मदानेको पुर्कोट दहमा निःशुल्क स्वास्थ्य शिविर, सत्ताइस सयले लिए सेवा
रमेश विश्वकर्मा,
प्रकाशित २०७६ वैशाख २ सोमबार
475
Shares
गुल्मी । जिल्लाको मदाने गाउँपालिकाको पुर्कोट दहमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा सम्पन्न भएको निःशुल्क स्वास्थ्य शिविरमा २ हजार ६ सय ३७ जनाले सेवा लिएका थिए ।
जसमा पुरुष १ हजार ६० र महिला १ हजार ५ सय ७७ जनाले सेवा लिएको गाउँपालिकाका सुचना अधिकारी ऋषिराम पोख्रेलले जानकारी दिए ।
जनताहरु स्वास्थ्य परिक्षण गराउन बुटवल, काठमाडौं धाउने, अनावश्यक धेरै आर्थिक खर्च हुने भएकाले, त्यसको मध्यनजर गर्दै गाउँपालिकाले घरआँगनमै सेवा प्रवाह गर्ने उदेश्यले यो शिविरको संचालन गरेको गाउँपालिका अध्यक्ष दानबहादुर केसीले जानकारी दिए ।
जनताले आफ्नै घर आगनमा निःशुल्क स्वास्थ परिक्षण गराउँन पाउँदा हर्षित बनेका छन् । देशका प्रतिष्ठित अस्पतालमा कार्यरत दक्ष अनुभवी डाक्टरहरुबाट मुटु रोग, नाक, कान, घाँटी, छाला, आँखा, मानसिक नशा रोग, हाडजोर्नी तथा भिडियो एक्स–रे लगायतका दर्जनौँ सेवा प्रदान गरिएको थियो र विषय विशेषयोग्य २० जना डाक्टरहरुको टोलि आएर स्थानीय जनताहरुलाई सेवा प्रवाह गरिएको थियो ।
स्वास्थ्य सिविरमा बिरामिहरुलाई निःशुल्क औषधि प्रदान गरिएको थियो। स्वास्थ्य शिविरबाट हाडजोर्नी, स्त्रीरोग र दमका रोगीहरु अत्यधिक भएको जनाईएको छ । स्वास्थ्य शिविर २०७५ चैत्र ३० देखि बैशाख १ गतेसम्म २ दिन चलेको थियो ।
स्थानिय सरकारको अनुभूति दिलाउने गरि मदाने गाउँपालिकाले आफ्ना कार्यहरु निरन्तर रुपमा अगाडि बढाउने काम गरेको छ । वृहत निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटनमा प्रदेश नं ५ का प्रदेश सांसद दिनेश पन्थीको उपस्थित रहेको थियो, भने समापन कार्यक्रममा श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्ट, स्थानीय जनप्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रमुखहरु र विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।