arrow

कब्जामा परेको सरकारी जग्गा एक वर्षभित्र फिर्ता गरिने

logo
प्रकाशित २०७६ वैशाख २० शुक्रबार

काठमाडौं । सरकारले आगामी एक वर्ष भित्र कब्जामा परेका सबै सरकारी जग्गा फिर्ता गर्ने घोषणा गरेको छ । शुक्रबार राष्ट्रपतिले संघीय संसदमा पेश गरेको आर्थिक वर्ष २०७६/७७ को वार्षिक नीति तथा कार्यक्रममा कब्जामा परेका सरकारी जग्गालाई एक वर्ष भित्र फिर्ता गर्ने उल्लेख गरिएको छ । 

पछिल्लो समय प्रधानमन्त्री र प्रधानन्यायाधीश निवास नजिकैको सरकारी जग्गा हडपिएको विषयमा चर्चा चलिरहँदा सरकारले भने यस्तो नीति ल्याएको हो । सरकारले यसरी सरकारी जग्गा हडप्ने काममा संलग्न रहेकाहरुलाई कारबाही गर्ने समेत उल्लेख गरेको छ । 

त्यस्तै, सरकारले सामाजिक सुरक्षा भत्ता बृद्धि गर्ने घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्तामा बृद्धि गरिने उल्लेख गरिएको हो । यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले बृद्धभत्ता बढ्ने स्पष्ट रुपमा बताईसकेका थिए । सोही विषय सरकारको नीति तथा कार्यक्रममा पनि समेटिएको हो । 

साथै, योगदानमा आधारित सामाजिक सुरक्षा योजना साउन १ गतेदेखि प्रभावकारी रुपमा लागू गरिने सरकारले जनाएको छ । म्रसिरमा सुरु गरेको सो योजनालाई बैशाख १५ गतेसम्म सबै संस्थाहरुले सूचीकृत भईसक्नुपर्ने भनिएको भएपनि सो योजनामा एकदमै न्यून सहभागिता भएपछि सरकारले असार मसान्तसम्म योजनामा सूचीकृत हुने समय दिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ