arrow

फागु पूर्णीमाको नालिबेली : नेवार समुदायको प्रेम दिवसदेखि थकालीको तिरसम्म

logo
प्रकाशित २०७५ चैत ६ बुधबार
holi-holy.jpg

काठमाडौं। फागु अर्थात् होली पर्व आज काठमाण्डौ उपत्यका लगायतका पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइदैछ । वसन्त ऋतुको आगमनको उल्लाससँगै मनाइने यो चाड अबीर, पानी र थरिथरिका रङहरू दलेर होली पर्व मनाईंदैछ । फागुन शुक्ल पूर्णिमाका दिन फागु पर्व मनाउने परम्परा छ । बसन्त ऋतुको आगमनका रुपमा पनि यो पर्व  मनाउने गरिएको छ । यस दिन विशेष गरेर भाङ मिसाइएका खानेकुरा खाने र विविध रङबाट रङ्गिएर बाजागाजाका साथ नाचगान गर्दै समूह समूह बनाएर बिहानदेखि साँझसम्म घुम्दै रमाइलो गर्ने चलन पनि छ ।  

थाकालीको फागु:
यो चाडमा थकालीहरू रङ्गीबिरङ्गी पोशाकमा सजिएर स–परिवार भेला भई तीर हान्ने प्रतियोगिता गर्छन् । यसलाई तोरनल्ह भनिन्छ, जुन आजदेखि शुरु भएको छ । फागु पूर्णीमालाई थकाली भाषामा तोरनल्ह भनिन्छ । थकालीहरुले यो पर्व एक सातासम्म विभिन्न कार्यक्रम गरेर मनाउने गर्छन् । कामको सिलसिलामा बिदेश गएका थकालीहरु समेत यो पर्वमा घर फर्कने गर्छन् । प्रकृति पूजक, सिवेभूमे र पितृपूजक मान्ने थाकाली समुदायले यो पर्वमासम्पूर्ण काम थाँति राखेर मीठो खाने, नाच्ने, गाउने  र रमाउने गर्छन् । तोरनल्हमा तीन दिनसम्म बिहानै उठेर नुहाँई धुवाई चोखोनीतो भएर पितृहरुलाई जाँड, फलफूल, अन्नलगायतका बस्तुहरु चढाउने चलन छ ।

यो पर्वमा पुरुषहरु शिकार खेल्छन् भने महिलाहरु कई खेल खेल्छन् । यस पर्वमा धनुषकाणको पूजा गरेर तीर हान्ने परम्परा छ । थकाली सेवा समाजले राजधानीमा थकालीहरुको भेला गराई यो पर्व मनाउँछन् । कास्की, मुस्ताङ, रुपन्देही, चितवन लगायतका जिल्लामा बसोबास गर्ने थकालीहरुले समेत मेलमिलाप र उन्नतीको कामना गर्दे यो पर्व मनाउँदै आएका छन् ।

नेवार मुदायको प्रेम दिवस:
नेवार समुदायमा भने यो पर्वलाई प्रेम दिवसका रुपमा मनाउँछन । यस दिन युवा युवतीहरुले एकअर्कालाई मन पराएको स्वीकार्ने दिनका रुपमा मनाउँछन् । सात दिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा पकाएर खाई रमाइलो गरिन्छ ।
भक्तपुरमा भने, व्यापारका देवताका रुपमा भिमसेनलाई पुज्दै भक्तपुरको दत्तात्रय मन्दिर अगाडिको प्रसिद्ध भिमसेन मन्दिरको पाटीमा बसेर नेवारहरु नेवारी भाषाको गीत गुञ्जाउँदै पर्व मनाउँछन्।

भिमसेन मन्दिरमा काठबाट बनेको भिमसेनको लिंग र द्रौपदीको योनीको रुपमा रातो कपडालाई प्रतीक मानेर मन्दिरमा झूण्ड्याएर यौन समागमको रुपमा एकसातासम्म प्रर्दशनमा राख्ने गरिन्छ । चिर स्वायगू अथार्त लिंग घुमाएपछि फागु सुरु हुने परम्परा रहेको संस्कृतिविद ओम धौभडेलको भनाइ छ । चिर ठड्याएपछि यहाँका नेवार समुदायमा भिमसेन मन्दिरमा गई गुठी भोज खाने चलन छ । घुमाएको लिंगलाई स्थानीय बासिन्दाले पूजा गर्ने, ढोग्ने र दान दक्षिणा दिने परम्परा छ । यसो गरेमा व्यापार फस्टाउने विश्वास गरिन्छ। साथै पूर्णिमाका दिन उक्त लिंगलाई बोकेर ब्रह्मायणी नदीमा लगेर धोएमा सन्तानमा छोरा जन्मिने जनविश्वास पनि छ । यहि विश्वासका आधारमा लिंग बोक्न चाहनेकोे प्रतिष्पर्धा पनि चल्नेगर्छ ।

बजार घुमाएपछि भिमसेन मन्दिरमा काठको लिंग र योनी आकारको प्वाल भएको रातो कपडा  झुण्ड्याईन्छ । भिमसेन र द्रौपदीको यौन समागमलाई विकृतिको रुपमा नभई साँस्कृतिक महत्व मानेर संरक्षण गरिदै आएको सँस्कृतिविद धौभडेल बताए। 

सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपुले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ।

चीरको प्रसंगः 
कृष्ण र गोपिनीहरुसंग पनि यो पर्व जोडिएको छ । गोपिनीहरुले निर्वस्त्र भई पोखरीमा नुहाउँदा कपडा लगाइ मात्र नुहाउने प्रतिबद्धता जाहेर गराएको सन्र्दभसंग चीर ठडयाउने प्रसंग जोडिएको छ । यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुडिखेलमा लगी जलाउछन् । यो चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा प्रयोगमा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाउने चलन छ । 

रंगहरुको पर्व होली गएको बिहीबार हनुमानढोकामा चीर ठड्याइएसँगै  औपचारिक रुपमा सुरु भएको हो । फाल्गुन शुक्ल अष्टमीका दिन काठमाडौंको हनुमानढोकामा ३२ हात अग्लो बाँसमा मयलको हांगा साथै विभिन्न रंगका रंगीबिरंगी कपडा राखेर ठड्याइएसंगै  देशभर होली पर्व सुरु भएको मानिन्छ ।

गएको बिहीबार बिहान ११ बजेर ५५ मिनेटको शुभ साइतमा ३२ हात अग्लो बाँसको सप्तरंगी चीर ठड्याइएको थियो  । नेपाली सेनाको र्गुरुजु पल्टनले ४, ४ टोपको सलामी संगै हर्ष बढाइसमेत गरेको थियो । साथै मंगल धुन र होलीको नेवारी गित समेत बजाइएको थियो ।

यसअघि, गुहेश्वरी पनमा रहेको मयलको रुखको हांगा काटेर गुहेश्वरी मन्दिर र पशुपतिनाथलाई चढाइएको थियो । होली सुरु भएको भन्दै मयलको रुखको मूल हांगा चढाउने परम्परा छ । बाँकी हांगा त्यहाबाट हनुमानढोका ल्याएर चीर ठडयाउने गरिन्छ । हनुमानढोकामा ठड्याइएको चीर आज पुर्णिमाका दिनमा राति  ९ बजेर २३ मिनेटमा ढालिनेछ । हनुमानढोकामा ढालिएको चीरलाई आज राति नै दोहन गरेपछि यसबर्षको उपत्यकाको होली पर्व समापन हुन्छ । 

आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाइ सैनिक अस्पतालभित्रको ‘जधु’ नामक धारामा मुख चुठाउने चलन छ। योसँगै ललितपुरको कृष्ण मन्दिर अगाडी पनि मयल वा आरुको रुखमा बिभिन्न कपडाले सजाइएको चीर आज  ढालिँदैछ । साथै भक्तपुरको दत्रातय लगायत उपत्यकाका  बिभिन्न टोल टोलमा ठडयाइएको चीर पनि आजै ढालिँदैछ ।

रंग र प्राकृतिक स्वास्थ्यः 
फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म ८ दिन होली पर्व मनाउने  गरिन्छ । राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीत कालमा शरीरमा उत्पन्न कफको विनाश हुने मान्यता छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ । 

कहाँ कसरी ? 
फागु पर्व नेपाल र भारतलगायत अन्य देशमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ । इटलीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एक आपसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ । चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ । यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ ।  अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा मानिसहरू विभिन्न प्रकारका हास्यात्मक वेशभूषा लगाई प्रतियोगिताको आयोजना गरी विजयीलाई पुरस्कार दिइन्छ । 

यसैगरी, श्रीलङ्का र इन्डोनेसियाको जाभामा आगोको पूजा गरेर, म्यान्मार र थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुहरूलाई दान दिएर, जापान र इन्डोनेसियाको सुमात्रामा नयाँ अन्नलाई नाचगानका साथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर र इजिप्टमा हास्य, विनोद तथा नाचगान गरी यो पर्व मनाइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ