arrow

हेर्दाहेर्दै चोरले यसरी कटायो राजाको नाक

logo
कथा,
प्रकाशित २०७६ जेठ १ बुधबार
king2.jpg

काठमाडौं । उहिलेको कुरा कुनै एक राज्यमा चोरको ठुलो अतंक थियो । चोरको क्रियाकलापबाट राजा आजित भएका थिए । तब राजाले चोरलाई दण्ड दिने बिचार गरे ।

उनले भने, 'हे सैनिक हो त्यो चोरलाई खोजेर ल्याओ त्यसले धेरै आतंक फैलायो । पटक-पटक चोरी नगर्न सम्झाउदा पनि मानेन । यसलाई यस्तो दण्ड दिनुपर्छ कि सबैले यहि चोर हो भनेर जानुन् ।'

सैनिकहरुले राजाको आदेश पछि चोरलाई खोजेर राजाको अगाडि उपस्थित गराए ।
राजाले भने, 'तैले मेरो राज्यका नागरिकलाई धेरै सताइस । म तलाई सजाय दिदैछु ।'
राजाले चोरको नाक काट्न आदेश दिए। नाक काटिएको चोरलाई राज्य भन्दा धेरै टाढा गाँउमा लगेर सैनिकले छोडिदिए ।

नाक काटिएपछि उसलाई गाँउलेले चोर भनेर चिन्न थाले । उसको उपहास गर्न थाले, ' हेर त यसको नाक काटिएको छ । राज्यले यसलाई दण्ड दियो । यो ठूलो चोर हो ।'

उसले राजासँगको बदला र आफ्नो अभिश्रापलाई वरदानमा कसरी बदल्न सकिन्छ भनेर सोच्न थाल्यो । एक दिन उ मन्दिरमा पुग्यो । मन्दिरबाट निस्किएसँगै उसले भन्न थाल्यो, 'राजाको जय होस। मैले पाए । भगवानको दर्शन पाए ।  हाम्रा राजा महान छन् । जसले मलाई यति ठुलो सौभाग्य दिए । '

मन्दिर पुगेका मानिसहरुले भने, तिम्रो नाक काट्ने राजालाई कसरी जय होस भन्दैछौ ? तिमिलाई कसरी भगवानको दर्शन ?'

उसले भन्यो, 'भगवानको दर्शन गर्नलाई यो नाकले छेक्ने रहेछ । जसै राजाले यो नाक काटिदिए योसँगै भगवानको दर्शन मैले पाए । राजाको जय होस।'  

मानिसहरुले भने, 'हामीलाई पनि गराइ देउन।'
उसले भन्यो, 'भगवानको दर्शन त्यसले पाउनेछ जसले भगवानको अघि नाकको बलि दिनेछ  (नाकको बलिको बास्तविक अर्थ अहंकारको बलि दिनु हो )।'        

मानिसहरुले भन्न थाले हेर यो मानिस बढो आन्नदमा रमेको छ । निकै ओजले बोलेको छ ।  निकै प्रभावशाली कुरा गरिरहेको छ । नाक काटौ भगवानको दर्शन त अवश्य हुनेछ ।

त्यसपछि एक व्यक्तिले नाक कटाए र भगवान्‌को दर्शन गर्न खोजे तब देखेनन् ।
उसले सोधे, 'खै त केहि देखिदैन।'

चोरले भन्यो, 'नकाट्नु नाक काटि हालिस अब देखिन भनिस भने तेरो बेइज्जत हुन्छ, देखे भन ।'

उसले पनि त्यसै भन्यो, 'ओहो भगवानको दर्शन पाइयो कति आनन्द कति मज्जा । धन्य होस यो जुनिमा भगवान देख्न पाइयो ।'

सो सुनेर दोस्रो, तेस्रो व्यक्‍तिले पनि नाक काटे तर दर्शन पाएनन ।
उनिहरुले सोधे, 'भाइ हामीले त नाकको बलि दिइसक्यौ नाक काटिसक्यौ  तर हामीले त दर्शन पाएनौ ।'

चोरले भन्यो, 'न हुन्छ न हुनेछ ? अरे नाक काट्नाले भगवानको दर्शन कहाँ मिल्छ ।'
उनिहरुले भने, 'अब के हुन्छ ?'

उसले भन्यो, 'अब यहि भन कि भगवानको दर्शन पाइयो । किनभने यदि तिमिहरुले नाक काटेर पनि भगवानको दर्शन भएन भन्यौ भने मानिसहरुले तिमिहरुको उपहास गर्नेछन् । त्यसैले यहि भन कि नाक काट्नाले साचै भगवानको दर्शन हुन्छ ।'     

यसै प्रकार विस्तारै-विस्तारै गाँउका सबैले नाक काटेर बसे । त्यसको प्रचार सर्वत्र फैलियो । सो कुरा राजाकोमा पनि पुग्यो । राजालाई खबरिले सुनाए, 'महाराज तपाईको राज्यका सबै प्रजाहरुले नाक काटेर बसेका छन् । उनिहरु नाक काटेर भगवानको दर्शन गरेर आनन्दित भइरहेका छन् ।'

खबर सुनेर राजाले भने, 'तिनीहरुको यत्रो हिम्मत ! म राज्यको राजा हुदा हुदै तिनीहरुले म भन्दा पहिले भगवानको दर्शन गर्ने ।' राजा मन्त्री सहितको दलबल लिएर त्यहाँ पुगे । उनले देखे साँच्चै प्रजाहरु नाक काटेर बसिरहेका छन् । राजा पनि नाक काट्नलाई तयार भए । मन्त्रिले पनि नाक कटाए । किनकि उनिहरुलाई अरुले समर्थन दिए, स्विकृति दिए । आखिर चोरले राजा समेतको नाक कटाइदियो ।

यसै प्रकार हामी पनि भ्रम र पाखण्डबाट जोगिन आवश्यक छ । साथै समयको महापुरुषलाई खोज्न आवश्यक छ । त्यसबाट मात्र हाम्रो कल्याण हुनेछ । जो सच्चा गुरु हुन्छ उसले हामीलाई ज्ञान दिएर आफु समान बनाउछ । यदि  गुरु नक्कली भए, स्वंयम ज्ञानहिन, कर्महिन भए हामीलाई पनि ज्ञानहिन र कर्महिन बनाउनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ