arrow

साफ च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न गर्‍यौं : पंकज नेम्वाङ

logo
प्रकाशित २०७५ चैत ९ शनिबार
pankaj-nemwang-2019.jpg

विराटनगर। नेपालले पहिलो पटक काठमाडौं उपत्यका बाहिर ठूलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न सफल भएको छ। हरेक समय काठमाडौंमै हुने प्रतियोगिता यसपटक विराटनगरमा आयोजना भएको हो। पहिलो पटक साफ च्याम्पियनसिप फुटबल विराटनगरमा सफलतापूर्वक सम्पन्न गरेपछि अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष एवं साफ च्याम्पियनसिप तयारी समितिका संयोजक पंकज नेम्वाङले यसरी प्रतियोगिता आयोजनाका बारेमा बताएका छन्।

मोफसलमा प्रतियोगिता आयोजना कसरी सम्भव भयो ? 
नेम्वाङ–
सबैभन्दा पहिले त राम्रो समन्वय हो। मुलुक संघीयतामा गएपछि हामी काठमाडौं बाहिर आउनु जरुरी थियो। प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र स्थानीय प्रशासनले यसलाई आफ्नो खेलको रुपमा लियो। आफ्नो प्रतिष्ठाको रुपमा लियो। सबैको सहयोग भयो। त्यही सहयोगको नतिजा नै आज हामीले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सफल भयौं।

मोफसलमा प्रतियोगिता गर्दा चुनौती कस्तो पाउनु भयो ? 
नेम्वाङ–
कर्मा छिरिङ शेर्पाको नेतृत्वमा एन्फा खडा भएपछि हामीले विकेन्द्रीकरणको नीति अपनायौं। सोही क्रममा काठमाडौं बाहिर साफ गर्नुपर्छ भनेर लाग्यौं। हामीले प्रदेश १ लाई उत्तम विकल्प पायौं। सम्पन्न गर्न सकिन्छ भन्ने सरसल्लाह प्रदेश सरकारदेखि स्थानीय सरकारसम्मलाई भयो। मोरङ जिल्ला फुटबल संघ खटियो। हामीलाई प्रमाणित गर्नुथियो। त्यो गर्‍यौं।

समस्या केही भयो आयोजना गर्दा ? 
नेम्वाङ–
भएन । विल्कुल भएन । हामी सबैले मिलेर यसलाई सफल पार्नुपर्छ भनेर दिनरात खट्यौं । यही नै हाम्रा लागि चुनौती थियो । मिलेर काम गरेपछि त्यो सफल हुन्छ भनेर देखाउन पनि सजिलो भयो । 

दर्शकको समस्या कस्तो भयो ? 
नेम्वाङ–
झन् भएन। यहाँको कुरा छोडौं भारतको दिल्लीबाटसमेत दर्शक आएको पायौं। अनि पश्चिम नेपालबाटसमेत दर्शक आएर यहाँको खेल हेर्नुभएको छ। योभन्दा राम्रो के होला। 

दर्शक अट्ने क्षमता त कम भयो नि हैन ? 
नेम्वाङ– अहिलेलाई ठीकै हो। ९ हजार ५ सय दर्शक अट्यो प्याराफिट बनेको छ। मञ्चमा झण्डै एक सय २५ जना अट्न सक्ने क्षमता छ। दर्शक भरिभराउ रहँदा पक्कै पनि राम्रोसंग मन पराउनु भयो भन्ने लाग्छ। सन्तुष्ट हुनु भयो होला। 

विदेशी टिम सन्तुष्ट भएन भन्ने कुरा आयो नि ? 
नेम्वाङ– कम्प्लेन त त्यस्तो हैन। तर भुटानको कुरा गर्नु भए होला। भुटानका कोचले थाहा नै नदिइ होटल छोड्नु भएछ। होटलबाट थाहा नै नदिइ टिम झारेको रहेछ । त्यो कारण हामीले अहिलेसम्म पनि थाहा पाउन सकेका छैनौं। सबै खेलाडी झारेपछि तत्कालै होटल पाउन मुस्किल थियो। तर हामीले त्यसको समाधान गरेर उहाँहरुलाई अर्को होटलमा राख्यौं । तर किन त्यसो गरियो त्यो आफैमा अचम्म हो । हामीसंग कुनै छलफल नै नगरी उहाँले केही मिडियालाई बोलाएर कम्प्लेन गर्नुभएको रहेछ। त्यसबाहेक कुनै कम्प्लेन आएन । हामी सबै सजग थियौं । सानातिना कम्प्लेन त काठमाडौंमै पनि आउँथे। 

यो प्रतियोगिता आयोजनापछि सिकेको पाठ के हो ? 
नेम्वाङ–
प्रदेश १ अब अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्षम भयो। यसले प्रमाणित गरिसकेको छ। अन्य जिल्ला वा प्रदेशले चाह्यो भने प्रतियोगिता आयोजना गर्न सक्छ भन्ने प्रमाण हो यो। अन्य प्रदेशहरुले प्रतिवद्धता जनाए भने हामी त्यसलाई पूरा गर्न तयार छौं। हामी आग्रह पनि गर्न चाहन्छौं। अब पोखरा, बुटबल वा वीरगञ्ज जहाँ पनि प्रतियोगिता आयोजना गर्न सकिन्छ। अब अन्त पनि जानुपर्छ। देशभर फुटबलमय वातावरण बनाउनु पर्छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ