- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इंगलिश प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड एफए कप फुटबलको क्वार्टरफाइनलबाटै गुल्टिएको छ ।
शनिबार रातिको क्वार्टरफाइनल खेलमा वुल्भरह्याम्पटन वान्डरर्ससंग २–१ ले पराजित भएपछि १२ पटकको च्याम्पियन अन्तिम आठबाटै गुल्टिएको हो ।
राउल जिमेनेज र डिओगो जोताले गोल गर्दै वुल्भस्लाई जिताए । कमजोर प्रदर्शन गरेको युनाइटेडका लागि इन्जुरी समयमा मार्कस रशफोर्डले सान्त्वना गोल गरेका थिए ।
यता म्यानचेष्टर सिटी सेमिफाईनलमा प्रवेश गरेको छ । स्वान्सी सिटीमाथि नाटकीय जित हात पार्दै म्यानचेष्टर सिटी प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।
दुई गोलले पछाडि परेको स्थितिलाई उल्ट्याउँदै म्यानचेष्टर सिटीले ३–२ को जित निकालेको हो ।
खेलको २० औं मिनेटमा माट ग्रिम्सले पेनाल्टीमा गोल गर्दै स्वान्सीलाई सुरुवाती अग्रता दिलाए ।
बर्सेट सेलिनाले २९ औ मिनेटमा स्वान्सीको अग्रता दोब्बर पारेका थिए । तर दोस्रो हाफमा लगातार तीन गोल गर्दै सिटीले खेल आफ्नो पक्षमा पार्यो ।
६९ औं मिनेटमा बर्नाल्डो सिल्भाले गोल गर्दै सिटीलाई खेलमा फर्काउने कोशिश गरे । स्वान्सीका गोलकिपर क्रिस्टोफर नार्डफेल्डको ७८ औं मिनेटमा आत्मघाती गोलमार्फत सिटीले खेल बराबरी गरेको थियो ।
वैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान छिरेका सर्जियो अग्युरोले खेल सकिन दुई मिनेट बाँकी छदाँ गोल गर्दै सिटीलाई जिताए ।