arrow

संसदको बर्खे अधिवेशन सुरु हुँदै :  बाँकी रहेका २१ विधेयकको प्रक्रिया पनि अघि बढ्दै 

logo
प्रकाशित २०७६ वैशाख १६ सोमबार
parlinment-union.png

काठमाडौं। संसदको बर्खे अधिवेशन सोमबारदेखि सुरु हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको संसदको बर्खे अधिवेशनको पहिलो बैठक दिउँसो ४ बजेका तोकिएको छ। सोमबारको पहिलो बैठकमा राष्ट्रपतिबाट अधिवेशन बोलाएको सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूचि छ।

यो अधिवेशनले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेट ल्याउने छ। अधिवेशनमा विशेष गरि नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल हुनेछ। आजदेखि सुरु हुने बर्खे अधिवेशन सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस, बजेट प्रस्तुत तथा संविधान कार्यान्वयनका कानुन निर्माणमा केन्द्रित हुनेछ।

तेस्रो अधिवेशन अन्त्य भएको एक महिनापछि चौथो अधिवेशन आह्वान गरिएको हो। चालु अधिवेशन सरकारका वार्षिक कार्यक्रम र कानुन निर्माणमा केन्द्रित हुनेछ। यस्तै हिउँदे अधिवेशनपछि निधन भएका तीन पूर्व सांसदप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूचि पनि रहेको छ। सोमबारको बैठकमा दुवै सदनमा सत्तारुढ र विपक्षी दलका नेताले सम्बोधन गर्ने सम्भावना पनि छ।

यस्तै, विचाराधीन विधेयकलाई प्राथमिकताका आधारमा विभिन्न प्रस्तावमा छलफल गरी  निरन्तर अगाडि बढाइने संसद सचिवालयले जनाएको छ। अधिवेशनमा सरकारको कार्यक्रम नै प्रमुख रहनेछ। नीति तथा कार्यक्रमका लागि वैशाख २० गतेको समय तय भइसकेको छ। यो पटक नीति तथा कार्यक्रमपछि प्रि बजेट छलफल हुनेछ। यसअघि प्रिबजेट छलफलपछि मात्र नीति कार्यक्रम पेस हुने गरेको थियो। संसद्को चौथो अधिवेशनका लागि प्रतिनिधिसभामा कूल २७ विधेयक प्रस्तुत गर्ने तयारी भएको छ। 

प्रतिनिधिसभाको विधेयक शाखामा दुई विधेयक चौथो अधिवेशनका लागि दर्ता भएको छ। आजदेखि शुरु हुने संसद्को चौथो अधिवेशनका लागि औद्योगिक व्यवसाय र राष्ट्रिय मानव अधिकार आयोग (पहिलो संशोधन) विधेयक दर्ता भएको छ।  दुवै विधेयक वैशाख १० गते विधेयक शाखामा दर्ता भएको हो। दोस्रो अधिवेशनमा दर्ता भएका चार र तेस्रो अधिवेशनका २१ गरी २५ विधेयक पनि चौथो अधिवेशनमा प्रस्तुत हुने तयारी छ। दोस्रो अधिवेशनकै क्रममा दर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन), बीमा, प्रशासकीय अदालत र राहदानी विधेयक पनि प्रस्तुत गर्ने तयारी भएको छ।

बाँकी रहेका २१ विधेयकको प्रक्रिया पनि अघि बढ्दै 
तेस्रो अधिवेशनका क्रममा बाँकी रहेका २१ विधेयकको प्रक्रिया पनि यसपटक अघि बढाइँदैछ। यसमध्ये चार विधेयक राष्ट्रियसभामा उत्पन्न भएका हुन्। चौथो अधिवेशनका २७ विधेयकमध्ये ११ विधेयक वितरण गरिएको, १० वटा सम्बन्धित समितिमा विचाराधीन, तीन विधेयकसभाको पूर्ण बैठकका लागि प्रस्तुत भएको, राष्ट्रियसभामा पारित भई प्रतिनिधिसभामा सन्देशको जानकारी भएका दुई र सभामा उत्पन्न भई राष्ट्रियसभामा पठाइएको विधेयक सङ्ख्या एक छ।

यसैगरी राष्ट्रियसभामा आठ विधेयक प्रस्तुतिको तयारी छ। चार विधेयक राष्ट्रियसभामै उत्पन्न भएका हुन्। सभामै उत्पन्न भएका विधेयकमा विज्ञापन नियमन, ज्येष्ठ नागरिक (पहिलो संशोधन), नागरिक लगानी कोष र प्रशासकीय अदालतसम्बन्धी विधेयक छन्। यसैगरी राष्ट्रियसभामा तेस्रो अधिवेशन समापनका दिन गएको  चैत १० गते दर्ता भएको प्रमाण र सङ्घ, प्रदेश र स्थानीय तह (अन्तर सम्बन्ध व्यवस्थापन) विधेयक रहेको राष्ट्रियसभाको विधि व्यवस्थापन महाशाखाले जनाएको छ। यसैगरी, राष्ट्रियसभामा विचाराधीन अवस्थामा रहेका दुई विधेयक छन्। खेलकूद विधेयक विधायन व्यवस्थापन समितिमा विचाराधीन छ।

यसैगरी, प्रतिनिधिसभाबाट पारित भई आएको राहदानी विधेयक विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सभामै विचाराधीन अवस्थामा रहेको छ।  मन्त्रिपरिषद्ले संसदमा लैजान स्वीकृति दिएपछि विषयगत मन्त्रालयले नै संसद सचिवालयमा विधेयक दर्ता गर्छ। संसदमा  दर्ता भई हाल विचाराधीन अवस्थामा रहेका विधेयकको संख्या ३० रहेको मन्त्रालयले जनाएको छ। संसद्को गएको हिउदे अधिवेशनले १४ विधेयक पारित गरेको थियो। हिउँदे अधिवेशनमा संसदमा दर्ता भएका विधेयक पनि ३० नै थिए।  २०७२ साल  असोज ३ गते संविधान जारी भएपछि १२७ ऐन बनिसकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ