arrow

आइसीटी विज्ञ आनन्दराज खनालको फेरिदैँ परिचय, ल्याए गीति संग्रह 'तिम्रो साथ'

logo
प्रकाशित २०७६ वैशाख २२ आइतबार
ananda-raj-khanel-albumb.jpg

काठमाडौं। नेपाल टेलिभिजनको एक कार्यक्रमबाट गीतकार आनन्द राज खनालको गीतिसंग्रह "तिम्रो साथ" को शनिवार विमोचन भएको छ। आइटी विज्ञको रुपमा देश तथा अन्तराष्ट्रिय मञ्चहरुमा समेत नाम कमाइसकेका खनालको यो पहिलो गीति संग्रह हो।

नेपाल सरकारका पूर्व सचिव तथा निवार्चन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया, वरिष्ठ गीतकार प्राध्यापक डा. कृष्णहरि बराल, वरिष्ठ संगीतकार तथा रोयल्टी संकलन समाज नेपालका अध्यक्ष महेश खड्का बिमोचन कार्यक्रममा उपस्थिति रहेको थिए। त्यसैगरी स्वर र संगीत दिएका श्रष्टाहरू संगीता राना प्रधान, सरिता मिश्र, आशिष अविरल, भरत सिटौला र बानिका प्रधान समेत गीति संग्रहमा उपस्थित थिए।

तनहुँ जिल्लाको दमौलीमा जन्मे हुर्केका खनाल बिद्यालय पढ्दा कहिल्यै दोस्रो भएनन्। आइ एस्सीमा बोर्ड फिफ्थ। घरमा भएको सानो रेडियोबाट मान्छेको आवाज कसरी आउँछ ? टेलिभिजनमा मान्छे नै देखिने गरि श्रव्यदृष्य सामाग्री कसरी आउँछ ?  टेलिफोनमा मान्छेले कुरा गरेको त्यति टाढा कसरी सुनिन्छ ? जस्ता प्रश्नले उनको मथिङ्गल हल्लियो।

पछि थाहा पाए त्यो बुझ्न र त्यस्तै बनाउने जान्न ईलेक्ट्रोनिक्स कम्युनिकेसन इन्जिनियरिङ्ग पढ्नु पर्छ। उनको मनमा त्यो कुरा गहिरो गरि बस्यो। पाकिस्तान सरकारको छात्रवृत्ति पाएर पहिला उनी पाकिस्तान गए। बीच मै छाडेर कोलम्बो प्लानको छात्रवृत्तिमा ईलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ पढ्न उनी भारतको कर्नाटा तिर हानिए। 

अध्यापन उनको रुचि र अनुरागको विषय थियो। सन् १९९६ मा स्नातक गरेका खनालले काठमाडौ विश्वविद्यालयमा अध्यापन शुरु गरे। काठमाडौ विश्वविद्यालय कै छात्रवृत्ति पाएर अन्ना विश्वविद्यालय  चेन्नईबाट अप्टिकल कम्युनिकेसनमा स्नातकोत्तर गरे। कानुनकोमा रुची बढेसगै स्नातक (एल एल बी) मा गरे, त्यसमा पनि खनाल गोल्ड मेडलिस्ट भए।

सन् १९९७ देखि विश्वविद्यालयहरुमा निरन्तर अध्यापनमा संलग्न खनाल हाल नेपाल दूरसंचार प्राधिकरणमा वरिष्ठ निर्देशक हुन्। उनी सूचना तथा संचार प्रविधि क्षेत्रमा नीति, कानुन, नियमन (प्रारुप निर्माण, समग्र सामाजिक आर्थिक विकासका लागि प्रविधिको प्रयोगको क्षेत्रमा राष्ट्रिय, क्षेत्रीय र अन्तरास्ट्रिय मञ्चहरुमा क्रियाशील छन्। कामको शिलशिलामा धेरै मुलुकमा भएका कार्यक्रममा उनले कार्यपत्रहरु प्रस्तुत गर्दै आएका छन्।

उनको दक्षता,विज्ञता साथै यस क्षेत्रको समग्र विकास प्रतिको लगन,प्रतिबद्धता र योगदानलाई कदर गर्दै विश्व दुरसंचार विकास सम्मेलनले उनलाई सन् २०१४ मा अन्तर्राष्ट्रिय दूरसंचार संघको विकास व्युरो अन्तरगत अध्ययन समुहको उपाध्यक्षमा चुन्यो, सन् २०१७ मा त्यसै पदमा उनी पुन छानिए। उनलाई संयुक्त राष्ट्र संघका महासचिवले सन् २०१९ का लागि ईन्टरनेट गभर्नेन्स फोरमको बहु सरोकारवाला समुहको सदस्यको रुपमा समेत नियुक्त गरेसगै अन्तराष्ट्रिय स्तरमा उनको उचाई थप बढ्यो।

विभिन्न सदगुरुहरुबाट ध्यान र अध्यात्म सिकेका खनाल पछिल्लो समयमा बौद्धिक र मानसिक रुपमा काम,क्रोध,लोभ, मोह, मद ,मात्सर्य जस्ता मानवीय गुणबाट पार नपाउँदासम्म आँखा चिम्लेर ध्यान गर्नुको अर्थ नभएको निष्कर्षमा पुगेको छन। खनालकोका सुचना तथा संचार प्रविधि, पूर्वीय दर्शन र अध्यात्म जस्ता  विषयमा धेरै लेख रचनाहरु समेत प्रकाशित छन्। उनले गीत लेख्न थालेको भने धेरै भएको छैन।

करिब दुई वर्ष अघिदेखि मात्र उनको यस क्षेत्रमा प्रवेश भएको हो। प्राध्यापक डाक्टर कृष्ण हरि बराल लिखित –“गीत कसरी लेख्ने” पुस्तक प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीबाट किनेर पढेसगै लेख्न हौसिएका खनालले आशिष अविरलले संगीत गरेको पहिलो गीत “तिमीलाई मन पराएँ” रेकर्ड भए पछि पछाडि फर्केर हेर्नुपरेको छैन।

यस गीति संग्रहमा तिमीलाई मन पराएँ, बोल्न मन लाग्दो रैछ, सम्झनामा नआऊ तिमी जस्ता गीतहरुमा महिला तथा पुरुष दुबैको आवाजमा मनै लोभ्याउने गरि प्रस्तुत गरिएका छन्। पाँच वटा गीत रहेको सो संग्रहको बजार व्यवस्थापन बिन्दवासिनी म्युजिक प्रा. लिले गरेको छ। सिक्दै, लेख्दै गर्दा २०० भन्दा बढी गीत रचना गरी सकेका खनालको यो पहिलो गीति संग्रह हो।

यस संग्रहमा उनको पूर्ण आस्था र प्रेममा समर्पित गीत झल्काउने खालको प्रस्तुति देखिन्छ। कयौं श्रोताले उनका गीतमा आफ्नो अनुभुति समेटिएको अनुभव गरेका छन्। यी गीतका शब्द, संगीत र गायनबाट गीतकारको पहिलो गीति संग्रह हो भनेर पत्यार नलाग्न सक्छ। यस अर्थमा गीतकार सफल देखिन्छन्।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ