arrow

शिक्षामन्त्री पोखरेलले तत्काल राजीनामा दिउन् र माफी मागुन् – मुख्यमन्त्री राउत

logo
प्रकाशित २०७५ चैत १५ शुक्रबार
Lalbabu-raut-cheif-minister.jpg

काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारका शिक्षामन्त्री गरिराजमणि पोखरेलको राजीनामा मागेका छन् । 

प्रदेश २ मा लगातार २ वटा विषयको एसईईको प्रश्नपत्र बाहिरिएको सन्दर्भमा उनले नैतिकताका आधारमा राजीनामा दिन उनले माग गरेका हुन् । 

बिहीबार अनिवार्य विज्ञानको र शुक्रबार अनिवार्य सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि संघीय सरकारकै नियन्त्रणमा रहेको शिक्षा र प्रहरी प्रशासनका कारण प्रदेश २ बदनाम भएको भन्दै मुख्यमन्त्री राउतले शिक्षामन्त्री पोखरेलको राजीनामा मागेका हुन् । 

उनले भने, ‘म दुखी छु, चिन्तित छु, हिजो विज्ञानको र आज सामाजिकको प्रश्नपत्र आउट हुनु दुखद छ ।’ 

मुख्यमन्त्री राउतले भने, ‘कसरी आउट भएको हो यसको छानबिन हुनुपर्छ । सबैको सपोर्ट थियो राम्रो वातावरणमा परीक्षा संचालन गराउने । यति हुँदाहुँदै पनि प्रदेश २ लाई बदनाम गराउन केन्द्रले बदमासी गर्यो ।’

मुख्यमन्त्री राउतले प्रदेश २ लाई बिथोल्ने प्रयास भएको भन्दै यो क्षम्य नभएको बताएका छन् । 

मुख्यमन्त्री राउतले प्रदेश २ बाटै प्रतिनिधित्व गर्ने व्यक्तिले प्रदेश २ लाई बदनाम गराउने ? भन्दै शिक्षामन्त्रीले राजीनामा दिनुपर्नेमा जोड दिए । उनले भने, ‘ माननीय गिरिराजमणि पोखरेलले प्रदेश २ बाटै प्रतिनिधित्व गर्नुहुन्छ । तर उहाँले प्रदेश २ लाई नै बदनाम गराउनु भयो । सम्बन्धित मन्त्रालयको मन्त्रीले जिम्मा लिने कि नलिने ?’ 

उनले अगाडि थपे, ‘प्रहरी प्रशासन संघीय अन्तर्गत चलेको छ । सबै संयन्त्र संघीयले चलाइरहेको छ । हाम्रा प्रदेश २ का पीडित बाबुआमालाई कसले राहत दिन्छ ? बोर्डका मानिसहरुले नचाहेसम्म कसरी प्रश्नपत्र बाहिरिन्छ ?’ 

मुख्यमन्त्री राउतले भने, ‘हिजो एउटा गल्ती भएपछि फेरि पनि गल्ती गर्ने ? मन्त्रीले ओहदामा बस्ने हैसियत छैन । यसमा उनको इन्भल्भमेन्ट छ । अन्य प्रदेशमा प्रश्नपत्र आउट नहुनु तर प्रदेश २ मा मात्र आउट हुनु ?’ 

उनले थपे, ‘यो ठूलो मिलेमतो हो । संघीय सरकारको शिक्षा मन्त्रालयको अन्तर्गत चलिरहेको छ । यो बदमासी हो । नैतिकताका आधारमा उनले राजीनामा दिएर नै माफी माग्नुपर्छ । जिल्ला शिक्षा कार्यालय संघभित्र राख्न मिल्छ ?’

आक्रामक हुँदै मुख्यमन्त्री राउतले भने, ‘बदमासी गर्ने चोर डाँकाहरुले अनि बदनाम गर्ने प्रदेश २ लाई ?’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ