arrow

राष्ट्रियसभामा सिके राउतसँगको सहमतिको स्वागत

logo
प्रकाशित २०७५ फागुन ३० बिहिबार
upper-house.JPG

काठमाडौँ । राष्ट्रियसभाको बिहिबारको बैठकको विशेष समयमा सांसद भैरवचरणसुन्दर श्रेष्ठले सरकार र सिके राउतका बीच भएको ११ बूँदे सहमतिको स्वागत गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउन सबैमा आग्रह गरे। उनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई आफ्ना गतिविधि सच्याउन पनि आग्रह गरे।

सांसद रामनारायण बिंडारीले उत्कृष्ट संविधान कार्यान्वयनमा आउँदा पनि के कारणले आज सडकमा पर्याप्त मात्रामा सार्वजनिक गाडी गुडेनन् भन्ने प्रश्न गर्दै आगो, शत्रु र रोगको समयमा नै उपचार खोजिनुपर्छ भने। उनले मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोट जिल्लामा पर्ने खण्डमा काम नै नभई भुक्तानी दिएको तर्फ सरकारको ध्यानाकर्षण गराए ।

सांसद अनिता देवकोटाले विधिको शासनपालन गर्ने र गराउने गृह मन्त्रालयले नै विधिको शासनलाई उल्लङ्घन गरेको आरोप लगाउनुभयो । सांसद खिमकुमार विकले ७०० जना एमबिबिएस तहको अध्ययन गर्ने गण्डकी मेडिकल कलेज ४३ दिनदेखि बन्द रहेको बताउँदै छिटो कलेजमा पठनपाठन सञ्चालन गराउन माग गरे ।

सांसद दुर्गाप्रसाद उपाध्यायले शिक्षा र स्वास्थ्य राज्यको दायित्व हुने हुँदा आगामी बजेटमा यसमा लगानी बढाउन र तराई-मधेशमा गर्मीयाममा हुने आगलागी नियन्त्रणमा समयमै ध्यान दिन आग्रह गरे। सांसद रामप्रीत पासवानले स्वदेशभित्र नै रोजगारीका अवसर सिर्जना गर्न र सामाजिक सुरक्षामा ध्यान दिन आग्रह गरे।

शून्य सयममा सांसद शान्तिकुमारी अधिकारीले बागलुङ जिल्लामा जलशाययुुक्त जलस्रोतको आयोजना निर्माणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएकी थिइन् । सांसद हरिचरण शिवाकोटीले सरकार र राउतबीच भएको सहमतिको स्वागत गरे। बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सार्वजनिक ‘निजी साझेदारी तथा लगानी विधेयक, २०७५’ र राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभाका पठाइएको ‘प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) २०७५’ विधेयकलाई प्रतिनिधिसभाबाट पारित भएको जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ