arrow

न्याम्समा उपकुलपति सहित सबै पदाधिकारीहरु नियुक्त

प्रधानमन्त्री सामु सबैले लिए सपथ

logo
प्रकाशित २०७५ चैत १ शुक्रबार
nyams-appointment-bir.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा सुनसरीका प्रा.डा. देवनारायण साहलाई नियुक्त गरेका छन्।

उपप्रधान तथा स्वास्थ्य मन्त्री  एवं न्याम्स्का सहकुलपति उपेन्द्र यादवको सिफारिसमा प्रधानमन्त्री एवं न्याम्सका कुलपति ओलीले साहलाई शुक्रवार नियुक्त गरेका हुन्।

यसैगरी उपकुलपति साहको सिफारिसमा उपप्रधान तथा स्वास्थ्य मन्त्री यादबले न्याम्सका अन्य पदाधिकारीको पनि शुक्रवार नै नियुक्ति गरेका छन्।

जसअनुसार पर्साका प्रा.डा. सुबोध कुमार अधिकारीलाई शिक्षाध्यक्ष,पाँचथरकी प्रा.प्रमिला देवानलाई रजिस्टार,सुनसरीका प्रा.डा.पियुस दाहाल डिन र सप्तरीका डा.केदार प्रसाद सेन्चुरीलाई बीर अस्पतालको निर्देशकमा नियुक्ति गरिएको छ। सबैको पदावधी चार बर्षको हुनेछ।

प्रधानमन्त्री ओलीको उपस्थितीमा उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवले उपकुलपति साह लगायत सबैलाई आजै बालुवाटारमा पद तथा गोपनियताको सपथ ग्रहण गराए।

सपथपछि प्रधानमन्त्री ओलीले भक्तपुरमा बीर अस्पताल निर्माण गर्ने कार्य तत्काल अघि बढाउन निर्देशन दिए। “५सय रोपनी क्षेत्रफलमा भक्तपुरमा सुविधा सम्पन्न अस्पताल बनाउने कार्य तत्काल थालनी गर्नुहोस। त्यो काम तपाईंहरुकै कार्यकालमा सम्पन्न हुनुपर्दछ  ” प्रधानमन्त्री ओलीले भने “अहिलेको बीर अस्पताललाई सिटी अस्पतालको रुपमा सञ्चालन गर्नुपर्दछ। ”

प्रधानमन्त्री ओलीले बरिष्ठ डाक्टरहरुले अस्पतालमा बिरामीको उपचार नगर्ने गलत संस्कार बसेकोले त्यसलाई तोड्न निर्देशन दिए। “सिनियर भएपछि काम गर्नु नपर्ने गलत संस्कारको विकास भएको देखिन्छ । सिनियरको अनुभवले बिरामीको उपचार गर्दा त्यसबाट बिरामीले  पाउने लाभ अधिक हुन्छ ” प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मीहरुलाई बिरामीलाई गर्ने व्यवहार सुधार गर्न आग्रह गरे। “डाक्टर नर्सले बिरामीप्रति मायालु व्यबहार गर्नुहोस,तपाईंको व्यबहारले बिरामीले राहात महशुस गर्नुपर्दछ ” प्रधानमन्त्री ओलीको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ