arrow

पाँचथरमा पहिलो पल्ट सिभिल इञ्जिनीयरिङ

logo
प्रकाशित २०७६ जेठ १ बुधबार
civil.jpg

पाँचथर ।  पाँचथर जिल्लाको सदरमुकाममा रहेको फिदिम मावि फिदिममा इञ्जिनीयरिङको पढाइ शुरु गरेको छ । जिल्लामा इञ्जिनीयरिङ सेवा पढाइ नहुँदा विद्यार्थी अन्य जिल्ला र राजधानी गएर पढ्न बाध्य थिए । स्थानीयवासीका छोराछोरीले पैसाको अभावका कारण आफूले रुचाएको विषय इञ्जिनीयरिङ यहाँ सहजरुपमै पढ्न पाउने भएका हुन् ।

फिदिम माविले अब कक्षा ९ बाट १२ कक्षासम्म निःशुल्क इञ्जिनीयर पढाइको व्यवस्था गरेपछि अब विद्यार्थीले इञ्जिनीयर पढ्न जिल्लाबाहिर जानु नपर्ने भएको हो । फिदिम माविका प्रअ विनोद ठाकुरले भने, “हामीले लामो प्रयासपछि जिल्लामै सिभिल इञ्जिनीयरको कक्षा शुरु गरेका छौँ । सरकारी स्वीकृति प्राप्त भएसँगै हामीमा काम गर्ने उत्साह थपिएको छ ।”

पाँचथरमा स्वीकृतिका लागि प्रक्रिया थालिएको चार विद्यालयमध्ये दुई विद्यालयले त्यस्तो प्रकारको स्वीकृति पाएका हुन् । ठाकुरले भने, “फिदिम माविसँगै इन्द्रायणी मावि मौवा, घुर्बिशे पञ्चमी मावि र कृष्ण मावि चिलिन्दिनले प्रक्रिया थालेका थिए । नेपाल सरकारको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पछिल्लो अनुगमनपछि फिदिम मावि र इन्द्रेणी मावि मौवालाई स्वीकृत प्राप्त भएको हो ।”

इन्द्रायणी मावि मौवामा पशु विज्ञानका विषयमा पढाइ हुनेछ भने फिदिम माविमा सिभिल इञ्जिनीयरिङ विषयमा पढाइ शुरु गरिएको छ । यसअघि जयनाराण आदर्श मावि आङसाराङमा कृषि विज्ञान पढाइ भइरहेको छ । जिल्लामा पछिल्लो पटक थपिएका दुई विद्यालयसहित तीन विद्यालयमा प्राविधिक कक्षा सञ्चालन भएका हुन् ।

विद्यालयलाई स्वीकृति प्राप्त भएसँगै एक प्रशिक्षक, एक सहायक प्रशिक्षक, एक सब ओभरसियर आवश्यक परेको प्रअ ठाकुरले बताए। हाललाई फिदिम नगरपालिकामा कार्यरत इञ्जिनीयरहरुले विद्यालयमा पठनपाठन गराइरहेको प्रअ ठाकुरको भनाइ छ । नयाँ शिक्षकका लागि विज्ञापनमार्फत कर्मचारी माग गरिएको उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ