एजेन्सी । इङ्गलिश क्लब म्यानचेस्टर सिटी पहिलो पटक युएफा च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । अन्तिम १६ को खेलमा युक्रेनको डाइनामो किभलाई समग्रमा ३–१ ले हराउँदै म्यानचेस्टर सिटीले अन्तिम आठको यात्रा तय गरेको हो । मंगलबार राति भएको दोस्रो लेगको खेलमा सिटीलाई डाइनामोले गोलरहित बराबरीमा रोक्यो । यद्यपि, पहिलो लेगको खेलमा ३–१ को जित हासिल गरेकैले म्यान्सिटी क्वार्टरफाइनलमा पुगेको हो ।
अर्को खेलमा नेदरल्याण्ड्सको पीएसभी आइन्दोभेनलाई पेनाल्टी सुट आउटमा हराउँदै स्पेनिश क्लब एथ्लेटिको मड्रिड समेत क्वार्टरफाइनलमा पुगेको छ । खेलको पहिलो लेग र दोस्रो लेगमा पनि गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको हो । अतिरिक्त समयमा पनि कुनै टोलीले गोल गर्न नसकेपछि खेल टाइ ब्रेकरबाट गयो । टाईमा एथ्लेटिको मड्रिडका हुँवाफ्रानले निर्णायक गोल गर्दै टोलीलाई ८–७ ले विजयी गराए ।
युएफा च्याम्पियन्स लिग फुटबलमा मंगलबार रातिका खेलपछि क्वाटरफाइनल पुग्ने ६ वटा टोलीको टुंगो लागेको छ । क्वार्टरफाइनल पुग्नेहरु इङ्गलिश क्लब म्यानचेस्टर सिटी र एथ्लेटिको मड्रिड स्पेनिश क्लब रियाल मड्रिड, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन, पोर्चुगिज क्लब बेनिफिका र जर्मन क्लब उल्फवर्ग छन् ।
क्वार्टरफाइनलमा पुग्ने बाँकी दुई टोलीको टुंगो बुधबार लाग्नेछ । अन्तिम प्रि–क्वार्टरफाइनल खेलमा वुधबार (आज) स्पेनिश क्लब बार्सिलोना र इङ्गलिश क्लब आर्सनल तथा जर्मन क्लब बायर्न म्युनिख र इटालियन क्लब युभेन्टस आमने सामने हुँदै छन् ।