वाइफाइ स्लो छ ? छिटो बनाउन यसो गर्नुहोस्

प्रकाशित मिति : २०७५ चैत ४ सोमबार
फाइल तस्विर

काठमाडौं। वाइफाइबाट इन्टरनेट चल्ने डिभाइसहरुको संख्या बढ्दो क्रममा छ। यस्तोमा वाइफाइको प्रयोग बढ्नु पनि स्वाभाविक हो । वाइफाइको प्रयोगमा कहिलेकाँही भने समस्या आउन सक्छ ।

सेवा प्रदायकले पूर्ण इन्टरनेट प्रदान गरिरहँदा पनि कुनै डिभाइसमा भने इन्टरनेटमा समस्या आउन सक्छ । यो समस्या समाधानको लागि वाइफाइलाई चुस्त बनाउनु आवश्यक हुन्छ । त्यसका लागि निम्न उपायहरु केही प्रभावकारी हुनसक्छन् –

१. भुइँमा राउटरलाई नराख्नु

राउटरलाई कहिल्यै पनि भुइँमा राख्नुहुँदैन । राउटरले सिग्नल मुनितिर दिने गर्छ । यस्तोमा भुइँमा राउटर राख्नाले स्मार्टफोन तथा ल्यापटपभन्दा पनि वाइफाइको सिग्नल जमिनतर्फ जान्छ । वाइफाइले राम्रोसँग काम गर्न राउटरमा कुनै किसिमको अवरोध हुनु हुँदैन ।

२. राउटरलाई छोपेर नराख्नु

राउटरलाई छोपेर राख्नाले पनि वाइफाइको सिग्नलमा अवरोध हुन्छ । जसले डिभाइसहरुमा यसलाई राम्रोसँग चल्न दिँदैन । केही मानिसहरुले धुलो, पानी तथा अन्य राउटर बिगार्नसक्ने खतराबाट बच्नका लागि राउटरलाई छोपेर राख्ने गर्छन् । यसले वाइफाइमा थप समस्या ल्याउन सक्छ । राउटरको सबैभन्दा नजिक रहेका सामग्रीहरुले यसको सिग्नललाई सोस्ने गर्छ, जसको कारण वाइफाइ राम्रोसँग चल्दैन ।

३. एन्टेनामा ध्यान दिनु

राउटरमा रहेको दुई एन्टेनामा विशेष ध्यान दिनु जरुरी हुन्छ । उक्त एन्टेना सकेसम्म नबांगियोस् भन्ने ख्याल गर्नुपर्छ । साथै उक्त दुई एन्टेनाहरु एकअर्काको सोझो हुनु जरुरी हुन्छ ।

४. कुनै पनि विद्युतीय सामग्रीहरु राउटरभन्दा टाढा राख्नु

मानिसहरु आफ्नो कम्प्युटरनजिकै राउटर राख्ने गर्छन् ताकि इन्टरनेटको गति बढोस् तर विद्युतीय सामग्रीहरुको नजिक राख्दै वाइफाइको गतिमा समस्या आउनसक्छ ।

५. राउटरलाई सही स्थानमा राख्नु

राउटरलाई धेरै अवरोधका सामग्रीहरु हुने स्थानमा राख्नुहुँदैन । साथै राउटरलाई सबै कुनाहरुबाट समदूरीमा हुने गरी राख्नु राम्रो हुन्छ ।

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ