जनमत नबुझ्ने, लिडे ढिप्पी नछोड्ने, दम्भ बोकेका सरकारका यी तीन पात्र

टिप्पणी प्रकाशित मिति : २०७६ बैशाख २४ मंगलबार

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डवलको दुईतिहाइको सरकार बनेपछि सरकारका तीन पात्रको दम्भले पराकाष्ठा नाघेको छ । ती तीनजनाको चरित्र र अभिव्यक्तिलाई मात्र बिचार गर्ने हो भने मुलुकमा अधिनायकवाद आएको संकेत मिल्छ । फेरि अधिनायकवाद प्रसँग प्राय तीनै पात्र उठाउने गर्छन् ।

मातृका यादव जस्ता कुनै समय अराजक देखिएका नेता बर्तमान सरकारमा सामेल भएपनि उदण्डता मच्चाएका छैनन् । तर बिगतमा एमालेमा रहेका पात्रहरु मातृका यादवलाई माथ दिँदै अराजक बनेका छन् । ती पात्रहरुलाई चाहेर या नचाहेर मुलुकले खेप्नु परिरहेको छ, यो अवस्था बिडम्वना वाहेक केही होइन ।

सामाजीक सञ्जालका जति नै बिरोध होस् या पार्टीका सचेत कार्यकर्ताले जति नै सुधार्न आलोचनात्मक टिप्पणी गरुन् उनीहरु सुध्रिदैनन् । बरु आफ्नो बचाउँ गर्न कुतर्कमा अघि सार्छन् । नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ भनेर राजाको पालामा जस्तो बोली किन हाल्नु पर्यो भनेर प्रश्न पार्टी भित्र नै भुस झै फैलियो । पार्टीमा बैठक नै बोलाएर यस बिषयमा कसैले पनि टिप्पणी नगर्ने भनेर हुकुमी शैलीमा आचोचना दबाइयो । लोकतान्त्रिक पार्टी हुँ भन्दै गर्दा यसरी आवाजहरु दवाउदै लैजाने प्रवृति नै दम्भको प्रवृति हो ।  

दम्भले डाँडा काटेका पात्र को होलान् त ?
पहिलो पात्र: सम्माननीय प्रधानमन्त्री

पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री भएको बेला पश्चिम नेपालमा ठूलो बस दुर्घटना भएको थियो ।  धेरै मानिसहरुले ज्यान गुमाएका थिए । पूर्व प्रधानमन्त्री एबं पार्टी अध्यक्षका रुपमा  केपी शर्मा ओलीले मृतकहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्नु अघि छुद्र गाली सरकारलाई गरे । यो अलच्छिना सरकार, यो सरकार आएपछि दुर्घटना मात्रै हुन्छ । त्यो बेला प्रचण्ड नेतृत्वको सरकारमा काँग्रेस सम्मिलित थियो । तर अहिले उनी प्रधानमन्त्री भएको बेला आफनै होनाहार मन्त्रीको हेलिकप्टर दुर्घटनामा निधन हुँदा होस या तराईमा आँधीले पचास जना मानिसको एकै चिहान बनाएको अवस्था होस, ओलीकै परिभाषा अनुसार यो सरकार अलच्छिना भयो कि भएन  ?

जति नै अत्यासलाग्दो दुर्घटना भए पनि मानवीय संवेदना बोकेको कुनै सामान्य जनताले सरकारलाई अलिच्छिना भन्न सक्दैन । फरक बिचार राख्ने सामान्य कार्यकर्ता बरु सहायतामा जुट्छन् , यस्ता भद्दा संवेदनाहीन कुरा बोल्दैनन् । यो सानो उदाहरण किन यहाँ दिइयो भने, प्रधानमन्त्रीको रुपमा ओलीको व्यक्तित्व कस्तो सामाजिक मूल्यलाई टेकेर निर्माण भएको छ भन्ने स्पष्ट हुन्छ । उनका विपक्षीहरु माथि खेदो खन्दा दिने अभिव्यक्ति क्रूर र अमानवीय हुन्छ ।

त्यसैले इतिहासको स्वर्णिम मौकाको रुपमा आफनै नेतृत्वमा गठन भएको सरकार अनि प्राप्त जनबिश्वास उनकै छुद्र बोलीले स्खलित भएको छ । बरलाई देखाएर पिपल भन्ने र पिपल भन्न बाध्य पारिएका पार्टीका विवेक सून्य कठै कार्यकर्ता बाहेक ओलीको छुद्र वोलीको समर्थक कोही छैनन् । र, हुन पनि सक्दैनन् ।  

राष्ट्रिय योजना आयोगमा अर्वौको आयोजनाको लिष्ट जान्छ प्रधानमन्त्रीको क्षेत्रका लागि । भित्रभित्रै ‘सेटिंग’ मिलाउने काम भइरहन्छ । यसै क्रममा पत्र सार्वजनिक हुन्छ । सबैतिर खैलाबैला हुन्छ । संघीयताको मूल मर्ममा प्रधानमन्त्री माथि प्रहार भएको बिषयले सामाजिक सन्जाल ढाकिन्छ । काँग्रेस प्रवक्ताले दमकका मेयर कि प्रधानमन्त्री  ? भनेर प्रश्न गर्छन । अन्त्यमा लोकलाज पचाएर प्रधानमन्त्री बोल्छन्, मैले गर्न लगाएको होइन, भूल वस कसैले पठाएछ ।

यहाँ पनि उनको किर्ते व्यक्तित्वको किर्तिमानी देखिन्छ । लोकले थाहा नपाउने गरी भित्रभित्र सचिवालय सक्रिय पार्ने अनि विषय बाहिर आएपछि कसले गरेको, मैले हैन भन्न मिल्छ र प्रधानमन्त्री ज्यू  ? योजना आयोगको अध्यक्ष प्रधानमन्त्री नै भए पनि प्रकियागत रुपमा बजेट समावेश गर्न प्रधानमन्त्री कार्यालयले चिढी लेखेकै हो, चिठी लेख्दा प्रधानमन्त्रीले थाहा पाइन भन्नु के साँचो होला र  ?

पार्टीका अर्का अध्यक्षलाई थाहै नदिई राष्ट्रपतिलाई ‘मेरो सरकार’ भन्न लगाएर ‘सराकर प्रमुख’ बनाउने प्रवृत्ति देखाउनु ओलीको बिशेषता नै मान्नुपर्छ । आस्था फरक भएकै आधारमा बिमानस्थलबाट उपकुलपतिलाई प्रहरी लगाएर बालुवाटार लाने प्रधानमन्त्रीले एक जना नागरिकसँग कुन स्तरको प्रति सोध साँध्छन् भन्नै परेन ।

अझ नीति त कार्यक्रममा सम्बोधन गर्दा मेरो सरकार भनेर राष्ट्रपतिले भन्दै गर्दा धेरैलाई गल्तीवस नै यसो भनिएको होला भन्ने अनुमान थियो, तर संसदमा उठेका प्रश्नको उत्तर दिँदा उनले भने गल्तीवस भनिएको हैन । जानी बुझीकन भनिएको हो भनेर देखाए दम्भ । यसबाट पनि के बुझ्न सकिन्छ भने आम नागरिकको सोचाई एकातिर छ तर सरकार त्यसलाई सुनेको नसुनै झै गरेर अड्डी कसिरहन्छ ।   बुद्धिजीविलाई थलाबसाइदिने पनि उनको सर्वाधिक चर्चित ‘महानवाणी’हो ।

देशको प्रधानमन्त्रीको नैतिक धरातल यो स्तरको भएपछि उनले देखाउने भनेकै दम्भ हो । झन दुई तिहाइको दम्भ भनेको धुर्ब्रे हात्तीको चरित्रसँग मिल्छ ।

गोकुल बाँस्कोटा
सञ्चारमन्त्रीको अनुहारमा देखिने दुइतिहाइको दम्भ हेर्न नसकिने प्रकारको टिठ लाग्दो छ । सरकारका बिरुद्ध आएका प्रश्नहरुको उत्तर दिन यी अघि सर्छन, सारिन्छन । उखान, टुक्का मिलाएर ओलीकै नक्कल गरेर बोल्न खोज्दा घोडा बनाउन खोज्दा उँट बने जसरी गलत सन्देश समाजमा गइरहेको छ । तर, उनी समाजमा मैले राम्रै बोलेको छु भन्दै ढ्याङ्ग्रो पिट्छन् किनभने यिनमा दुइतिहाइको दम्भ खपिन सक्नु छ ।

राजनीतिक रुपमा ओलीको राजनीति रहँदासम्म मात्र अस्तित्वमा देखिने पूर्वानुमान भएर उनी चर्चामा आउन खोजेको प्रष्ट छ । तर यो चर्चा उनको राजनीतिक करिअरका लागि आत्मघाती छ भन्ने मन्त्री महोदयलाई कसैले भनेको छैन होला । सामाजिक सन्जालमा नागरिकले उठाएका आवाज सरकार विरुद्धको जिहादको रुपमा बुझ्छन र व्यक्ति व्यक्तिको पछि लागेर बिष बमन गर्छन् ।

ओलीको तुलनात्मक रुपमा समर्थन गर्ने बिश्लेषक सौरभले एक टेलिभिजन अन्तवार्तामा सञ्चार मन्त्रीका बारेमा घतलाग्दो टिप्पणी गरेका थिए, त्यसको आसय थियो, केही न काममा मान्छेलाई सरकारको प्रवक्ता बनाएको छ, सरकारको बेइज्जत ।

सरकारका प्रवक्ताका रुपमा यिनको अनुहारको हाउभाउ, बोल्ने शैली र छुद्रता दुई तिहाइकै दम्भको उपजको रुपमा लिने गरिन्छ । लामो समय पत्रकार भएर राजनीतिमा छिरेका बास्कोटाले नेपाल पत्रकार महासंघ लगायका पत्रकारका संस्थाहरुलाई भने छुद्र गाली गर्दै आएका छन् । प्रधानमन्त्रीले जे जस्तो बोले पनि यसो पो भनेको त भन्दै बोली मिलाउदै हिड्ने गरेका छन् ।

विष्णु रिमाल
यी बाँस्कोटा जस्तो देखिने गरी दम्भ देखाउँदैन, भित्रभित्रै खेल्छन् । बेला बेला सामाजिक सन्जालमा आउने उनको प्रतिकृयात्मक जवाफ हेर्दा उनी आफूलाई छोटे राजाकै रुपमा प्रस्तुत गर्छन । उनी प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार हुँ भन्ने बिर्सिन्छन् र प्रतिपक्षलाई होच्याएर बोल्छन् ।

पार्टी भित्र ओलीको गुटलाई शक्तिशाली बनाउने प्रमुख सुत्रधार मध्येका हुन । आफनो गुटको बिद्यार्थी संगठनको सामान्य ठिटोलाई बालुवाटार बोलाउँछन भने फरक गुटका केन्द्रीय सदस्य भएपनि बालुवाटारबाटको गेटवाट फर्काइदिन्छन्, यो नेकपाकै नेताहरुको गुनासो हो । कतियप महत्वपूर्ण भेटघाटको लागि बिभिन्न संस्थाहरुले समेत समय माग्दा सूचना चुहिने डरले भेट् नै गराउदैनन् भन्ने आरोप समेत लाग्दै आएको छ ।  

जिन्दगीमा जनताको मतबाट निर्वाचित नभएको  व्यक्तिमा यस प्रकारको भावना आउनु भनेकै दुई तिहाइ कै दम्भ हो । नेकपा वृत्तमा लोकप्रिय रहेपनि योगेश भटराई मन्त्री हुन नपाउनु पछिको कारण रिमाल नै हो भन्ने गरिन्छ । निर्वाचित साँसदलाई कुनै मूल्य नदिने चरित्र रिमालमा बिकास भएको छ भन्ने गुनासो नेकपाभित्रै छ, यो अधिनायकवादको भ्रूण हो ।

पछिल्लो समय प्रधानमन्त्री कार्यालयले योजना आयोगलाई पठाएको पत्र सार्वजनिक गराएको निहुँमा रिमालले कर्मचारीलाई थर्काएको कुरा समेत वाहिर आएको छ । यदि यो सत्य हो भने त्यहाँ रिमालको दुइतिहाईको दम्भ झल्किन्छ ।

माथि उल्लेखित पात्र वाहेक बर्तमान सरकारमा अन्य मन्त्रीहरु त्यति धेरै दम्भी भएको देखिएनन् । रक्षा मन्त्री पोखरेल र कानूनमन्त्री ढकालले बेला बेलामा लगाम छोडेपनि अस्वभाविक चरित्र देखाएका छैनन्  । रक्षा मन्त्रीले पछिल्लो समयमा नेपाल प्रहरीको डिआइजी बढुवा सिफारिसमा पर्न सफल बिश्वराज प्रोख्रेललाई बनाउन गृहमन्त्रीलाई दवाव दिदाँ भने मन्त्रीपद नै दाउमा राखेको भनेर समाचारहरु भने आइरहेका छन् । प्रदीप ज्ञवाली, गोकर्ण बिष्ट, बर्षमान पुन, चत्रपाणि खनाल लगायतले दुई तिहाइको दम्भ कम देखाएका छन । सामाजिक सन्जालमा पनि सन्तुलित छन् ।

नयाँ