झाडापखाला नियन्त्रणमा आएन

प्रकाशित मिति : २०७६ बैशाख १३ शुक्रबार

तम्घास ।  गुल्मीको मुसिकोट नगरपालिका– ४ अन्तर्गत वडागाउँको दजाकोटमा दूषित पानीका कारण फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । उक्त गाउँमा पाँच किलोमिटर टाढाको टङ्कीमार्फत ८५ घरपरिवारलाई वितरण गरिँदै आएको पानी अचानक दूषित बनेका कारण गत आइतबारदेखि त्यहाँका स्थानीयमा झाडापखालाको लक्षण देखिएको थियो ।

स्थानीयवासीले उक्त पानी पिउँदै जान थालेपछि झाडापखालाले बिहीबार बेलुकीसम्म ९८ जना बिरामी परेकामा आज बिहानसम्म उक्त सङ्ख्या बढेर एक सय नाघेको स्थानीय जनप्रतिनिधि हरि छन्त्यालले जानकारी दिएका छन् । उक्त मुहानको पानी उमालेर खाँदा पनि मानिसमा बेहोस हुने, वाकवाकी लाग्ने, टाउको दुख्ने, पखाला लाग्ने र ज्वरो आउने जस्ता समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत महेश श्रेष्ठले जानकारी दिए ।

 बिरामी परेकामध्ये तीन जनाको गुल्मी अस्पताल तम्घास, एक जनाको बुटवलस्थित गौतमबुद्ध र अन्य केही व्यक्तिको सोही ठाउँमा सञ्चालन गरिएको अस्थायी स्वास्थ्य शिविरमा उपचार भइरहेको बताइएको छ ।  स्थानीयवासीले पानी उमालेर खाँदा पनि समस्या समाधान नभएपछि उक्त गाउँमा आजदेखि ट्याङ्करमा पानी बोकेर खानेपानी वितरण गर्न थालिएको छ ।

झाडापखालाको प्रकोप देखिएको उक्त ठाउँमा बिहीबार जिल्ला जनस्वास्थ्यको टोली पुगेर बिरामीको उपचार गरी स्थीति सामान्य बनेपछि  सदरमुकाम फर्किसकेको छ । प्रकोप क्षेत्रमा दूषित पानी पिएका कारण स्थानीय पशुपति निम्न माध्यमिक विद्यालयका केही विद्यार्थीसमेत बिरामी परेका छन् । विद्यार्थी बिरामी परेपछि उक्त विद्यालय समेत बन्द गरिएको छ । 

नयाँ