arrow

स्वास्थ्यतर्फ दश प्रतिशत बजेट पुर्‍याउन स्वास्थ्य मन्त्रीले पहल गर्ने

logo
प्रकाशित २०७६ जेठ २ बिहिबार

काठमाडौं। उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आगामी आर्थिक वर्षको कुल बजेट मध्येबाट दश प्रतिशत बजेट स्वास्थ्य सेवालाई विनियोजन गर्न आफूले पहल गरिरहेको बताएका छन् ।

यसअघिको बजेटमा स्वास्थ्य तर्फ कुल बजेटको जम्मा ४.४ प्रतिशत छुट्टयाइएको जानकारी दिँदै स्वास्थ्य मन्त्री यादवले त्यो बजेटलाई आगामी वर्ष दश प्रतिशत पुर्‍याउन प्रधानमन्त्री र राष्ट्रिय योजना आयोगमा आफूले पहल गरेको बताए ।

महाराजगंजस्थित कान्तिबाल अस्पतालमा बिहिबार आयोजित मेडिकल उपकरण हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले भने,– –‘कुल बजेटको सबैभन्दा बढी बजेट स्वास्थ्य र शिक्षामा विनियोजन हुनु पर्ने हो । तर स्वास्थ्यलाई जम्मा ४.४ प्रतिशत छुट्टयाइयो । देशको स्वास्थ्य सेवा सुधार गर्न बजेटको यो अनुपात अत्यन्तै थोरै हो । त्यसलाई कम्तिमा दश प्रतिशत पुर्‍याउन मैले प्रधानमन्त्रीज्यूसंग र योजना आयोगमा कुरा गरेको छु ।’

थाइल्याण्डमा कुल बजेटको २१ प्रतिशत बजेट विनियोगन हुने गरेको उदाहरण दिँदै मन्त्री यादवले स्वास्थ्य र शिक्षा क्षेत्रलाई राज्यले पहिलो प्राथमिकतामा राख्नु पर्ने सुझाव दिए । कान्तिबाल अस्पतालको व्यवस्थापनलाई मन्त्री यादवले उपलब्ध स्रोत र साधन प्रयोग गरी बिरामीलाई अधिकतम गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन समेत दिएका छन् ।

कर्मचारी समायोजन सम्पन्न भए लगत्तै देशभरीको स्वास्थ्य जनशक्ति, अस्पतालको भौतिक तथा प्राविधिक अवस्था र मेडिकल उपकरणको उपलब्धता लगायतको समग्र अवलोकन एवं तथ्यांक संकलन गरी आवश्यक जनशक्ति र उपकरण देशैभरका अस्पतालमा पुर्‍याउन पहल गर्ने मन्त्री यादवले जानकारी दिए ।

टेकुस्थित परिवार स्वास्थ्य महाशाखाले करिब ८० लाख मूल्यको उपकरण बिहिबार कान्तिबाल अस्पताललाई उपलब्ध गराएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ