arrow

आईन्सटाईनलाई सम्झदै गगनले भने ‘नीति तथा कार्यक्रम अल्मिलिएको निबन्ध जस्तो'

समृद्ध नेपाल सुखी नेपाली हैन समृद्ध दमक सुखी केपी ओली नारा बनाउन सुझाव

logo
प्रकाशित २०७६ वैशाख २३ सोमबार
gagan_parliament.jpg

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले सरकारको नीति तथा कार्यक्रम अल्मलिएको निबन्ध जस्तो रहेको बताएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै नेता थापाले आत्मप्रशंसा, झुट र भ्रामक विवरणहरु राखेर ल्याईएको नीति तथा कार्यक्रमका पहिलो ४० बुँदालाई पुष्टि गर्ने कुनैपनि आधार नरहेको आरोप पनि लगाएका छन् ।  

संसदमा बोल्दै नेता थापाले नारा नीति सबैलाई एउटै ढर्रामा मिसमास गराएर ल्याएको नीति तथा कार्यक्रमहरु परम्परागत शैलीको भन्दा फरक नरहेको बताए । यो पुरातन ढर्रालाई बदल्ने अवसर दुई तिहाईको स्थिर सरकारले पाएको भएपनि त्यसको सदुपयोग गर्न अहिलेको सरकार सफल नभएको उनको आरोप छ । उल्टै पहिलेकोले गर्न हुन्छ हामीले गर्न नहुने ? भन्दै सरकारले गरेको प्रश्नलाई नेता थापाले आइन्सटाईनले भनेको ‘एउटै काम पटक पटक दोहोर्याएर परिणाम फरक आउछ भन्नु मुर्खता हो ।’ भन्ने उक्ति स्मरण गर्दै सरकारले मुर्खतामा पनि गौरव गरेको बताए । 

सरकारको नीति तथा कार्यक्रममा समेटिएको आत्मप्रशंसाका ४० बुँदामा कपट, झुठ र भ्रामक तथ्यहरु समेटिएको उनले दाबी गरे। नेता थापाले भने ‘संक्रमणकालीन मुद्दाहरु झनै पेचिलो बन्दै गएको बेलामा सरकार भन्छ शान्तिप्रक्रियाका सबै काम टुङ्गिएको छ, यो वर्ष कार्यपालिकाले न्यायपालिकादेखि मानवअधिकार आयोग हुँदै अख्तियारसम्म सबैलाई पेलपाल गर्‍यो । तर दाबी भने शक्ति सन्तुलन र संविधानको परिपालनमा यो वर्ष उत्कृष्ठ रह्यो भन्ने गर्छ सरकार । यो भन्दा ठूलो झुठ र भ्रम के हुन सक्छ ?’  

सरकारमै सहभागी दल संविधान संशोधन नभए सरकार छाड्छु भनिरहेको बेलामा सरकार भने संविधानसँग जोडिएका सबै मुद्दाहरु टुंगिएको दाबी गरेको प्रति पनि नेता थापाले टिप्पणी गरेका छन् । अर्थतन्त्रलाई गतिशिल बनाएको सार्वजनिक प्रशासनलाई विकास मैत्री बनाएको, पहिलो पटक इष्टिमर बनाएको जस्ता झुठा मुद्दाहरु सगै यो वर्ष एकदमै उपलब्धीमूलक वर्ष रह्यो भनेर सरकारले झुठलाई दाबी गरेको आरोप पनि थापाको छ । 

‘नीति तथा कार्यक्रमको पहिलो ४० बुँदामा जालझेलपूर्ण विषय समेटिएकोले बाँकी रहेको १७१ बुँदामा पनि गोलमाल भएको उनको दाबी छ । काहिँ नीति छ कार्यक्रम छैन । काहिँ कार्यक्रम छ नीति छैन ।’ उनले भने ‘भर्खरैमात्रै अन्तराष्ट्रिय मुद्राकोषले वित्तीय र मौद्रिक विस्तृतीकरणको नीतिलाई कम नगर्ने हो भने नेपाल ठूलो जोखिममा पर्ने सूचना दिएको छ । यस्तो अवस्थामा तलबभत्तामा जाने रकम समेत व्यवस्थापन गरेर कम गराउनु पर्नेमा सरकार दीर्घकालीन खर्च बढाउने खालका योजनाहरु थप्छ । स्रोत कहाँबाट जुटाउने केही पनि थाहा छैन ।’ 

८ प्रतिशत बृद्धिको लक्ष्य पुरा नभएकोप्रति समीक्षा नगरेको र प्रक्रियागत एवं संरचनागत समस्याहरुलाई सम्बोधन गर्न सरकारले केही पनि नगरेको आरोप पनि उनको छ। सरकार आफ्नो खर्च गर्न नसक्ने र नीति क्षेत्रलाई समेत उदासिन बनाएको बेलामा रोजगारी कहाँबाट सिर्जना गर्ने भन्दै उनले सरकारसँग प्रश्न गरेका छन् । सरकारलाई अहिलेसम्म आधारभूत स्वास्थ्य सेवा र स्वास्थ्य बीमाको फरक समेत थाहा नभएको आरोप उनको छ ।

नेता थापाले विसंगती र असंवैधानिक कामलाई उपलब्धीको रुपमा देखाएको सरकारले के आगामी वर्ष पनि अहिले जस्तै संसदलाई निर्देशन दिने, न्यायपालिका, मानवअधिकार आयोगदेखि अख्तियारसम्मका संवैधानिक निकायहरुलाई उथलपुथल बनाउने जस्ता काम फेरि दोहोर्याउँछ ? भन्दै सरकारसँग जवाफ माग गरेका छन् । 

केही समय अघि दमकका विभिन्न योजनाहरु पार्नको लागि पत्रै लेखेर दिएको दबाबमाथि टिप्पणी गर्दै थापाले प्रधानमन्त्री ओलीले सुखी नेपाली समृद्ध नेपालको नारा परिवर्तन गरी सुखी दमकबासी समृद्ध केपी ओली राख्न सुझाव पनि दिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ