arrow

मेडिकल कलेज स्थापना हुने भएपछि बर्दिवासमा उत्साह

logo
गोपालप्रसाद बराल,
प्रकाशित २०७५ चैत १५ शुक्रबार
medical_collage.JPG

बर्दिवास । महोत्तरीको बर्दिबास नगरपालिकामा मेडिकल कलेज सञ्चालनको काम अघि बढेपछि स्थानीयवासीमा उत्साह छाएको छ । बर्दिवासमा कलेजको पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापना गरिने तयारीसँगै स्थानीयवासीमा खुशी छाएको हो ।

“बर्दिवासमा मेडिकल कलेजको काम अघि बढेछ, यसअघि बर्दिवास–६ मा कृषि सङ्कायको स्नातकतहसम्म अध्ययन-अध्यापन हुने प्राकृतिक स्रोत व्यवस्थापन कलेजको पठनपाठन शुरु भइसकेको छ”, महोत्तरी–१ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य शारदा थापाले भने, “अब बर्दिवास मुलुककै शैक्षिक गन्तव्य बन्ने आश जाग्यो ।” बर्दिवास–३ मा पशुविज्ञान विषयको डिप्लोमा कलेज, बर्दिवास–११ मा डिप्लोमा इञ्जिनीयरिङ र बर्दिवास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पसमा भर्खरै स्नातकोत्तर तहको पठनपाठन शुरु भइसकेको थापाले बताए ।

बर्दिवासमा अहिले मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापनाको सबै तयारी पूरा भएको छ । यहाँ स्थापित हुने कार्यालय प्रमुखमा खटिनुभएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव देवीप्रसाद सुवेदीले सञ्चारकर्मीसँग भने, “कार्यालय स्थापनाको सबै तयारी पूरा भएको छ, यो चैतभित्रै कार्यालय स्थापना भएर सञ्चालन भइसक्छ ।” आफूलाई मन्त्रालयले कार्यालय प्रमुख बनाएर पठाएको र अहिले कार्यालयका लागि भाडाको भवन ठीक गरिसकिएको पनि सुवेदीले जानकारी दिए।

पछिल्लोपटक सरकारले बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापना गरेर काम अघि बढाएपछि नगरका आम बासिन्दा उत्साहित भएका छन् । आफ्नो नगरमा सञ्चालन हुने विभिन्न विषयका कलेजमा अब देशविदेशका विद्यार्थी उच्च शिक्षा पढ्न आउने र आफ्नो ठाउँ शिक्षासँग जोडिएर चिनिने बर्दिवास–१२ विजलपुराका बासिन्दा प्रतिमा कोइराला बताउछन्।

सरकारले आर्थिक वर्ष २०७३-७४ मा प्रदेशमा एउटा मेडिकल कलेज स्थापना गर्ने नीति बनाएअनुसार गत फागुन ३ गतेको मन्त्रिपरिषद् बैठकले कलेज स्थापनाका लागि कार्यालय खोल्ने सहमति दिएपछि अहिले काम अघि बढेको हो । सङ्घीय सरकारले चालू आर्थिक वर्ष २०७५-७६ मा कलेज पूर्वाधार विकासका लागि रु ८७ लाख छुट्याइएको उपसचिव सुवेदीले बताए । यसबाहेक विश्वविद्यालय अनुदान कोषबाट बर्दिवास, सुर्खेत र बुटवलका लागि मेडिकल कलेजमा १०-१० करोड रकम विनियोजन भएको सुवेदीले जानकारी दिनुभयो । सबै विधाको अध्ययन-अध्यापन हुने बर्दिवास मेडिकल कलेजका लागि ३०० श्ययाको अस्पताल पनि निर्माण गरिने सुवेदीको भनाइ छ ।

कलेज स्थापनाका लागि बर्दिवास–४ मा भब्सी र अटाबे पुलबीच पूर्वपश्चिम राजमार्गको उत्तरपट्टि ७५ रोपनी जग्गाको सिफारिश भएको छ । सिफारिश जग्गा वनक्षेत्र परेकाले अहिले यसबारे अन्तिम निर्णय हुने प्रक्रियामा रहेको बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले बताए । यसबाहेक मेडिकल कलेजका लागि बर्दिवास–२ मा जग्गाको थप व्यवस्था गरिने नगरप्रमुख कार्कीको भनाइ छ ।

बर्दिवास नगरक्षेत्रमा कृषि, पशुविज्ञान र इञ्जिनीयरिङ विषयमा स्नातक तहसम्मको र शिक्षाशास्त्र सङ्कायमा स्नातकोत्तरसम्मको पठनपाठन शुरु भइसकेको र चिकित्साशास्त्रको कलेज स्थापनाको काम अघि बढेपछि बर्दिवास सबैको शैक्षिक गन्तव्य बनेको बर्दिवास जनता बहुमुखी क्याम्पस बर्दिवास–१४ का प्राचार्य (क्याम्पस प्रमुख) तोपबहादुर ठकुरी बताउछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ