arrow

डीएनए दिवस मनाइयो : डीएनएको नालिबेली  

logo
प्रकाशित २०७६ वैशाख १२ बिहिबार
dna-2019.jpg

काठमाडौं। २५ अप्रिल दिन बिहीबार विश्व डीएनए दिवस मनाइन्छ। नेपालमा डीएनए दिवसको यो वर्षको नारा ‘संघीय गणतान्त्रिक नेपालमा जैविकि प्रविधिको प्रभाव’ राखिएको छ। यो यो वर्ष पनि बायो टेक्नोलोजी सोसाइटी अफ नेपालको नेतृत्वमा डिएनए डे मनाएको हो। आधुनिक जैविक प्रविधि विज्ञानमा संरचनाको आविष्कारलाई प्रमुख कोसेढुंगाको रूपमा लिइन्छ।

जैविक विज्ञानको इतिहासमा भएका यी महत्वपृ्र्ण उपलब्धिहरुको कदर गर्दै सन् २००८ देखि नै नेपालमा यो दिवस मनाउदै आएको बायो टेक्नोलोजी सोसाइटी अफ नेपालका अध्यक्ष नवीन नारायण मुनंकर्मीले जानकारी दिए। देश भित्र तथा बाहिर भएका वैज्ञानिक उपलब्धिहरुको बारेमा छलफल गर्ने उद्देश्यका साथ डीएनए डे मनाउने गरिएको सोसाइटीले जनाएको छ। 

डीएनए दिवसको अवसर पारेर नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नाष्टले भने अप्रिल २४ र २५ (बुधबार र बिहीबार) विशेष कार्यक्रम आयोजना गरेको छ। सन् १९५३ मा जेम्स वाट्सन, फान्सिस क्रिक, मराइस विल्किन्स, रोसालिण्ड फाङ्कलिन लगायतले नेचर पत्रिकामा डीएनए संरचनाको विषयमा पहिलो पटक लेख छपाएका थिए। त्यसपछि मात्रै डीएनको विषयमा चर्चा हुन थालेको हो।

जीव विज्ञानसँग सम्बन्धित डीएनएको संरचना कसरी विकास भएको छ भन्नेकुराको अध्ययन भएपछि नै पहिलो पटक अमेरिकामा सन् २००३ अप्रिल २५ देखि डीएनए मनाउन शुरु गरिएको हो। 

के हो डीएनए ? 
डीएनको पुरा रुप डिअक्सिराइबोन्यूक्लिक एसिड हो। यो यस्तो जटिल अणु हो, जसमा एउटा अंग बन्न आवश्यक सबै संरचना हुन्छन्। हरेक जीवित प्राणीको कोषमा डीएनए हुन्छ। डीएनएमा वंशाणुगत गुणहरू हुन्छन्। हरेक प्राणीका सन्तानमा यो सर्दै जान्छ। यसैकारण हत्या, बलात्कारजस्ता गम्भीर प्रकृतिका र जघन्य अपराधका अपराधी तथा शरीर नचिन्ने गरी भएका घटना दुर्घटनामा शव पहिचानका लागि डीएनए परीक्षण गर्ने गरिन्छ। 

प्राणीको शरीरमा वंशाणुगत गुण बोक्ने कोषहरूमा पाइने क्रोमोजोमहरू यसैबाट बनेका हुन्छन्। यी अणुले एउटा पुस्ताबाट अर्को पुस्ता उत्पादन गर्न डीएनएको महत्त्वपूर्ण भूमिका हुन्छ। बच्चा जन्मँदा उसको आकार, उचाइ, आँखा र शरीरका अगंहरू कस्ता हुने भन्ने कुरा डीएनएमा निर्भर रहन्छ। मानव शरीरमा रहेका क्रोमोजोमहरू कोषभित्र न्युक्लियसमा हुन्छन्। क्रोमोजोम चाहिँ प्रोटिन र डीएनएको अणुवाट बनेको हुन्छ। 

डीएनए परीक्षण 
नेपालमा सन् २००५ बाट भित्रिएको डीएनए परीक्षण प्रविधिबाट हाल विकसित देशहरूमा जत्तिकै नेपालमा पनि अत्याधुनिक तरिकाले परीक्षण हुने गरेको छ। हत्या, बलात्कारका घटना तथा वंश पहिचानका लागि समेत डीएनए परीक्षण हुने गरेको छ। यस्तै, शब पहिचान गर्न पनि डिएनए परीक्षणनै प्रभावकारी हुँदै आएको छ। मानव शरीरको हरेक कोषाणुमा डीएनए हुन्छ। सामान्यतया डीएनए कोषाणुमा पाइन्छ। माइटोकोन्ड्रियामा पनि यसको केही मात्रा हुन्छ। यस्तो डीएनए आधा आमा र आधा बुबाबाट सन्तानमा सर्ने गर्छ। 

यसकारण डीएनए प्राणी बनाउने मुख्य खाका हो। शरीर बन्नुपहिले खाका तयार तयार हुन्छ र त्यही अनुसारको संरचना बन्ने गर्छ। मानव शरीरमा २३ जोडी अर्थात् ४६ वटा क्रोमोजोम हुन्छन्। २३ वटा आमाबाट र २३ बुबाबाट आएका गरी मानिसको शरीरमा २३ जोडा क्रोमोजोम हुन्छन्। तर, हाम्रो यौन कोषाणु अर्थात् पुरुषको वीर्य र महिलाको डिम्बमा २३–२३ वटा मात्रै क्रोमोजोम हुने गर्छ।

महिला र पुरुषबाट आएका ती २३–२३ क्रोमोजोम मिलेर २३ जोडी क्रोमोजम बन्छ। महिला र पुरुषका २३–२३ क्रोमोजोममा १ देखि २३ सम्म क्रमैसँग उही जिनहरू हुन्छन्। महिला र पुरुषको २३–२३ क्रोमोजोम मिलेपछि बन्ने जिनले नयाँ सन्तानको जन्म दिन्छ। महिला र पुरुषबाट बराबर मात्रामा क्रोमोजोम आउने र त्यसको मिश्रण सन्तानमा पाइने हुँदा नै डीएनए परीक्षण गरेर आमाबुबाको पहिचान सहज भएको हो। 

कसैको आमा–बाबु पत्ता लगाउन पनि डीएनए परीक्षण गर्ने चलन विश्वभर छ। रगतको नमुना संकलन गरेर गरिने डीएनए परीक्षणको रिपोर्ट नेपालमा एक साताभित्रै आउँछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ