arrow

तिलोत्तमाका सामुदायिक विद्यालयमा छात्रालाई निःशुल्क स्यानिटरी प्याड

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ चैत ४ सोमबार
Tilottama-2-1.JPG

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराएको छ । किशोरीलाई रजश्वला हुँदा पनि नियमित विद्यालय आउन प्रोत्साहित गर्नका लागि स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराइएको हो ।

रजश्वला हुँदा विद्यालय नआउने र आए पनि बीचमैं कक्षा छाडेर घर जाने समस्याको समाधानका लागि सामुदायिक विद्यालयमा स्यानिटरी प्याड उपलब्ध गराउने व्यवस्था मिलाइएको नगर उप–प्रमुख जागेश्वरी चौधरीले जानकारी दिए। यसका लागि नगरपालिकाले चालु आर्थिक वर्षका लागि पाँच लाख रुपैयाँ बजेट छुट्याएको छ ।

मूलतः कक्षा ६ देखि माथिका छात्राहरुलाई लक्षित गरी नगरपालिकाले यस्तो व्यवस्था मिलाएको हो । नगरपालिकामा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राहरुको संख्या तीन हजार ६ सय ५० छ । सरदरमा प्रतिछात्रा १३६ रुपैंयाँका दरले स्यानिटरी प्याडका लागि विद्यालयलाई रकम दिइएको हो ।

‘विद्यालयमा रजश्वला भएपछि बीचमैं पढाइ छाडेर घर जानुपर्ने बाध्यताको अन्त्यका लागि यस्तो व्यवस्था मिलाइएको हो ।’ शिक्षा उपसचिव हरिप्रसाद ज्ञवालीले भने। आर्थिक अभावमा कतिपय छात्राहरुले पुराना कपडा प्रयोग गर्ने र त्यसबाट संक्रमण हुन सक्ने भएकाले चेतना अभिवृद्धिका लागि पनि स्यानिटरी प्याड उपलब्ध गराइएको नगरपालिकाको भनाइ छ । छात्रा संख्याको आधारमा नगरपालिकाले रकम विद्यालयको खातामा जम्मा गरिदिएपछि विद्यालयहरुले प्याडको व्यवस्था मिलाएका छन् । यसका लागि विद्यालयहरुले एक जना महिला शिक्षकलाई ‘फोकल पर्सन’ तोकेका छन् ।

स्यानिटरी प्याडको उपलब्धताले किशोरीहरु ढुक्कसँग विद्यालय आउने वातावरण बनेको जनजागृति माविका शिक्षक नरेन्द्र बहादुर क्षत्रीले बताए । ‘नगरपालिकाले बजेट नदिँदासम्म स्कुलमा स्यानिटरी प्याडको व्यवस्था थिएन । नगरपालिकाले बजेट दिएपछि चालु शैक्षिक सत्रबाट हामीहरुले छात्राहरुलाई आवश्यकताका आधारमा निःशुल्क स्यानिटरी प्याड दिन थालेका छौं । यसबाट उनीहरुमा सकारात्मक प्रभाव परेको छ ।’ उनले भने।

यसैगरी नगरपालिकाले गर्भवती महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सुविधा उपलब्ध गराउने तयारी गरेको छ । यस्तै नगरका बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाहरुलाई नगरपालिकाले संघीय सरकारले उपलब्ध गराउने रकममा पाँच सय रुपैंयाँ थपेर दिने गरेको छ । नगरपालिकामा दुई वटा बर्थिङ सेन्टर छन् । नियमित स्वास्थ्य परीक्षण गराई बर्थिङ सेन्टरमा सुत्केरी महिलाले प्रोत्साहन भत्ता स्वरुप दुई हजार पाँच सय रुपैंयाँ प्राप्त गर्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ