काठमाडौं। भारतमा जारी टि-२० विश्वकप क्रिकेट प्रतियोगितामा क्रिस गेलको बिष्फोटक ब्याटिङ प्रदर्शनले वेष्टईण्डिजले सहज जीत हात पारेको छ। बिष्फोटक ब्याट्सम्यान गेलले ४८ बलमा ११ छक्का र ५ चौकाको मदतले नट आउट १०० रन बनाउँदै आफ्नो टोलीलाई सहज जीत दिलाएका हुन्। वेष्टईण्डिज ६ विकेटले बिजयी भएको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको ईङलयाण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८२ रन बनाएको थियो। उसकालागि जो रुटले सार्वाधिक ४८ रन बनाएका थिए। त्यसैगरि जो बटलर र एडम हेल्सले ३० र २८ रन क्रमशको योगदान गरेका थिए। वेष्टईण्डिजकालागि आन्द्रे रसेल र ड्वाएन ब्राभोले २-२विकेट लिएका थिए।
जवाफमा ब्याटिङ गर्न ओर्लेको वेष्ट ईण्डिजले १८.१ ओभरमा ४ विकेट गुामउँदै १८३ रन बनाएको थियो। गेल बाहेक मार्लोन सामुअल्सले ३७ रनको योगदान दिएका थिए।
पाकिस्तान-बंगलादेश
त्यसैगरि अर्को खेलमा पाकिस्तानले बंगलादेशलाई ५५ रनले पराजित गरेको छ। पहिले ब्याटिङ गर्दै पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुामउँदै २०१ रन बनाएको थियो। २०२ रनको लक्ष्य पच्छ्याएको बंगलादेश २० ओभरमा ६ विकेट गुमाउँदै १४६ रनमा समेटिएको थियो।
पाकिस्तानकालागि मोहम्मद हाफिजले ६४ रन बनाएका थिए भने शाहिद आफ्रिदीले ४९ रनको योगदान गरेका थिए। त्यसैगरि अहमद शेहजादले ५२ रन बनाएका थिए। बंगलादेशका शाकिब अल हसन ५० रनमा नट आउट रहेका थिए। खेलका प्लेयर अफ द म्याच पाकिस्तानका शाहिद आफ्रिदी घोषित भएका थिए। उनले २ विकेट पनि लिएका थिए।