arrow

काठमाडौंको आकाशमा साहाराका विद्यार्थीले यसरी उडाए आफैले बनाएको ड्रोन

logo
प्रकाशित २०७५ फागुन १७ शुक्रबार
Sahara-Drone-3.jpg

काठमाडौं । काठमाडौंको शंखमूलमा रहेको साहारा नेशनल स्कूलका विद्यार्थीले आफैले बनाएको ड्रोन उडाएका छन । विज्ञान प्रदर्शनी कार्यक्रमको आयोजना गरी साहाराले विद्यार्थीहरुहरुले विज्ञान प्रविधिमा गरेको विकास र हासिल गरेको ज्ञानलाई प्रस्तुत गरेको हो ।
 
बाग्मती नदी किनारमा रहेको साहारा स्कूलले गरेको विज्ञान प्रदर्शनीमा सबैभन्दा आकर्षणका केन्द्र ड्रोन र रोबोट बनेका थिए । ड्रोन प्रविधि अहिलेको सबैको आकर्षण बनेको छ । ड्रोनमा विभिन्न खालका प्रविधि तथा सामानहरु जोडेर दैनिक जीवनका कामकाजदेखि उच्च सैन्य कार्यमा समेत प्रयोग गर्न थालिएको छ । सोही प्रविधिलाई साहाराका विद्यार्थीले प्रस्तुत गरेका हुन् । ड्रोन प्रविधिलाई सरलीकृत गरी नेपालमै बनाउन सकिने सम्भावना साहाराका विद्यार्थीहरुले देखाएका छन् । प्रदर्शनीका क्रममा उनीहरुले अवसर पाए नेपालमै व्यवसायिक रुपमा ड्रोन निर्माण गर्न सकिने दावी गरे ।

त्यसैगरी साहाराका विद्यार्थीहरुले एप कन्ट्रोल रोबोट र लाइन फ्लोइङ रोबोट पनि बनाएका छन् । स्मार्टफोनबाट चलाइने एप कन्ट्रोल रोबोटलाई मानिसले दैनिक जीवनका काममा प्रयोग गर्न सकिने उनीहरु बताउँछन् । विश्वमा विकास भइरहेका रोबोटहरुको ब्रेन नै यही एप कन्ट्रोल रोबोट प्रविधि भएको उनीहरुको भनाई छ । पछिल्लो समय यस्ता रोबोटहरु रेस्टुरेन्टमा ग्राहकलाई सेवा गर्ने, ठूला ठूला तौलका सामानहरु उचाल्ने जस्ता कामकाजमा पनि प्रयोग गरिन थालिएका छन् ।

त्यसैगरी प्रदर्शनीमा लाइट फ्लोइङ रोबोट प्रविधि पनि राखिएको छ । यो रोबोटलाई ठूला ठूला उद्योगहरुमा प्रयोग गर्न सकिने उनीहरु बताउँछन । खासगरी ठूलो ठूलो तौलका सामानहरु उचाल्नका लागि यो रोबोट प्रयोग गरिन्छ । साथै घरहरुमा सरसफाई, होटेलहरुमा सामानहरु एक ठाउँबाट अर्को ठाउँमा सार्नका लागि पनि यो रोबोट प्रयोग गर्न सकिनै उनीहरु बताउँछन् ।

त्यस्तै प्रदर्शनीमा आँखा देख्न नसक्ने मान्छेहरुका लागि प्रयोग गरिने ब्लाइन्ड स्टिक बनाउने विधि पनि विद्यार्थीहरुले प्रस्तुत गरेका छन् । अगाडि कुनै वस्तु अगाडि छ भने त्यसलाई छुने बित्तिकै लठ्ठीले सिग्नल दिने र प्रयोगकर्ता सचेत हुने गर्दछन् ।

त्यसैगरी विद्यार्थीहरुले कार्वनडाइअक्साइड र हाइड्रोजन ग्याँस नै बनाएर प्रस्तुत गरेका छन् । ठूलाठूला आगलागीका घटनामा कार्वनडाइअक्साड ग्याँसको प्रयोग गरिन्छ । त्यो प्रयोग गर्ने विधि पनि विद्यार्थीले प्रस्तुत गर्ने गरेका छन् । विभिन्न हाइड्रोकार्बन, ग्लिसिरिन, मिथाइल अल्कोहल, इथर आदि बनाउनका लागि हाइड्रोजन ग्याँसको प्रयोग गरिन्छ । जसको प्रयोग विधि पनि विद्यार्थीले देखाएका थिए ।

प्रदर्शनीमा ज्वालामुखी कसरी विष्फोट हुन्छ र त्यसको असर के हुन्छ भन्ने पनि प्रदर्शन गरिएको छ । त्यस्तै कपर प्लेटिङ, टेम्प्रेचर एण्ड ह्यूमडिटी सेन्सर, क्रिस्टलाइजेशन, ध्वनि र वायु प्रदुषण, वाटर साइकलको प्रदर्शनी पनि गरिएको छ । उद्योग कलकारखानाबाट उत्पन्न हुने विभिन्न ग्याँस तथा धुलोसँग मिसिएर आकाशबाट आउने पानीले मान्छेका साथै बोटविरुवाहरुलाई कसरी असर गर्छ भन्ने एसिड रेनका बारेमा पनि उनीहरुले प्रदर्शनीमा प्रस्तुत गरेका छन् ।
त्यसैगरी मुटुमा रक्तसञ्चार कसरी हुन्छ भन्ने प्रविधि पनि प्रदर्शनीमा समावेश गरिएको छ । रक्तसञ्चार प्रक्रियामा कस्तो अवस्था भएमा हृदयघात हुन्छ भन्ने पनि प्रदर्शनीमा देखाइएको छ ।

कक्षा नर्सरीदेखि १० कक्षासम्मका विद्यार्थीहरु यस प्रदर्शनीमा सहभागी भएका छन् । जसमा सानासाना कक्षाका बालबालिकाले सजिलै बुझ्न सक्ने गरी चिडियाखाना, फलफूलका बगैचा, जंगली जीवन, जनावरका प्रकारहरुको नमूना पनि प्रस्तुत गरेका छन् । साथै उनीहरुले गाउँ र सहरको स्यान्ड मोडेल बनाएर त्यसको फरक देखाएका छन् ।

शुक्रबार गरिएको विज्ञान प्रदर्शनी राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले उदघाटन गरेका हुन् । विद्यार्थीहरुले नै बनाएको विद्यालयको भवनको स्यान्ड मोडेललाई बाँधिएको रिबन काटेर परीक्षा नियन्त्रक शर्माले विज्ञान प्रदर्शनीको उदघाटन गरेका हुन् । त्यसपछि मन्तव्य राख्दै शर्माले विद्यार्थीलाई विज्ञान र प्रविधिको ज्ञान तल्लो तहदेखि नै दिइनु राम्रो भएको बताए । साना साना बालबालिकालाई उच्च प्रविधिको ज्ञान दिएर साहाराले शिक्षामा सह्रानीय काम गरेको उनको भनाई थियो ।

त्यसैगरी कार्यक्रममा बोल्दै स्कूलका प्रिन्सिपल देबेन्द्र बिक्रम भट्टराईले शिक्षालाई प्रविधिसँग जोडन तथा ब्यवहारिक शिक्षालाइ प्राथमिकता दिन यो प्रदर्शनी गरिएको बताए । यसले विद्यार्थीको सिकाइलाई अझ मजबुत र व्यवहारिक बनाउने उनले विश्वास व्यक्त गरे । साहाराले विद्यार्थीको चौतर्फी विकासका लागि पाठ्यपुस्तकका अतिरिक्त फुटबल, मार्सल आर्ट, नृत्य, गायन, बाद्यवादनका कक्षाहरु पनि विद्यालयमै सञ्चालन गर्दै आएको समेत उनले जानकारी दिए ।

प्रिन्सिपल भट्टराईले साहारामा अन्तरक्रियात्मक विधिद्वारा विद्यार्थीको सिकाई प्रक्रियालाई व्यवस्थित गर्ने गरेको, विभिन्न प्रयोगात्मक कक्षाहरुमा जोड गर्दै ती प्रोजेक्टको प्रस्तुतिकरण गराउने गरेको बताए । त्यसले विद्यार्थीमा नेतृत्व क्षमता बढाउनुका साथै सिकाई प्रक्रिया पनि मजबुत बनाउने गरेको उनले आफ्नो अनुभव सुनाए ।

साहाराको विज्ञान प्रदर्शनीमा ३६ वटा फरक फरक प्रकृतिका स्टलहरु राखिएका छन् । जसमा उच्च प्रविधिका ड्रोन र मानिसको दैनिक कामकाजमा समेत सहयोग गर्ने रोबोटदेखि वातावरण विज्ञान, भौतिक र खगोल विज्ञान, प्रकृति विज्ञान र मानव शरिरका बनौटसँग सम्बन्धित प्रविधिहरु रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ