- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सांसद राजेन्द्र लिङ्देनले राउत समूह सरकारसँग आएको हो कि उनका पक्षमा सरकार गएको हो भन्ने स्पष्ट नभएको बताएका छन् । आइतबार संसदमा बोल्दै सांसद लिङ्देनले सम्झौता हेर्दा सरकार राउतका पक्षमा गएजस्तो देखिने जिकिर गरे । सांसद पदम गिरी र राधा ज्ञवालीले पृथकतावादी आन्दोलन चलाइरहेको राउत समूहलाई मूलधारमा ल्याएर सरकारले ऐतिहासिक काम गरेको बताए ।
सांसद रेणुका गुरुङले दलालका कारण अष्ट्रेलियामा एक हजार २०० विद्यार्थी अलपत्र परेकामा पठाउने शैक्षिक परामर्शदाता कम्पनीमाथि छानबीन गर्न माग गरिन् । सांसद प्रेम सुवालले साना मुलुकको अधिकारका पक्षमा सरकारको धारणा स्पष्ट हुनुपर्ने बताए । केही मानवाधिकारवादी र केही सेलिब्रेटी नेताले यो समस्याको समाधान नचाहेको उनको भनाइ थियो । सांसद दिव्यमणि राजभण्डारीले एनसेलको कर छलीका विषयमा नेपाल दूरसञ्चार प्राधिकरणलगायत सरोकार भएका निकायको ध्यान जान नसकेको बताए ।
सांसद प्रेमप्रसाद तुलाचनले हिमाली जिल्लामा यस वर्ष धेरै हिमपात हुँदा सडकलगायत पूर्वाधार निर्माणमा असर पुगेको बताए । यसका कारण कामदारले काम गर्न नसकेको र यातायात ठप्प भएकाले मुस्ताङका विभिन्न स्थानमा चौपाया मरेकाले क्षतिपूर्ति दिने व्यवस्था मिलाउन उनले माग गरे।
सांसद मीना सुब्बाले पूर्वबेलायती गोर्खाको समस्या समाधान गर्न सरकारले वार्ता समिति बनाउनुपर्ने बताइन् । “बेलायती गोर्खा गैरआवासीय होइनन् उनीहरुको नागरिकताले निरन्तरता पाउनुपर्छ”, उनको भनाइ थियो । सांसद लीला गुरुङले माओवादी र सुरक्षा निकायबाट पीडितले अझै राज्यबाट सहयोग पाउन नसकेकाले तिनलाई शहीद घोषणा गर्न माग गरे ।