arrow

सरकार-राउत सहमति : ओलीसँग राजपा आक्रोशित, फोरम सशंकित

logo
प्रकाशित २०७५ फागुन २६ आइतबार
rahut.jpg

काठमाडौं । सरकार र सिके राउतवीच भएको ११ बुँदे सहमतिप्रति प्रतिक्रिया जनाउदै तराई मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपालले सरकारको नियतमा गम्भिर प्रश्न उठाएको छ भने सत्तारुढ दल संघीय समाजबादी फोरम नेपालले आसंका प्रकट गरेको छ ।   राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको भोलीपल्टै शनिबार सरकारले राउतसँग ११ बुँदे सहमति गरी राजपाको समर्थन फिर्तालाई छायाँमा पार्ने प्रयास गरेको थियो । सहमति घोषणा कार्यक्रममा प्रधानमन्त्रीले सिके राउतलाई देखाएर मधेसमा रोटी सेक्ने राजनीति बन्द भएको भन्दै राजपा र फोरमलाई व्यग्यं गरेका थिए ।

प्रधानमन्त्रीको आसय थियो,‘राउतलाई देखाउदै बार्गेनिङ गर्दै आएका राजपा र फोरमलई अब बार्गेनिङ गर्ने बाटो सकिएको छ ।’ प्रधानमन्त्रीको सो भनाइप्रति राजपाले सरकारसँग गम्भिर प्रश्न उठाएको छ । यसबाट फोरमका नेताहरुले पनि असन्तुष्टि जनाएका छन् । सरकार र राउतवीच भएको सहमति भएको केही घण्टा पछि शुक्रबार साँझ फोरमले प्रेस विज्ञप्ति निकाल्दै सरकारको कडा आलोचना गरेको थियो ।  विज्ञप्तिमा रेशम चौधरीको विषयमा कैलाली जिल्ला अदालतले गरेको फैसलाप्रति असन्तुष्ट जनाइएको थियो तर केही बेर अघि भएको सरकार र राउतवीच ११ बुँदे सहमतिप्रति भने एक शब्द पनि बोलिएको थिएन । सो विज्ञप्तिमा फोरमका महासचिव रामसाह यादवले हस्ताक्षर गरेका थिए । विज्ञप्तिमा फोरमसँग सरकारले गरेको सहमति कार्यान्वयन नभएको भन्दै सरकारको रवैयाप्रति असन्तुष्टि प्रकट गरिएको थियो ।

शुक्रबारको सहमति कार्यक्रममा फोरमका अध्यक्ष उपेन्द्र यादव सहभागी थिएनन, जब कि, सो कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका शिर्ष नेताहरु उपस्थिति थिए । फोरम स्रोतका अनुसार सरकार-राउत सहमति पछि सरकारसँग फोरम चिढिएको छ । फोरमका एक पदाधिकारी भन्छन,‘सरकारले पृथकतावादी आन्दोलन गर्दै आएका राउतलाई आवश्यकभन्दा बढी प्राथमकिता दिएर लोकतान्त्रिक र पृथकतावादी विरोधी पार्टीलाई काउन्टर गर्न खोजेको छ ।’ ती नेता भन्छन,‘मधेसकेन्द्रित दलहरुले पनि कहिले पनि राउतलाई प्रयोग गरेन । बरु उल्टै सरकारले बेला बेलामा राउतलाई प्रयोग गर्दै आएको छ । ’ राउतलाई रोटी सेक्ने काम बन्द भयो भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति फोरमका महासचिव यादवले सार्वजनिक रुपमै असन्तुष्टि प्रकट गरेका छन् ।

सरकार र राउतवीच सहमति भएको भोलीपल्ट शनिबार राजपाको अध्यक्ष मण्डलको बैठक बसेको थियो । बैठकमा सरकार र राउतवीच भएको सहमतिको धेरै बेर चर्चा भएको थियो । बैठकमा सहभागी नेताहरुले सरकार र राजपावीचको सहमतिको भित्री खेल अरु हुन सक्ने आसंका गरेका थिए । ‘सरकार राउतवीच भएको सहमतिले धेरै प्रश्न उठाएको छ । ती प्रश्नहरुको जवाफ प्रधानमन्त्रीले  दिनु पर्छ ।’ स्रोतका अनुसार बैठकमा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महताले भने, ‘राउतले सरकारसँग जनमतसंग्रह गर्ने सहमति भएको बताएका छन । यसबारेमा सरकारले प्रष्ट्र पार्न  जरुरी छ ।’ सरकार र राउतवीच भित्रभित्रै अरु विषयमा पनि  सहमति भएको हुन सक्दै बताउदै त्यस्ता सहमतिको बारेमा आगामि दिनहरुमा थाहाँ हुने उनको भनाइ थियो ।

यसैगरी राजपामा महासचिव केशव झाँले प्रश्न गरेका छन, ‘सरकारले स्वतन्त्र मधेस गठबन्धनको नाममा राउतसँग सहमति गरेको छ । सहमतिमा सरकारले राउतलाई स्वतन्त्र मधेस गठबन्धनको नामा राजनीति गर्न र संगठन विस्तार गर्न छुट दिएको छ । के अब सरकार आफैंले राउतलाई स्वतन्त्र मधेसको नाममा संगठन बनाउन छुट दिएको हो ?’ मधेस आन्दोलनको क्रममा मधेस केन्द्रित दलहरुले राउतलाई कहिले पनि प्रयोग नगरेको उनको भनाइ छ । उनले भने, मधेस आन्दोलन भइरहेको बेला एक पटक पनि राउतको नाम उच्चारण भएन । बरु उल्टै सरकारले राउतलाई प्रयोग गर्दै आएको छ ।’

राजपाको अध्यक्ष मण्डलको बैठक आइतबार पनि बस्दै छ । आइतबारको बैठकमा पनि यस विषमा छलफल हुने राजपाका नेताहरुले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ