arrow

पहाड–मधेश सद्भावको सेतुः मितज्यू अब कसरी जाने?

logo
प्रकाशित २०७६ वैशाख २९ आइतबार
Mita_Ab_Kona_Chalab_Drama_Mandala_Theatre_Ram_Bhajan_Kamat_(13).jpg

काठमाडौं । पहाड र मधेशलाई हेर्ने दृष्टिकोण परिवर्तन गरी सद्भाव र एकता कायम गर्न आह्वान गरी तयार पारिएको नाटक ‘मिता आब कोना चलब’ अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ।

कलाकार रामभजन कामतको लेखन तथा निर्देशन रहेको नाटकमा पहाडी र मधेशी नागरिकबीच उत्पन्न मतभेद, यसका कारक र आपसी सद्भावका लागि समुदायबाटै गरिएका प्रयत्नका विषय उठान गरिएको छ।

वैशाख २० गतेदेखि आगामी जेठ पाँच गतेसम्म नाटक मञ्चन हुने निदेशक कामतले बताएका छन्। ‘दुई पटक मधेश आन्दोलनका क्रममा पहाडी र मधेशी समुदायबीचको अन्तरद्वन्द्वले ज्यादै नकारात्मक प्रभाव पार्यो,’ कामत भन्छन्, ‘जसका कारण तराईमा बस्ने पहाडी मूलका र पहाडमा बस्ने मधेशी मूलका नेपाली जनताले लामो समयसम्म तनाव झेल्नु पर्यो, तर भावनात्मक र आपसी एकताका कारण यो अवस्था लामो समय रहेन, जनतामा एकता पुनः कायम भयो, यही विषयलाई नाटकमार्फत प्रस्तुत गरिएको छ।’

साथै ‘मिता आब कोना चलब’ले मधेश आन्दोलनपछिको तराईका नागरिकमा सिर्जित मनोविज्ञानलाई पनि प्रस्तुत गरेको उनले बताए। मिता आब कोना चलब अर्थात् मितज्यू अब कसरी जाने? नाटकमा सामान्य कृषि कर्म गर्ने मानिसको परिवारमा पारेको असरलाई जीवनत शैलीमा प्रस्तुत गरिएको छ। पहाडी खस र मिथिला संस्कृतिको संयोजनले नाटकलाई अन्तरआञ्चलिक विशेषता प्रदान गरेको छ।

नाटकमा नेपाली र मैथिली दुवै भाषा प्रयोग गरिएको छ। निर्देशक कामतसहित सुनिता घिमिरे, कौशिला कामत, मिलन नेपाली, विकास पराजुली, राजेश ठाकुर, भरत कार्की, सञ्जय गुप्ता, आदित्य मिश्रा, अमृता श्रेष्ठ, अमृत स्वाँर र शंकर पोखरेलले अभिनय गरेका छन्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ