arrow

'प्रदेश १ को नामकरण कोशीमात्रै भए तुरुन्तै विद्रोह’

logo
प्रकाशित २०७६ वैशाख २० शुक्रबार
diwas-rai-province1.jpg

काठमाडौं । किरात राई यायोक्खाले प्रदेश नम्बर १ को नाम ‘कोशी’ राखिए विद्रोह हुने चेतावनी दिएको छ । यायोक्खा अध्यक्ष दिवस राईले एकल ‘कोशी’ स्वीकार्य नहुनुको साथै विद्रोहको स्थिति सिर्जना हुने बताए ।  प्रदेश नम्बर १ को नामको सन्दर्भमा शुक्रबार नेकपा नेतृत्वले ह्वीप जारी गरी ‘कोशी’ राख्न दबाब दिएसँगै यायोक्खा अध्यक्षबाट यस्तो धारणा आएको हो ।

दसकौंदेखि किरात प्रदेशको अभियानमा रहेको यायोक्खाले प्रदेश नम्बर १ को नाम ‘कोशी–किरात’ वा ‘सगरमाथा–किरात’ स्वीकार्न सक्ने तर ‘कोशी’मात्रै आए विद्रोह सुरु हुने बताएको छ । ‘कोशी प्रदेशमात्रै कुनैपनि हालतमा स्वीकार्य हुँदैन’, यायोक्खा केन्द्रीय अध्यक्ष राईले भने, ‘हामी तुरुन्तै विद्रोहको वातावरण बनाउँछौं ।’

उनका अनुसार नेकपाभित्रै पनि अझै ४५ बढी सांसद् ‘कोशी–किरात’को पक्षमा रहेका छन् । ‘उनीहरुको आवाजलाई नियन्त्रण गरिए तुरुन्तै विद्रोह हुन्छ’, राईले थपे ।  

प्रदेश नम्बर १ को नामको सन्दर्भमा गत बुधबारदेखि नेकपाको प्रदेश संसदीय दलमा छलफल चलिरहेको छ । तर, संसदीय दलले यस विषयमा टुंगो लगाउन नसकेपछि नेकपा नेतृत्वबाट ह्वीप जारी गरिएको छ ।

प्रदेश नम्बर १ मा नेकपाको बहुमत रहेका कारण पनि उसले के निर्णय लिन्छ, त्यो सर्वत्र चासोको विषय बनेको छ । यसैले कांग्रेसको प्रदेश संसदीय दलले समेत कुनै निर्णय लिन नलिई ‘पर्ख र हेर’को स्थितिमा छ । तर, यायोक्खाले चुनावका बेला गरेको प्रतिबद्धता नभुल्नसमेत जनप्रतिनिधिलाई आग्रह गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ