arrow

तीन मुख्य विधामा मनोनयन सहित क्विन्स फेस्टिभलमा ‘डाइङ क्यान्डल’

logo
प्रकाशित २०७२ चैत २ मंगलबार
dying-candle.jpg.jpeg
काठमाडौ । अमेरिकाको प्रतिष्ठित क्विन्स वल्र्ड फिल्म फेस्टिभलमा तीन मुख्य विधामा ‘डाइङ क्यान्डल’ (निभ्न लागेको दियो) मनोनीत भएको छ । चलचित्र हिमाली भेगको पृष्ठभूमिमा दिदी र भाइको आत्मीय सम्बन्ध समेटिएको छ ।  डा. नरेश कुमार केसी निर्देशित चलचित्र फिल्म फेष्टिभलको उत्कृष्ट फिल्म, उत्कृष्ट हिरोइनको बिधामा कलाकार सिर्जना सुब्बा र उत्कृष्ट छाँयाकारको बिधामा रविन आचार्य र दिपांकर सिग्देल  मनोनयनमा परेका हुन् । 
 
 
मार्च १५ देखि ६ दिनसम्म अमेरिकाको न्युयोर्कमा चल्ने महोत्सवमा ‘डाइङ क्यान्डल’ १९ मार्चमा स्क्रिन हुनेछ । महोत्सवमा छनोट मात्रै नभई मुख्य तीन विधामा मनोनयनमा परेको खबरले फिल्मका निर्देशक केसीले खुसी व्यक्त गरे । ‘अवार्ड जित्न सकेमा फिल्मको विश्वव्यापी बजारीकरणलाई सघाउ पुग्ने थियो,’ हालसम्म रिलिज मिति निश्चित नगरिसकेको फिल्मका निर्देशकले भने । 
 
 ‘डाइङ क्यान्डल’ चलचित्र भ्यालेन्टाइन्स डेमा अमेरिकाकै सिने भर्डी फिल्म फेस्टिभलमा प्रिमियर समेत गरिएको थियो । चलचित्रको पटकथा निर्देशक केसीले अमेरिका बस्दै लेखेका थिए । उक्त स्कुलमा हलिउडकै पनि प्रतिष्ठित फिल्मले रिलिज अगावै समीक्षात्मक टिप्पणीका लागि विद्यार्थीमाझ देखाउने गर्छन् । 
 
निर्देशक केसी यसै कलेजको फिल्म एन्ड टेलिभिजन प्रोडक्सनमा स्नातकोत्तर गरेका हुन् । स्क्रिनिङमा फिल्म विद्यार्थीहरूसहित प्राध्यापक जेनिफर वारेन, अमान्डा पप, ‘स्पाइडर म्यान’ बाट भीएफएक्समा ओस्कार जितेका डाक्टर पउल डिभेबेकलगायत प्रतिष्ठित फिल्मकर्मीले ‘डाइङ क्यान्डल’ हेरेर तारिफ गरेको स्क्रिनिङमा सम्मिलित फिल्मका कलाकार अर्पण थापा र निर्माताद्वय रवीन आचार्य र उत्तम केसीले जनाएका थिए । क्विन्स फेस्टिभलमा पनि तीनैजनाको उपस्थिति रहने बताइएको छ ।
 
सिर्जनासहित फिल्ममा सौगात मल्ल, अर्पण थापा, विद्या कार्की, लाक्पासिंगी तामाङ लगायतको मुख्य भूमिका रहेको छ । ‘डाइङ क्यान्डल’ को भ्यालेन्टाइन्स डेमा अमेरिकाकै सिने भर्डी फिल्म फेस्टिभलमा प्रिमियर गरिएको थियो ।
 
फिल्मको पटकथा आफैं तयार पारेका निर्देशक केसीले पश्चिमा संस्कृतिमा आमाबाबुदेखि प्रेमीप्रेमिका, साथी र शिक्षकबीच प्रेम दर्साउने विभिन्न विशेष दिन भए पनि दिदी र भाइबीच प्रेम दर्साउने खास दिन नभएको उल्लेख गर्दै भने, ‘हाम्रो तिहारजस्तो उता खास दिन छैन । फिल्मले हाम्रो मौलिक कथालाई उठान गरेको हो । जसले विदेशी दर्शकको मन जितेकोमा खुसी छु,’ त्यसो त केसीले स्वदेशी दर्शकका लागि पनि फिल्मले भावनात्मक रूपमा जोड्ने विश्वास व्यक्त गरे । 
 
रसुवाको दुर्गम गाउँ गत्लाङमा खिचिएको फिल्ममा व्यावसायिकसँगै स्थानीय कलाकारलाई लिएर निर्देशक नरेशकुमार केसीले फिल्म तयार पारेका हुन् । फिल्मको कथा एक दिनमा एक घरभित्र घट्ने घटनाकै सेरोफेरोमा केन्द्रित छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ