- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पर्सा । विभिन्न अपराधमा कैद सजाय भोगिरहेका १९ युवा आज वीरगञ्जबाट मध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी भएका छन् । एसइई परीक्षाको आज पहिलो दिन नियमित अङ्ग्रेजी विषयको परीक्षामा वीरगञ्ज कारागारबाट १६ र बाल सुधार केन्द्रबाट तीन जनाले सहभागिता जनाएका हुन् ।
लागुऔषधलगायत मुद्दामा पक्राउ परेका युवालाई कडा सुरक्षा व्यवस्थाका बीच कारागारभित्रै परीक्षा दिने व्यवस्था मिलाइएको कारागारका निमित्त प्रमुख गणेश भण्डारीले जानकारी दिए। उनले वीरगञ्ज कारागारबाट १६ र बाल सुधार केन्द्रबाट तीन युवा परीक्षामा सहभागी भएको बताए।
कारागार परिसरमा विद्यालयका शिक्षकले कैदी–बन्दीलाई परीक्षाको पूर्वतयारी गराइएको निमित्त प्रमुख भण्डारीले जानकारी दिए । एसइई परीक्षामा सहभागिताका लागि यस वर्ष पर्साबाट नियमिततर्फ सात हजार ८५७, पुनःपरीक्षातर्फ ३५० र प्राविधिक विषयतर्फ १८२ले फारम भरेका छन् । उक्त परीक्षाका लागि वीरगञ्ज महानगरपालिकाभित्र १४ र ग्रामीण क्षेत्रमा १० गरी जिल्लामा कूल २४ परीक्षा केन्द्र तोकिएको छ ।