arrow

वर्तमान सरकार सबै नेपालीको सरकार हो : महामन्त्री कोइराला

logo
प्रकाशित २०७६ वैशाख २३ सोमबार
sasanka-koirala-parliament.jpg

काठमाडौं ।  संघीय संसद्मा गत शुक्रबार प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रमको सत्तापक्षबाट बचाउ र प्रतिपक्षबाट विरोध गर्नेक्रम जारी छ । उक्त नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा सोमबार भएको छलफलमा सत्ता पक्षका सांसदहरुले नीति तथा कार्यक्रमको बचाउ गर्दै समर्थन गरे भने प्रतिपक्ष सांसदले आलोचना गरे ।

सोही क्रममा नेपाली कांग्रेसका महामन्त्री एवं सांसद शशांक कोइरालाले वर्तमान सरकार राष्ट्रपतिको मात्र सरकार नभई सबै नेपालीको सरकार भएको जनाउँदै नीति तथा कार्यक्रम सम्बोधनका क्रममा प्रयोग भएको शब्दप्रति असहमत जनाए ।

उनले भने, “वर्तमान सरकार कुनै व्यक्तिको सरकार होइन, न त राष्ट्रपतिज्यूले भन्नु भए जस्तो उहाँकै सरकार हो, संघीय गणतन्त्र नेपालले शुरु गरेको परम्परा नै हाम्रा लागि परिवर्तनलाई आत्मसात् गरिएको गौरवमय परम्परा हो ।”

नीति तथा कार्यक्रममा उल्लेख गरिएको समयावधिभित्र पाँच लाख रोजगारी उपलब्ध गराउने, सबै नेपालीको बीमा गर्ने, रेल चलाउने तथा पानीजहाज चलाउने कुरा पत्याउनै नसक्ने बताउँदै उनले नीति तथा कार्यक्रम दलगत स्वार्थका आधारमा आएको छ भने ।

नेकपाका नेता एवं सांसद योगेश भट्टराईले  विचार, राजनीतिक फरक छन् भने विचार फरक आउनुलाई अन्यथारुपमा लिन आवश्यक नरहेको बताए । ‘‘नेपालले आफ्नो परराष्ट्र नीतिलाई सगौरव उचाइमा पुर्‍याएको छ, विगतको वर्षलाई आधार वर्षका रुपमा लिएर आएको नीति तथा कार्यक्रममार्फत विकास र समृद्धिको जहाजले ‘टेकअफ’ गर्नेछ, प्रतिपक्षलाई त्यो जहाजमा ढुक्कसँग यात्र गर्न म आग्रह गर्दछु’’, उनले भने ।
 
नेता भट्टराईले भने, “नीति तथा कार्यक्रमले समाजवादको आधार तयार गर्ने लक्ष्य राखेको छ, अब हामीले  सुशासनको पक्षलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।” सोही पार्टीका सोमप्रसाद पाण्डेले यो नीति तथा कार्यक्रमले ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मार्ग प्रशस्त गरेको बताए ।
 
नेपाली कांग्रेसका सांसद चित्रलेखा यादवले भने नीति तथा कार्यक्रममा जनहितका कुनै कार्यक्रम नभएकाले यसबाट देशको उन्नति हुन सक्दैन भने । नेकपाका सांसद अमनलाल मोदीले नीति तथा कार्यक्रममा समावेश गरिएका शब्दलाई लिएर राष्ट्रपति जस्तो गरिमामय संस्थालाई कमजोर तुल्याउन नहुने बताइन् ।

सोही पार्टीका सांसद राधा ज्ञवालीले राष्ट्रिय एकतालाई कामय गर्ने र स्वाभिमान बढाउने ढङ्गबाट नीति तथा कार्यक्रम आएकाले आफ्नो स्वागत र समर्थन रहेको बताउँदै सुदूरपश्चिमाञ्चल क्षेत्रको विकासलाई ध्यान दिएर बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिइन् ।
 
नेकपाका सांसद यशोदा सुवेदी नीति तथा कार्यक्रमले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको ढोका खोलेको छ भन्दै समर्थन गरे । सोही पार्टीका सांसद भूमि त्रिपाठीले सुखी नेपाली समृद्ध नेपाल केवल सरकारको नारामा मात्र सीमित नरहेर राज्यका आकाङ्क्षा बन्न पुगेको हुँदा उक्त आकाङ्क्षालाई मूर्तरुप दिन नीति तथा कार्यक्रम सफल हुने बताउँदै कार्यक्रमको स्वागत र समर्थन गरिन् ।

शान्ता चौधरीले नीति कार्यक्रम जनमुखी रहेको र लोककल्याणकारी रुाज्यलाई अघि बढाउने खालको भएको तथा सरकारको समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षालाई पूरा गर्ने खालको भएको बताए । प्रतिनिधिसभाको अर्को बैठक भोलि मङ्गलबार बिहान ११ बजे बस्नेछ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ