‘मलाई बचाइदिनुहोस्’– मिर्गौलापीडित छविलाल

प्रकाशित मिति : २०७५ चैत १० आइतबार

खोटाङ । दुवै मिर्गौलाले काम गर्न छाडेपछि दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित काहुलेका छविलाल मगरले उपचारका लागि आर्थिक सहयोग जुटाउन सबैसँग याचना गर्नुभएको छ । गत माघ ३ गतेदेखि काठमाडौँको सुमेरु अस्पतालमा उपचार गराइरहनुभएका ४२ वर्षीय उहाँले उपचारमा थुप्रै रकम लाग्ने भएकाले सो याचना गर्नुभएको हो ।

जीवन–मरणको दोसाँधमा रहनुभएका छविलालले कसैको सहयोग पाए आफ्नो अझै बाँच्ने आशा साकार हुने बताउनुभयो । “मृत्यु त एक दिन अवश्य सबैको हुन्छ नै !” उहाँले भन्नुभयो, “आफू मरेर गएपछि नाबालक छोरा र श्रीमतीको बिचल्ली हुनेभयो, सक्नुहुन्छ भने मलाई बचाइदिनुहोस् । मेरा परिवार पनि सुखी हुनेछन् ।”

हप्तामा दुई पटक डाइलासिस गराइरहनुभएका छविलालले आफ्नो जिम्मेवारी पूरा गर्न नपाउँदै मरिने हो कि भन्ने चिन्ता व्यक्त गर्नुभयो । “जन्म दिइयो, हुर्काउन र कर्म सिकाउन बाँकी नै छ”, मगरले भन्नुभयो, “ यति छिटै यस्तो होला भन्ने लागेको थिएन । उनीहरुको भविष्यका लागि भए पनि मलाई बचाइदिनुहोस् !”

कमजोर आर्थिक अवस्था भएका मगर अहिले छोरी निर्मला मगर र ज्वाइँ विमल मगरको सहयोगमा काठमाडौँको कपनमा बसेर उपचार गराइरहनुभएको छ । पाँच सन्तानका बुबा छविलालको सम्पत्तिका नाममा साँढे दुई रोपनी पाखो जग्गा मात्र रहेको उहाँका छिमेकीले बताए् ।

घरको आर्थिक अवस्थाले नपुगेपछि ऋण काढेर उपचारका लागि काठमाडौँ पुग्नुभएका मगरको दुवै मिर्गौला फेर्नुपर्ने स्वास्थ्यकर्मी भनाइ रहेको उनीहरूले जानकारी दिए ।
छविलालको उपचारका लागि सहयोग रकम जुटाउन रेवती मगर र नानीमैया मगरले आर्थिक सङ्कलन अभियान शुरु गर्नुभएको छ । उहाँहरुले काठमाडौँस्थित एभरेष्ट बैंकमा नानीमैया मगर र छविलालका जेठा छोरा प्रेम मगरको नाममा ००२००५०१२१५४७६ नंको संयुक्त खाता खोल्नुभएको छ ।

भतिजी पर्ने सहयोगी नानीमैयाले भन्नुभयो, “काकाको उपचारमा ठूलो खर्च भइसकेको छ । घरको आर्थिक स्थिति नाजुक भएकाले धान्न कठिन छ । उहाँलाई बचाउन सबैसँग अनुरोध गरिरहेका छौँ”, उहाँले थप्नुभयो, “अब कति रकम लाग्छ भन्ने पनि यकिन छैन । स्वास्थ्यकर्मीले दुवै मिर्गौला प्रत्यारोपण गर्नुपर्छ भनेको छ तर उहाँहरुसँग उपचारका लागि गाडी भाडासमेत छैन ।”

आर्थिक सहयोग जुटाउन सहयोग रसिद छपाएर गाउँगाउँमा पठाउने तयारीसमेत गरिएको जनाइएको छ । विदेशमा रहेका आफन्तका लागि फेसबुकमा समेत र अभियान थालिएको बताइएको छ ।

नयाँ