arrow

‘कप्स’ मार्फत प्रहरीको शाख जोगाउन खोज्दै सम्राट सापकोटा [भिडियोसहित]

logo
प्रकाशित २०७६ वैशाख १६ सोमबार
cops.JPG

काठमाडौं । नेपाल प्रहरी जनताको पहुँचमा रहेको सुरक्षा निकाय मानिन्छ । दुःख सुखमा प्रहरी साथ हुन्छ पनि भनिन्छ । तर प्रहरीले जसरी भूमिका खेल्नुपर्ने थियो त्यस्तो खेल्न नसकेको भन्दै आलोचना पनि हुँदै आएको छ । 

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुग्न लाग्दा समेत अपराधीलाई कार्वाही नगरेको भन्दै प्रहरीमाथि शंका–आशंका भइरहेको छ । त्यसो त प्रहरीले आफ्नो शाख जोगाउन प्रयास गरिरहेको छ । 

‘हरप्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्दै नेपाल प्रहरीले शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रमसमेत ल्याएको छ । 

प्रहरीको यही साखलाई जोगाउने प्रयास देखिएको नेपाली चलचित्र ‘कप्स’ प्रदर्शनको तयारीमा रहेको छ । नाट्यक्षेत्रबाट लामो समयदेखि सिने क्षेत्रमा रमाइरहेका अभिनेता सम्राट सापकोटा निर्देशित चलचित्र  ‘कप्स ‘ को अफिसियल ट्रेलरसमेत सार्वजनिक भएको छ । 

युट्युवमार्फत सार्वजनिक भएको ट्रेलरमा प्रहरीलाई सशक्त देखाइएको छ । नेताहरुको इशारामा चल्ने प्रहरी देखाइएको छैन ।

सम्राट आफैले प्रहरीलाई बर्दीका नागरिक र नागरिकलाई बिना बर्दीका प्रहरी भन्दै संगसंगै हिँड्न सकेमात्र शान्तिपूर्ण एवं सुरक्षित समाज निर्माण गर्न सकिने स्वर भरेका छन् । 

ट्रेलरमा प्रायः भिलेनको भूमिकामा देखिने अनुपबिक्रम शाही प्रहरी अधिकृतको भूमिकामा छन् । यसै चलचित्रमार्फत डेब्यु गरेकी सन्दिपा लिम्बुले शाहीलाई कम्पनी दिएकी छिन् ।

एक्सन, प्रेम र सामाजिक सन्देशले भरिपूर्ण ट्रेलरमा अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी लगायतका कलाकारलाई देख्न सकिन्छ । 

लेखनसमेत आफ्नै रहेको चलचित्र जेठ १७ गते देशव्यापी प्रदर्शनमा आउन लागेको निर्देशक सापकोटाले जानकारी दिए ।

चलचित्र सुसन प्रजापतिले खिचेका हुन् । राम शाक्यले निर्माण गरेको चलचित्रमा संगीत बिजय घिमिरेको, कोरियोग्राफी कविराज गहतराजको र सम्पादन बिपिन मल्लको रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ