arrow

जलविद्युत् कम्पनी र काबेली इनर्जीबीच ऋण सम्झौतामा हस्ताक्षर

logo
प्रकाशित २०७२ चैत ५ शुक्रबार
Lallo-Modikhola-Hydropower.jpg.jpeg
काठमाडौँ, । जलविद्युत् लगानी तथा विकास कम्पनी र काबेली इनर्जीबीच काबेली जलविद्युत् आयोजना निर्माण गर्ने सम्बन्धमा वित्तीय सम्झौतामा हस्ताक्षर भएको छ । आज  आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियार र काबेली इनर्जीका तर्फबाट सञ्चालक विवेक गुप्ताले हस्ताक्षर गरे। 
 
काबेलीले निर्माण गर्न लागेको ३७.६ मेगावाट क्षमताको सो आयोजनामा विश्व बैंकले रु चार अर्ब लगानी गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा नेपाल सरकार र बैंकबीच २०७१ साल मङ्सिर ८ गते नै हस्ताक्षर भइसकेको छ । नेपाल सरकारले उक्त बैंकसँग रकम लिएर काबेली इनर्जीलाई प्रदान गर्ने प्रावधानबमोजिम आज जलविद्युत् कम्पनीले वित्तीय सम्झौता गरेको हो । 
 
उक्त आयोजनाको लागि अन्तर्राष्ट्रिय वित्तनिगम (आइएफसी)सँग यसअघि नै ऋण सम्झौता भइसकेको छ । उक्त सम्झौताअनुसार प्राप्त हुने रु तीन अर्ब ८६ करोडसहित विश्व बैंक समूहबाट उक्त आयोजनाको लागि रु सात अर्ब ८६ करोड ऋण प्राप्त हुने काबेली इनर्जीले आज जारी गरेको विज्ञप्तिमा जनाएको छ । 
 
सो आयोजनाको लागत रु नौ अर्ब ९५ करोड रहेको छ । विद्युत् खरिद बिक्री सम्झौतामा आयोजना र नेपाल विद्युत् प्राधिकरणबीच २०७२ साल असोज ७ गते हस्ताक्षर भइसकेको छ । आयोजना निर्माणको लागि सिभिल तथा हाइड्रोमेकानिकल ठेकेदार नियुक्ति भइसकेका छन् भने इलेक्ट्रोमेकानिकल ठेकेदार नियुक्तिको प्रक्रिया अघि बढिसकेको आयोजनाले जनाएको छ । आयोजना पूर्वी नेपालको ताप्लेजुङ र पाँचथर जिल्लामा पर्दछ । उत्पादित विद्युतलाई ८० किमी लामो १३२ केभी प्रसारण लाइनबाट दमक सवस्टेसनमा जोडिनेछ । सो आयोजना २०७५ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ