arrow

नियमित हुन नसकेका पाल्पाका निजी विद्यालय सरकारीमा मर्ज

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७६ वैशाख ६ शुक्रबार
Public_school.jpeg

पाल्पा ।  कम्पनी तथा आन्तरिक राजस्वमा नियमित हुन नसकेका केही निजी विद्यालयहरु मर्ज भएका छन् । पूर्वखोला गाउँपालिकामा सञ्चालित हुँदै आएका निजी विद्यालयहरु नियमित नभएका कारण बाध्य भएर सरकारी विद्यालयमा मर्ज भएका हुन् ।

संविधानले माध्यमिक शिक्षाका सबै अधिकार स्थानीय तहमा प्रत्यायोजन गरेपछि शैक्षिक गुणस्तर सुधारमा स्थानीय तहहरु लागि परेका छन् । शैक्षिक क्षेत्रको दु्रत विकास एवं विस्तारको लागि आवश्यक नीति, योजना र कार्यक्रम बनाई अधिकांश स्थानीय तहहरुले काम थालेका हुन् । स्थानीय पाठ्यक्रम, पाठ्यपुस्तक निर्माण, प्रारम्भिक बाल शिक्षा तथा विद्यालय, अनौपचारिक शिक्षा, खुल्ला तथा वैकल्पिक एवं निरन्तर सिकाई तथा विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड निर्माण, योजना कार्यान्वयन र नियमन गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ ।

सरकारी शैक्षिक संस्था प्रतिको विश्वास घटिरहेका बेला पूर्वखोला गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि केही प्रक्रियागत रुपमा नियमित हुन नसकेका निजी विद्यालयहरुलाई मर्ज गराएको हो । गाउँपालिकामा सञ्चालन हुँदै आएका पाँच निजी विद्यालयहरु यसै शैक्षिक शत्रदेखि सरकारी विद्यालयमा गाभिएका छन् । गाउँपालिकाले गत वर्ष गाउँ शिक्षा सुधार कार्यदल र प्राविधिक कार्यदल बनाएको थियो ।

उक्त कार्यदलले सरकारी र संस्थागत विद्यालय अनुगमन गरी प्रतिवेदन तयार गरेर यसै शैक्षिक शत्रदेखि सामुदायिक विद्यालयमा गाभेको हो । जोनन इङलिस बोर्डिङ्ग स्कूललाई गणपति मावि, सरस्वती बोर्डिङ्ग स्कूललाई सरस्वती मावि, पूर्वखोला बोर्डिङ्ग स्कूललाई उद्बुद्ध मावि, माउन्ट भ्यू बोर्डिङ्ग स्कूललाई शम्भु मावि र चिराग बोर्डिङ्ग स्कूललाई मातृभूमि माविमा मर्ज गरिएको गाउँपालिकाका अध्यक्ष तथा शिक्षा समितिका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिए ।

गाउँपालिका भित्र एकै प्रकारको शिक्षा प्रदान गर्ने उद्देश्यले निजीलाई सामुदायिकमा समायोजन गरिएको उनले बताए । उनले भने ‘सामुदायिक विद्यायलहरुमा राज्यको लगानी धेरै तथा रिजल्ट कमजोर देखिएकाले यसमा सुधार गर्नुपर्नेछ ।’ सामुदायिक विद्यालयमा गाभिएका सबै निजी विद्यालयका शिक्षक कर्मचारीलाई सम्बन्धित विद्यालयले नै व्यवस्थापन गर्ने छन् । गाउँपालिकाले गाउँपालिका स्तरीय प्रअ, शिक्षक, अभिभावक, समाजसेवी, शिक्षा पे्रमी तथा सरोकारवालाहरुसँग छलफल गरी विद्यालय मर्ज गरेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ