arrow

चीनको ‘फाइभ जी’ विस्तार बारे हतारमा निर्णय नलिन अमेरिकाको आग्रह

logo
प्रकाशित २०७६ वैशाख २० शुक्रबार
5g-city-future.jpg

अमेरिका । संयुक्त राज्य अमेरिकाले ‘फाइभ जी’ विस्तर बारे हतारमा निर्णय नलिन इयू सदस्य राष्ट्रलाई आग्रह गरेको छ ।  यूरोपेली संघ अन्तर्गतका सदस्य राष्ट्रलाई संयुक्त राज्य अमेरिकाले आफूसँग विचार मिल्ने सरकारहरूलाई चीनको ‘फाइभ जी’ नेटवर्क सुरक्षाका विषयमा सावधानी अपनाउँदै समन्वय गरेर अघि बढ्न बिहीबार आग्रह गरेको छ ।

चिनियाँ टेलिकम कम्पनी हुवावेले प्रस्ताव गरेको ‘फाइभ जी’ नेटवर्क प्रणालीमा अमेरिका, कतिपय यूरोपेली राष्ट्रहरूलगायत विश्व समुदायले सुरक्षा चासो व्यक्त गरेको छ भने कतिपय मुलुकले चीनको उक्त अत्याधुनिक प्रविधिलाई अपनाउन सहमति जनाएका छन् ।

“विचार मिल्ने मुलुकहरूसँगको नेतृत्वसँग मात्र हामीले सुरक्षित तथा विश्वासिलो फाइभ जी संरचनालाई विकसित गर्न वा अपनाउन सक्छौँ,” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका साइबर सुरक्षा सहयोगी जोसुवा स्टेनम्यानले भने।

सूचना तथा सञ्चार प्रविधि सेवा प्रदायकसँग सहकार्य गर्दा यसबाट राष्ट्रिय सुरक्षामा देखिनसक्ने समस्याप्रति सबै समयमै सजग हुनुपर्ने चेक गणतन्त्रको राजधानी प्रागमा भइरहेको सम्मेलनमा उनले बताए ।

उनले भने, “फाइभ जी नेटवर्कको सेवा तथा सुविधाका लागि काम अघि बढाउनुपूर्व उपलब्ध प्रबिधिबारे राम्रो ज्ञान लिने यस सेवाको विकल्पबारे पनि सोच्नुपर्ने हुन्छ र हामीलाई विश्वास छ संघ अन्तर्गतका अमेरिकासँग सहकार्य गर्दै आएका सदस्य राष्ट्रका सरकारले यसबारे सावधानीपूर्वक निर्णय लिनेछन् ।”

अमेरिकाले सञ्चार जगतमा जासुसी गरी संवेदनशील आधारभूत संरचनामाथि पहुँच पुर्‍याउनसक्ने भन्दै हुवावेका सामग्रीको खरिदमा प्रतिवन्ध लगाएको छ ।

तर चिनियाँ प्रबिधिको सहज तथा सुलभ उपलब्धताका कारण हुवावेद्वारा विकसित फाइभ जी नेटवर्कलाई कतिपय यूरोपेली मुलुकलगायत विश्वका अन्य क्षेत्रमा प्रयोगका लागि तत्परता देखाइरहेका छन् भने कतिपयले सेवाका लागि आवश्यक प्रक्रिया पूरा गरिसकेका छन् ।

फाइभ–जी नेटवर्क पाचौँ पीढीको अत्याधुनिक मोबाइल प्रविधि हो जसलाई कलकारखानादेखि सवारी साधन समेतको गति बढाउन प्रयोग गर्न सकिनेछ । यस्तोमा हुवावे र जेट्टीइ लगायतका चिनियाँ कम्पनीले यो प्रविधि आफ्नो नियन्त्रणमा लिए व्यापारिक लगायत विभिन्न क्षेत्रमा अनुचित फाइदा उठाउन सक्ने अमेरिकाको बुझाई छ ।

त्यसैले पनि वासिङटनले पहिले नै हुवावेलाई आफ्नो सरकार र कन्ट्राक्टरहरुसँग सम्पर्क राख्न प्रतिबन्धित गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ