेवा प्रति बिश्वसनियताको अभावले गर्दा हाल बिमित भएको परिवार संख्यामा २० देखि २५ प्रतिशत सम्मको Drop Out रहेको पाइन्छ ।
तसर्थ यी मैले यस अघि व्यक्त गरेका बिषयहरु सम्बोधन हुन् सकेन भने स्वास्थ्य बिमा ऐन अन्तर्गत कार्यक्रमलाई देशव्यापी रुपमा लागु गर्दै गुणस्तरीय औषधि, उपकरण र जनशक्ति प्रबन्ध गरि सम्पूर्ण नागरिकलाई सर्वशुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न कठिनाइ देखिन्छ ।