arrow

विचरा नेविसंघ ! स्वर्ण जयन्ति नपुग्दै वाहवाहीदेखि कोमाको यात्रासम्म

logo
हाम्राकुरा डेस्क,
प्रकाशित २०७६ वैशाख ६ शुक्रबार
NSU-past-president.jpg

काठमाडौं । देशमा तत्कालीन हुकुमी शासनको दबदबा चलिरहेको बेलामा राजनीतिक दलमार्फत् आफ्नो मत जनतामा पुर्‍याउन सक्ने अवस्थामा थिएन । पार्टी पूर्णतः प्रतिवन्धित भएको र भूमिगत रुपमा क्रान्ति गरिरहेकाहरु पनि विस्तारै विस्तारै पक्राउ पर्ने क्रम जारी रहँदा त्यतिबेला वीपी कोइरालाको रेखदेखमा रहनेगरी विपिन कोइरालाको नेतृत्वमा २०२७ साल बैशाख ६ गते भएको थियो नेपाल विद्यार्थी संघको स्थापना । 

तत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाईएको बेलामा नेपाली काँग्रेसले आफ्नो बहुदलीय एजेण्डालाई स्थापित गराउने उद्देश्यले आफ्नो विचारसँग सहमत विद्यार्थीहरूलाई शैक्षिक एजेण्डामा टेकेर विद्रोह गर्न नेपाल विद्यार्थी संघको स्थापना गरेको थियो । स्थापना कालको नेविसंघमा नयाँ किसिमको उर्जा थियो, व्यक्तिगत स्वार्थ भन्दा पनि राष्ट्रिय मुद्दाहरुलाई प्राथमिकता दिईन्थ्यो । आफू जेल परेर भएपनि मुलुकमा बोल्न पाउने व्यवस्था राख्नको लागि घर परिवारलाई समेत विर्सिएर राजनीतिमा होमिएका थिए त्यतिबेलाका विद्यार्थी नेताहरु । 

नेपालको प्रजातान्त्रिक आन्दोलनमार्फत् नेपालीलाई जहानीय राणा शासन र एकतन्त्रीय पञ्चायती शासन ढाल्ने बेलासम्म नेपाल विद्यार्थी संघ र उसले नेतृत्व गरेको विद्यार्थी आन्दोलनले उकालो गति समाउँदै थियो । तात्कलिन राजा ज्ञानेन्द्रले प्रजातन्त्र हत्याउने गरी चालेको कदम विरूद्ध लड्ने समयमा समेत नेविसंघले आफ्नो गरिमालाई भुईमा गिर्न दिईसकेको थिएन । तर, विसं २०६२÷६३ को लोकतान्त्रिक आन्दोलन सकिएसँगै नेपाल विद्यार्थी संघ र सिंगो विद्यार्थी राजनीति नराम्रोसँग विचलित हुन सुरु भयो । अहिले नेविसंघ आफैंले आफ्नो गति देख्न छाडिसकेको छ भने यसलाई पार्टीको भागबण्डाको बाहानामा छिन्न भिन्न गरिएको छ। 

परिवर्तनकारी आन्दोलनमा नेविसंघको वाहवाही 
परिवर्तनकारी आन्दोलनमा विद्यार्थी आन्दोलनको भूमिकालाई विर्सिएर पनि नजरअन्दाज गर्न सकिँदैन । नेपाली राज्य व्यवस्थाले विद्यार्थीको साथ पाएर नै धेरै परिवर्तनको अनुभूति गर्न सक्यो । चाहे ‘जयतु संस्कृतम्’ को नामबाट होस् या त त्यसपछि भाँचिएका विभिन्न राजनीतिक विचारधारासँग सम्बन्धित विद्यार्थी संगठन नै किन नहोस्। परिवर्तनकारी आन्दोलनलाई उत्कर्षमा पुर्‍याउने र परिवर्तनको स्वाद चखाउने काम विद्यार्थीहरूकै मार्फत् भएकोमा पनि कसैको दुई मत छैन। 
 
पञ्चायती शासनमा पिल्सिएका नेपालीहरू र त्यसमा पनि जागरूक विद्यार्थीहरूले प्रवासमा रहेर ‘प्रजातान्त्रिक युवा लिग’ गठन गरेर नेपाल विद्यार्थी संघको प्रारूप चित्र कोर्ने प्रयास गरेको देखिन्छ। त्यसँगै देशभित्रका पनि विभिन्न क्याम्पसहरूमा सम्मेलन तयारी समिति गठन गरी २०२७ वैशाख ६, ७ र ८ गते अखिल नेपाल विद्यार्थी सम्मेलन गर्ने मिति तय गरिएको थियो। यसैबाट नेपाल विद्यार्थी संघले औपचारिक जन्म पायो। जसले प्रजातन्त्र पुनर्वहाली, लोकतन्त्र र गणतन्त्र ल्याउँदासम्ममा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। 

त्यतिबेला नेविसंघले गरेको कार्यको वाहवाही पनि कम्ति भने भएको थिएन । पञ्चायती शासन विरुद्धको आन्दोलन चर्किँदै थियो भने सक्रिय भूमिगत राजनीतिमा रहेकाहरु विरुद्ध पञ्चायती सरकार पनि दिनप्रतिदिन आक्रामक बन्दै आएको थियो । २५ माघ २०३५ मा पञ्चायत व्यवस्थाले क्याप्टेन यज्ञबहादुर र भीमनारायणलाई फाँसी दिईसकेको थियो । यसबाट क्रान्तिकारी मनहरुमा ठूलो धक्का लागेको थियो । 

त्यस्तै, ललितपुरको नख्खु कारागारमा रहेका युवाहरु राम र लक्ष्मणलगायतलाई कारागार बाहिर भाग्न लगाएर पछाडिबाट गोली हानि मारियो । यसले झनै क्रान्तिकारीहरुमा नयाँ त्रासको सिर्जना भएको थियो । त्यति हुँदा पनि आफ्नो गन्तव्य नछोडेको नेविसंघले अन्ततस् पञ्चायती शासकहरुलाई घुँडा टेक्न बाध्य गराएर आफूले वाहवाही मात्रै कमाएनन् । विद्यार्थी आन्दोलनको शक्तिबारे समेत सबैलाई परिचित गराइदियो । 

२०२८ सालमा नयाँ शिक्षा नीतिको नाममा पञ्चायतले लागू गरेको राजारानी र पञ्चायतको स्तुति गाउने शिक्षा नीति विरुद्धको आन्दोलन, २०३२ सालको स्ववियू पुर्नस्थापनाको आन्दोलन, २०३६ सालको ऐतिहासिक विद्यार्थी आन्दोलन ने।वि। संघले नेतृत्व भएका प्रमुख शैक्षिक आन्दोलनहरु हुन् ।

विचरा भन्ने अवस्थामा नेविसंघ
तर, यस्तो इतिहास बोकेको नेविसंघ आजको दिनसम्म आईपुग्दा विचरा भन्नुपर्ने अवस्थामा आईपुगेको छ । अहिलेको नेविसंघ त्यतिबेलाको जस्तो शक्तिशाली नेविसंघ छैन । आन्तरिक द्वन्द्व, अक्षम नेतृत्व र विद्यार्थी नेताहरुमा विकास भएको चाकडीबाजका कारण अहिलेको नेविसंघ धेरै तल्लो स्तरमा गिरिसकेको छ । विपिन कोइरालादेखि नैनसिंह महरसम्मको समयमा आईपुग्दा नेविसंघको धरातल धेरै तल गिरिसकेको छ । त्यसैमाथि नेविसंंघमाथि पार्टी नेतृत्वले गरेको राजनीतिले पनि यसको भविष्यमाथि नराम्रो छाप छोडिदिएको छ । 

अहिले शिक्षामा भ्रष्टाचार छ । त्यो अन्त्य गर्ने भन्दा पनि विद्यार्थी नेताहरु मिलेमतो मार्फत् रकम असुली गरेर प्राज्ञिक क्षेत्रलाई नै दुषित बनाउने तर्फ केन्द्रीत छन् । त्यस्तो अवस्थामा नेविसंघ त्यसलाई अन्त्य गर्ने नभई उल्टै त्यसैमा संलग्न भएर आफैं बदनाम बन्न थालेको छ । पार्टीको गुटको फेरो समाएर केन्द्रीय नेताको चाकडीमा लिप्त रहेका विद्यार्थी नेताहरुले सहिलाई सहि र गलतलाई गलत भन्न सक्ने क्षमता गुमाईसकेका छन् । 

सुरुवाती समयको नेविसंघ नेतृत्व पार्टी नेतृत्वसँग राष्ट्रिय हित र पार्टीगत उन्नतीको लागि आँखामा आँखा जुधाएर बहस गर्नसक्ने क्षमताका थिए । योग्य नेतृत्वहरुको लागि विद्यार्थीहरु एकजुट हुन्थे र योग्यताले नै नेतृत्वको निर्धारण हुन्थ्यो । तर, अहिलेसम्म आईपुग्दा नेविसंघका नेताहरु आफ्नो योग्यताले भन्दा पनि गुट निर्माण र नेताको भक्तिमार्फत् नै नेतृत्वमा पुग्ने र केहीपनि उल्लेखनीय काम गर्नै नसक्ने अवस्थामा छन् ।

पार्टीकै कारण कोमामा 
नेतृत्वकै कारण यतिबेला काँग्रेसको ‘नर्सरीका फूलहरु’ सुकेका छन् । गत भदौमा हुनुपर्ने नेविसंघको महाधिवेशन दोस्रोपटक म्याद थप गर्दै पुस २८ मा तोकिएको थियो । तर तोकिएको मितिमा महाधिवेशन नहुने निश्चित भएपछि उपाध्यक्षद्वय पुष्पा शाही, विकास केसी, महामन्त्री सरोज थापासहित पदाधिकारी तथा केन्द्रीय सदस्य गरी एक दर्जन बढीले सभापति देउवालाई राजीनामा बुझाए ।  

भदौ २ गतेबाट समय थप गरेर कात्तिक २८ बाट महाधिवेशन सुरु हुने भनिएपनि तालिका सार्वजनिक भएपछि त्यो रोकियो । पुरानो विधान अनुसार तीन महिनामा महाधिवेशन गराउन नसके स्वतस् विघटन हुने प्रावधानलाई सच्याएर ३ देखि ५ महिनासम्म समय थप गर्न सक्ने उल्लेख गरियो । यसरी पटक पटक समय थप गरेपनि अहिले त यस विषयमा छलफल नै हुन छाडिसकेको छ । यसले विद्यार्थीहरुमा नेविसंघप्रतिको अपनत्व नहुने अवस्था सिर्जना भएको छ । यसले पनि नेविसंघ वाहवाहीबाट विचरा भन्नुपर्ने अवस्थामा आएको देखिन्छ ।

अहिले नेविसंघ पार्टीकै कारण कोमामा छ । पुरानो नेतृत्वलाई चुनाव गराउन नसकेको आरोप लगाउँदै पार्टी नेतृत्वले राजीनामा दिन बाध्य गराएपछि अहिले नेविसंघ नेतृत्व विहीन छ । गुटगत खिचातानीका कारण पार्टी नेतृत्वले समेत अहिले नेविसंघको नेतृत्व चयन गर्न सकेका छैनन् । जसले झण्डै आधा शतकको गर्विलो इतिहास बोकेको नेपाल विद्यार्थी संघ जिवित भएपनि मृतप्रायः भएर बसेको छ । 

पछिल्लो पटक भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा नेविसंघ दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ । यो पनि आपसी गुट र नेताहरुले गरेको कमजोर क्षमता प्रदर्शनकै कारणले हो । अहिले दुई तिहाई कम्युनिष्ट सत्ता भएको बेलामा विद्यार्थीको रुपमा नेविसंघले जति भूमिका निर्वाह गर्नुपर्ने थियो । त्यसमा नेविसंघले अलिकति पनि जिम्मेवारी पूरा गर्न सकेको छैन । 

प्रतिबन्धात्मक समयमा विद्यार्थीको रुपमा नै राजनीतिक एजेण्डा स्थापित गराउने उद्देश्यले खोलिएका यी संगठनहरुको विसं २०४७ सालमा प्रजातन्त्रको पुनस्र्थापनासँगै एजेण्डाहरु परिमार्जन भए । केन्द्रको राजनीति माउ पार्टीहरुले नै गर्ने भएपछि उनीहरुले शैक्षिक सुधारको क्षेत्रमा आफ्ना एजेण्डाहरु बोकेर अघि बढ्न थाले । तर, विद्यार्थी संगठनको राजनीतिले शैक्षिक सुधारका मुद्दाहरु अघि बढ्ने होईन कि बरु शैक्षिक क्षेत्रमा उच्छृङ्खलता सिर्जना हुन सुरु भयो। 

यसमा विद्यार्थी आन्दोलनको सुरुवातकर्ताको हिसावले नेविसंघले नै यसको रक्षा गर्नुपर्ने हो । तर, नेविसंघका विद्यार्थीहरु नै यस्तो उच्छृङ्खल कार्यमा सहभागी हुन थालेपछि विद्यार्थी आन्दोलन नै अहिले कमजोर अवस्थामा पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ